सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको कहर : नेपालगन्ज उपमहानगरपालिकाले गर्‍यो यस्ता निर्णय

बाँके । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) लाई महामारीको रुपमा घोषित गरिसकेको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसले १३ हजारभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको छ । यसबाट झण्डै तीन लाख व्यक्ति संक्रमित भइसकेका छन् ।

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस नेपालमा भने हालसम्म देखिएको छैन । यद्यपी सरकारले यसको संक्रमण हुन नदिन उच्च सतर्कता अपनाइरहेको छ । प्रदेश सरकार र देशभरका स्थानीय तहहरुले पनि आ–आफ्नो तयारीलाई तीव्रता दिइरहेका छन् ।

कोरोना भाइरसको संक्रमण हुन नदिन नेपालगन्ज उपमहानगरपालिकाले पनि विभिन्न तयारी र आकस्मिक निर्णयहरु गरिरहेको छ । उपमहानगरपालिकाको आइतबार बसेको बोर्ड बैठकले उपमहानगर र सवै वडा कार्यालयबाट दिइने अत्यावश्यकीय कामबाहेकका सबै सेवाहरु चेत २१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख डा.धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बोर्ड बैठकले उपमहानगरपालिकाद्वारा सञ्चालनमा रहेका नगर बस १५ दिन बन्द गर्ने, स्वास्थ्यकर्मीलाई उपकरण लगायत अत्यावश्यक सामाग्री र उपकरण तत्काल खरिद गर्ने तथा सम्पूर्ण वडाहरुले तीनपत्रे मास्क निर्माण गरे र वितरण गर्ने निर्णय पनि गरेको छ ।

साथै बैठकले विपन्न समुदायका लागि साबुन वितरण गर्ने, नगर क्षेत्रमा ससाना नालाहरु सफा गर्ने, चुना लगाउने र घास हटाउने कार्य गर्ने, कोरोना भाइरसबाट आम नगरबासीलाई सुरक्षित राख्न विभिन्न प्रचारात्मक अभियान चलाउने र सम्पूर्ण वडाहरुमा हेल्थ डेस्क स्थापना गरि स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी महेन्द्र पार्क र रानी तलाउ १५ दिनसम्म बन्द गर्ने, नगर प्रहरी परिचालन गरि खुला मासु बिक्री वितरण तथा फुटपाथमा चाट तथा अन्य विक्री वितरण बन्द गराउने निर्णय गर्दै सरसफाइकर्मीहरुलाई अनिवार्य मास्क र ग्लोव लगाएर मात्र काम गर्न निर्देशन दिएको छ । साथै कोरोना भाइरस पूर्व तयारीका लागि स्थापित कोषमा सहयोगका लागि सम्पूर्ण उद्योगी ब्यवसायी लगायतमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतवार १४:५५