सूचनाको शक्ति - The Power Of Information

        

इटालीमा एकैदिन करिब ८०० को मृत्यु

इटाली । कोरोना भाइरसको संक्रमण रोक्न इटालीले आफ्नो अति प्रभावित लोम्बर्डी क्षेत्रमा थप कडा नियमको घोषणा गरेको छ । लोम्बर्डीमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३ हजार ९५ जनाको मृत्यु भइसकेको छ । शनिबार अबेर भएको घोषणा अनुसार घर बाहिर कुनै पनि प्रकारको खेल तथा शारिरिक गतिविधि (व्यक्तिगतसमेत) गर्न पाइने छैन ।

यसैगरी ‘भेन्डिङ मेसिन’को प्रयोगमा पनि उसले प्रतिबन्ध लगाएको छ । शनिबार एकैदिन इटालीमा करिब ८ सय जनाको संक्रमणबाट मृत्यु भएपछि उसले यस्तो नियम लगाएको हो । हालसम्म इटालीमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ८२५ जनाको मृत्यु भइसकेको छ । यो कुनै पनि देशमा कोरोना भाइरसबाट भएको सर्वाधिक मृत्यु हो ।

त्यहाँ ५३ हजार ५७८ जनामा संक्रमण पुष्टि भइसकेको छ । यसैगरी ६ हजार ७२ जना निको भएर घर फर्किएका छन् । पूरै इटालीमा लोम्बार्डी सबैभन्दा बढी प्रभावित क्षेत्र हो जहाँ संक्रमण फैलिएयता ३ हजार ९५ जनाको निधन भइसकेको छ । सो क्षेत्रका अध्यक्ष एटिलियो फन्टानाले एक विज्ञप्तीमार्फत नयाँ नियमहरूको घोषणा गरेका हुन् ।

उनले अत्यावश्यक वितरण प्रणालीबाहेकका सम्पूर्ण व्यवसाय बन्द गर्न भनेका छन् । अस्पताल, सडक र रेल क्षेत्रमा गरिने कामका अलावा भवन निर्माण क्षेत्र गरिने काममा रोक लगाइएको छ । त्यसैगरी साप्ताहिक खुला बजार पनि बन्द गर्न आदेश दिइएको छ । लोम्बार्डी क्षेत्र मार्च ८ देखि ‘लकडाउन’मा रहँदै आएको छ । त्यसैगरी शनिबार इटालीका प्रधानमन्त्री जुसेप कोन्टेले देशभरका ‘अनावश्यक’ व्यापार बन्द गर्न आदेश दिएका छन् ।

उनले त्यस्तो आदेश दिए पनि आदेशमा कस्ता व्यापारलाई अनावश्यक मानिने हो त्यो भने विशिष्टिकृत गरेनन् । नयाँ घोषणा अनुसार त्यहाँ सुपरमार्केट, औषधिपसल, हुलाक, बैंक तथा सार्वजनिक यातायात भने चालु रहनेछ । पछिल्लो विश्व विवरण अनुसार हालसम्म २ लाख २० जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने झण्डै ९ हजार जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतवार ०९:१८