सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणको उच्च जोखिममा पत्रकार

बाँके । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) लाई महामारीको रुपमा घोषित गरिसकेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसले १३ हजारभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको छ । यसबाट झण्डै तीन लाख व्यक्ति संक्रमित भइसकेका छन् ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस नेपालमा भने हालसम्म देखिएको छैन । यद्यपी सरकारले यसको संक्रमण हुन नदिन उच्च सतर्कता अपनाइरहेको छ । आम नागरिकलाई सुसूचीत गर्ने पत्रकारहरु यसको उच्च जोखिम छन् । यद्यपी कोरोना संक्रमणबाट हालसम्म विश्वमा कुनै पनि पत्रकारले ज्यान गुमाएका छैनन् ।

अझ नेपाली पत्रकारहरु कोरोनाको उच्च जोखिममा देखिएका छन् । पूर्वसुरक्षा सामाग्री अभावमै सबै क्षेत्रको समाचार संकलनमा जानुपर्दा नेपाली पत्रकारहरु यसको उच्च जोखिममा छन् । पत्रकारहरुलाई सम्बन्धीत सञ्चारमाध्यमले समेत सुरक्षाका सामाग्रीहरु दिन सकेका छैनन् भने सरकारका तर्फबाट पनि कुनै खास संवेदनशीलता अपनाइएको छैन ।

पत्रकारिता पेशा आफैंमा एक चूनौतिपूर्ण काम भए पनि पत्रकारहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य झलक गैरे बताउँछन् । ‘हामी व्यक्तिगत सुरक्षाभन्दा समाचारमा बढी केन्द्रीत भएका छौं । यसले हाम्रो स्वास्थ्य खतरापूर्ण छ,’ उनले भने, ‘आफ्नो स्वास्थ्यप्रति पत्रकारहरु नै संवेदनशील छैनौं ।’

सीमा क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीभन्दा पत्रकार स्वास्थ्य कैयौं गुणा जोखिममा रहेको पूर्व केन्द्रीय सदस्य गैरेले बताए । उनले भने, ‘कोभिड–१९ विरुद्धको अभियानमा अग्रपक्तिमा रहेर लड्ने पत्रकारहरु स्वास्थ्यका हिसाबले हामी आफै थला पर्ने अवस्था आयो भने समाजलाई सुसूचीत गर्न सकिँदैन, त्यसैले पनि हामी संवेदनशील हुनुपर्छ ।’

उनले पत्रकारहरुको स्वास्थ्यभन्दा समाचारमा केन्द्रीत भएकै कारण हाम्रो स्वास्थ्य अवस्था निकै जोखिमपूर्ण र नराम्ररी प्रभावित हुने खतरा रहेको बताए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले सीमा क्षेत्रमा भरपर्दो स्वास्थ्य जाँच नभएकाले समाचार संकलनमा जाने पत्रकारहरुको स्वास्थ्य जोखिममा रहेकाले संवेदनशीलता अपनाउन आग्रह गरे ।

उनले भने, ‘सीमा क्षेत्रमा चेकजाँच सोचजस्तो भरपर्दो छैन । पत्रकारहरु आफैले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ । पहिले आफू स्वस्थ बनौं अनि समाचार संकलन गरौं ।’ अध्यक्ष थारुले पत्रकारहरुलाई गलत सूचना प्रवाह नगर्न पनि आग्रह गर्दै सकेसम्म घरबाटै समाचार संकलन गर्न र फिल्डमै जानुपर्ने अवस्था आएमा सुरक्षा सावधानी अपनाउन सुझाए ।

पत्रकार कमल न्यौपानेले फेसबुकमा स्टाटस् लेख्दै भनेका छन्, ‘कोरोना सन्त्रास, असुरक्षित पत्रकार, खोई मिडिया सञ्चालकको ध्यान गएको ? खोई आफ्नो सञ्चार माध्यममा कार्यरत पत्रकारलाई मास्क र सेनिटाइजर उपलब्ध गराएको ? बेलामा ध्यान जाओस् ।’ उनले अन्य क्षेत्रभन्दा नेपाल–भारत सीमा क्षेत्र पत्रकारका लागि चुनौतिपूर्ण रहेको बताए ।

‘सीमा क्षेत्र हाम्रा लागि चुनौति हो । समाचार संकलनका क्रममा भारतबाट फर्किने नेपालीहरुसँग कुराकानी गर्नुपर्ने अवस्था छ । हामीसँग सुरक्षात्मक स्वास्थ्य सामाग्री यर्पाप्त छैनन् । जसका कारण सीमा क्षेत्रका पत्रकारहरु जोखिममा छौं,’ पत्रकार न्यौपानेले भने । उनले पत्रकारहरुको स्वास्थ्यका विषयमा सरोकारवाला सरकारी निकाय पनि गम्भीर हुनुपर्ने बताए ।

सीमा क्षेत्रमा समाचार संकलनमा खटिने पत्रकारहरुका लागि आवश्यक पर्ने सुरक्षात्मक स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउन सके जोखिम केही न्यूनीकरण हुने बताए । ‘कम्तीमा मास्क र सेनेटाइजरमात्रै उपलब्ध गराए पनि पत्रकारलाई राहत हुने थियो,’ उनले भने, ‘द्वन्द्वकालमा भन्दा समाचार संकलन गर्नु अहिले निकै चुनौतिपूर्ण छ ।’

त्यतिबेला आफ्नो परिचय दिएर ज्यान जोगाउन सकिन्थ्यो,’ पत्रकार न्यौपानेले भने, ‘अहिले कोरोनालाई आफ्नो परिचय दिएर जोखिम कम त हुँदैनन नि ?’ उनले बन्द, हड्ताल, लडाई, द्वन्द्वको अवस्थामा भन्दा समाचार संकलन गर्न निकै चुनौति रहेकोले सञ्चार गृहहरुले आफ्ना संस्थामा काम गर्ने पत्रकारहरुको सुरक्षा संवेदनशीलतालाई ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार १०:०५