सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको सन्त्रास : अत्यावश्यक सेवाबाहेक भोलिदेखि नेपालगन्ज बजार बन्द गरिँदै

बाँके । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन भोली आइतबारदेखि बाँकेमा अत्यावश्यक सेवाबाहेक बाँकेको नेपालगन्ज बजार बन्द गरिने भएको भएको छ । नेपालगन्जमा आज बसेको कोरोना भाइरसविरुद्धको जिल्लास्तरीय टास्कफोर्सको बैठकले जोखिम न्यूनीकरणका लागि नेपाल–भारत सीमा नाका जमुनाहा पूर्णरुपमा बन्द गर्न पहल गर्ने निर्णय पनि गरेको छ ।

बाँकेका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बसको बैठकले सीमा नाका पूर्णरुपमा बन्द गर्न माथिल्लो निकायमा कुटनैतिक पहलका लागि सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो । बैठकले संक्रमित बिरामी तथा स्वास्थ्यकर्मी समेतलाई बस्नका लागि लायन्स डेन्टल अस्पतालमा ४० बेडसहितको आइशुलेसन वार्ड व्यवस्थापनका लागि आजैदेखि काम शुरु गरिएको प्रजिअ खड्काले जानकारी दिए ।

उहाँले अत्यावश्यक सामानहरु खाद्यान्न, औषधि, तरकारी, पेट्रोल पम्प लगायत बाहेकका सम्पूर्ण पसल, उद्योग, कलकारखानाहरु बन्द गर्ने र भाटभटेनी सुपरमार्केटबाट पनि खाद्यान्न बाहेकका सम्पूर्ण सेवा बन्द गरिने बताए । विभिन्न हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई कार्यक्षेत्रमा संक्रमणबाट जोगाउन सुरक्षित किट उपलब्ध गराउने विषयमा समेत बैठकमा छलफल भएको छ ।

बैठकमा नेपालगन्ज बजार बन्द गर्ने, स्थानीय तहमा क्वारेन्टाइनको व्यवस्थापन गर्ने, आइशुलेसन वार्डका लागि प्रदेश सरकारले निर्णय गरेको खजुरा क्यान्सर अस्पताल र लायन्स डेन्टल अस्पताललाई तत्काल व्यवस्थापन गर्ने, संघीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गराउने जस्ता निर्णय भएको नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले जानकारी दिए ।

बैठकमा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले कोरोना संक्रमित आएको खण्डमा अस्पतालको तयारीको बारेमा जानकारी गराउँदै भेरी अस्पतालमा भइरहेको तयारीको अवस्थाका बारेमा जानकारी गराएका थिए । भेरी अस्पतालका मेडिकल बिभाग प्रमुख डा.राजन पाण्डेले उपचारमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सुरक्षाका लागिसुरक्षा किट अत्यावश्यक भएको भन्दै त्यसको उपलब्धता गराउन आग्रह गरे ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार १९:४०