
रोम । गाड्नको लागि प्रतिक्षामा रहेका कफिनहरुको चर्चहरुमा लाइन लागेको छ । घरमै मृत्यु भएकाहरुको शवलाई घरमै सिल गरिएको कोठामा कैयौं दिनदेखि राखिएको छ । इटलीको बेर्गामो प्रदेशमा कोरोना भाइरसको सबैभन्दा कठोर रुप देखिएसँगै यहाँको अन्तिम संस्कार सेवाले समेत कठिन संघर्ष गरिरहेको छ ।
आइतबारसम्ममा इटलीमा कोरोना भाइरसले ५ हजार ४७६ जनाको ज्यान लिइसकेको छ भने ५९ हजार १३८ संक्रमित भइसकेका छन् । मारिनेहरु सबैलाई अन्तिम संस्कारको कुनै प्रक्रियाबिनै गाडिएको छ वा जलाइएको छ । यस क्षेत्रको सबैभन्दा ठूलो अन्तिम संस्कार सेवा सिबीएफले ६०० भन्दा धेरै शव गाडेको र जलाएको छ ।
‘सामान्य अवस्थामा हामीले महिनामा १२० शवको अन्तिम संस्कार गर्छौं’ सिबीएफका अध्यक्ष एन्टोनियो रिसिआडीले द गार्डियनसँग भने ‘एउटा पुस्ता नै २ हप्तामा मारिएको छ । हामीले यस्तो कहिल्यै देखेका थिएनौं र यसले रुन मात्र आउँछ ।’ बेर्गामोमा करिब ८० अन्तिम संस्कार सेवा प्रदायकहरु छन् ।
प्रत्येकलाई एक घण्टामै सेवाका लागि दर्जनौं फोन आउँछन् । कफिनको अभावका कारण सेवा प्रदायकहरुले मागको पूर्ति गर्न सकिरहेका छैनन् । अन्तिम संस्कार सेवा दिने कर्मचारीहरु समेत संक्रमित भएपछि यो सेवा झनै प्रभावित भएको छ । मृत्यु दर बढिरहेका कारण अस्पतालले पनि शवलाई कुनै प्रक्रियाबिना सिधै कफिनमा राख्नुपर्ने नियम बनाएका छन् ।
‘परिवारले आफ्ना मारिने आफन्तलाई अन्तिम पटक हेर्न पाउँदैनन् र विधिपूर्वक अन्तिम संस्कार गर्न पाउँदैनन् । मानसिक हिसाबले यो ठूलो समस्या हो’ रिसिआडीले भने ‘अर्कोतर्फ हाम्रा धेरै स्टाफहरु बिरामी छन् जसका कारण हामीले पर्याप्त तयारी गरेर विधिपूर्वक अन्तिम संस्कार सेवा दिन सकिरहेका छैनौं ।’
घरमै मृत्यु हुनेहरुका लागि यो प्रक्रिया झनै झण्झटिलो छ किनकि मृत्युलाई दुई डाक्टरले प्रमाणत गर्नुपर्ने नियम छ । दोस्रो डाक्टर विशेषज्ञ हुनुपर्छ र उनले कसैको मृत्यु भएको ३० घण्टाभित्र मृत्यु प्रमाणित गर्नुपर्छ । ‘अर्थात तपाइँले दुवै डाक्टर आउँदासम्म पर्खिनुपर्छ र अहिलेको समयमा उनीहरुमध्ये धेरै बिरामी छन्,’ रिसिआर्डीले भने । बेर्गामोकी एक शिक्षिका स्टेलाले द गार्डियनसँग आफूले देखेको एउटा घटना सुनाइन् ।
‘हिजो ८८ वर्षका एक वृद्धको मृत्यु भयो । उनलाई केही दिनदेखि ज्वरो आएको थियो । एम्बुलेन्लाई बोलाउन सकिएन किनकि फोन लाइन जतिबेला पनि व्यस्त हुन्थ्यो । उनलाई बचाउन सकिएन, उनी आफ्नो कोठामा एक्लै मरे’ उनले भनिन् ‘त्यसपछि बेर्गामोमा कुनै पनि कफिन उपलब्ध थिएनन् । उनलाई त्यही बेडमा छाडियो र कोठालाई सिल गरियो ताकि कफिन नभेटिँदासम्म उनको परिवारका कुनै सदस्य त्यहाँ जान नसकुन् ।’ एजेन्सीको सहयोगमा
सत्यपाटी ।