सूचनाको शक्ति - The Power Of Information

        

कोरोना सन्त्रास : ‘होम क्वारेन्टाइन’मा बाँकेबासी

बाँके । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) लाई महामारीको रुपमा घोषित गरिसकेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसले १३ हजारभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको छ । यसबाट झण्डै तीन लाख व्यक्ति संक्रमित भइसकेका छन् ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस नेपालमा भने हालसम्म देखिएको छैन । देशभर उच्च सतर्कता अपनाइएको छ । नेपाल सरकारले यसको संक्रमण हुन नदिन आजदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको छ । बाँकेमा पनि कोरोना भाइरसको संक्रमण हुुन नदिन उच्च सतर्कता अपनाइएको छ ।

यहाँका आठ वटै स्थानीय तहले आफ्ना नागरिकलाई घरबाट बाहिर ननिस्किन आग्रह गरिरहेका छन् । स्थानीय सरकारको आग्रह अनुसार बाँकेबासी ‘होम क्वारेन्टाइन’मा बसेका छन् । बाँकेको मुख्य बजारका रुपमा रहेको नेपालगन्ज र कोहलपुरलाई ‘लकडाउन’ गरिएको छ । ‘लकडाउन’पछि नेपालगन्ज र कोहलपुर क्षेत्रभित्रका सम्पूर्ण पसल, उद्योग ब्यवसाय बन्द गरिएका छन् ।

बजार क्षेत्रमा मानिसको चहलपहल शुन्यप्रायः छ । बढी भीडभाड हुने सरकारी तथा गैरसरकारी कार्यालयमा अत्यावश्यक सेवाबाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गरिएको छ । मेडिकल, अस्पताल र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरुमा उच्च निगरानीसहित सेवा प्रवाह भइरहेको छ । लामो दुरीका सवारीसाधन बन्द गरिएको छ ।

स्थानीय सरकारले नागरिकहरुलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरिरहेका छन् । जनप्रतिनिधिहरु घरघरमै पुगेर मास्क र सेनेटाइजर वितरण गरिरहेका छन् । ‘कोरोनाको संक्रमण हुन नदिन नागरिकहरु सचेत बन्नुभएको छ,’ नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमूख डा.धवलसम्शेर राणाले भने ।

नेपालगन्ज उपमहानगरपालिकाले अत्यावश्यकीय कामबाहेकका सबै सेवाहरु चेत २१ गतेसम्मका लागि बन्द गर्दै घर बाहिर ननिस्किन नगरबासीलाई अनुरोध गरिरहेको छ । कोरोनाविरुद्ध प्रभावकारी अभियान चलाइरहेको नगर प्रमूख डा.राणाले बताए । स्वास्थ्यकर्मीलाई उपकरण लगायत अत्यावश्यक सामाग्री र उपकरण खरिदको काम थालिएको छ ।

सम्पूर्ण वडाहरुले तीनपत्रे मास्क निर्माण गरेर वितरण गर्न निर्देशन दिइएको छ भने विपन्न समुदायका लागि साबुन वितरण गर्ने, नगर क्षेत्रमा ससाना नालाहरु सफा गर्ने, चुना लगाउने र घास हटाउने काम भइरहेको छ । कोहलपुर नगरपालिकासँगै बैजनाथ, खजुरा, जानकी, राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा पनि उच्च सतर्कता अपनाइएको छ ।

कसरी बस्ने ‘होम/सेल्फ क्वारेन्टाइन’मा ?

१. हावा ओहोरदोहोर हुने कोठामा एक्लै बस्ने । अर्को व्यक्तिसँग बस्नुपरेमा कम्तिमा १ मिटर दूरी कायम गर्ने ।

२. छुट्टै बाथरूम र शौचालयको प्रयोग गर्ने । यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफैं सफा गर्ने ।

३. आफू बस्ने कोठा आफैं सफा गर्ने ।

४. घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा आवातजावत कम गर्ने ।

५. स्वास्थ्य संस्था जान बाहेक अरु कामको लागि घर बाहिर ननिस्कने ।

६. नियमित रूपमा आफ्नो हात साबुनपानीले मिचीमिची २० सेकेन्डसम्म धुने, हात नधोइकन आँखा, नाक र मुख नछुने ।

७. आफूले प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भाँडा, तौलिया, रुमाल, ओछ्यान वा अरु सामान साझा प्रयोग नगर्ने ।

८. अन्य व्यक्तिहरूसँगको प्रत्यक्ष सम्पर्क सकेसम्म कम गर्ने ।

९. अरु व्यक्तिहरूसँगको सम्पर्कमा आउनु पर्दा कम्तिमा १ मिटरको दूरी राख्ने र अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउने ।

१०. खोक्दा वा हाच्छ्यूँ गर्दा टिस्यु पेपर, रुमाल वा कुहिनाले नाकमुख छोप्ने ।

११.आफूले प्रयोग गरिएको टिस्यु पेपर, रूमाल, मास्क लगायतलाई छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्ने । फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्म हात साबुनपानीले मिचीमिची धुने ।

१२ .स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्ने र आवश्यक सहयोगको लागि सधैं तयार रहने ।

१३. क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्ने र दिईएको फारममा रेकर्ड राख्ने । निर्देशनअनुसार १४ दिनसम्म दैनिक स्वास्थ्य स्थितिबारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिने ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएमा वा क्वारेन्टाइनमा बस्दा अरु केही समस्या भएमा तोकिएको स्वास्थ्य निकायबाट प्राप्त निर्देशनहरूअनुरूप गर्ने ।

१५. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पूर्व अनुमति बिना क्वारेन्टाइन स्थानभन्दा बाहिर नजाने ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार ११:५७