बाँके । नेपालगन्जस्थित जुमनाहा नाका बन्द गरिएको छ । नेपाल र भारतका सुरक्षा निकायका प्रमुखहरुको छलफलबाट जमुनाहा नाका एकसाता सील गर्ने सहमति भएको हो । विश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्न नदिन सीमा नाका बन्द गरिएको बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक एसपी वीरबहादुर ओलीले बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, बाँके प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक ओली, शसस्त्र प्रहरी गुल्म ३० नम्बर गणका प्रहरी उपरीक्षक दीपक अधिकारी र भारत बहराइच जिल्ला अधिकारी शम्भु कुमार, बहराइचका एसपी बिपिनकुमार मिश्रासहितको उपस्थितिमा आज भएको दुईपक्षिय छलफलका क्रममा सीमा नाका सील गर्ने सहमति भएको हो ।
गत शुक्रबारदेखि सवारी साधनमा रोक लगाए पनि पैदल यात्रीहरुलाई भने आवागमनका लागि छुट गरिएको थियो । सीमा नाका बन्द गर्ने निर्णय भएसँगै अब पैदलयात्रु तथा सवारी साधन सञ्चालन हुन पाउने छैनन् । यद्यपी अत्यावश्यक सामग्री ढुनावी तथा एम्बुलेन्सको हकमा आवश्यकता अनुसार आवागमन गर्न दिने सहमति भएको छ ।
सीमावर्ती भारतीय बजार रूपैडिहा पनि पूर्णरुपमा बन्द हुने भएको छ । नेपालगन्ज बजार बन्द भएसँगै छिमेकी बजार रूपैडिहा बन्द गर्न बहराइच जिल्ला अधिकारी शम्भु कुमारले निर्देशन दिएको स्रोतले जनाएको छ । कोरोना भाइरसको जोखिम बढेसगैं बाँके प्रशासनले नेपालगन्ज ‘लकडाउन’ गरेको छ । संक्रमणको यो कठिन घडीमा कोरोनाको उच्च जोखिम भएको नेपालगन्जलाई सुरक्षित पार्न ‘लकडाउन’ गर्नुपर्ने अवस्था आएको हो ।
सत्यपाटी ।