सूचनाको शक्ति - The Power Of Information

        

कारागारमा खानेपानी समस्या, फोहोर नउठ्दा दुर्गन्धीत

बझाङ । जिल्ला कारागार बझाङमा खानेपानीको अभाव भएको छ । जिल्ला कारागारमा खानेपानी अभाव हुँदा पानी खान, सरसफाई गर्न र खान पकाउनसमेत समस्या हुँदै आएको छ । कारागारमा क्षमताभन्दा बढी थुनुवा र कैदीहरु भएकाले खान तथा सरसफाइ गर्न पानी अपुग हुने गरेको छ । ‘पानीको एक धारा छ, कहिले आउँछ कहिले आउँदैन, पानीको पाइपलाइन बीचमा अरुले पाइन छुट्टयाएर प्रयोग गर्दा समस्या भएको छ,’ कारागारका थुनुवा नाइके हिक्मत खड्काले भने ।

२५ जनाको क्षमता रहेको कारागारमा ४२ जना कैदीबन्दी रहेका छन् भने १७ जना थुनुवा छन् । कारागारमा सुरक्षाकर्मी गरेर ८० जनाभन्दा बढी बस्दै आएका छन् । खाना पकाउनकै लागि आवश्यक पर्ने पानी भर्न एक जनाले घन्टौ पालो कुनुपर्ने अवस्था छ । खाना पकाउनका लागि पानी पुग्दैन । नुहाउन त झनै कल्पनाको विषय हो । गर्मीयाम बढेसँगै रोगको त्रास फैलिरहेको बेला कारागारजस्तो संवेदनशील ठाउँमा खानेपानी अभाव हुँदासमेत कसैले चासो नदेखाएको कारागारका नाइके खड्काले बताए । कारागारका जेलर झलक रोकायाले भने खानेपानीका पाइपहरु केहिदिनमै व्यवस्थित गर्ने बताए ।

त्यस्तै कारागारको हाता भित्रनै फोहोरको फाल्नुपर्ने अवस्था छ । फोहोर फाल्नका लागि न डस्टविनहरु छन् नत कुनै डम्पीङ साइड बनेको छ । अझ नगरपालिकाले गाडी नपठाउँदा कारागार दुर्गन्धीत बन्दै गएको थुनुवा नाइके खड्का बताउँछन् । उनले भने, ‘हामी फोहोर गाडीमा हालिदिन्छौं, तपाईहरु गाडी पठाइदिनुस् भन्दा पनि जयपृथ्वी नगरपालिकाका कर्मचारीले बेवास्ता गर्ने गरेको छन् ।’ जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल शाहीले अघिल्लो पटक ल्याएका डस्टविनहरु बजारमा वितरण गरेर सकिएकाले दिन नसकेको बताए । उनले डस्टविनहरु अर्डर गरेर ल्याउने तयारी भएको र कारागारको फोहोर उठाउन गाडी पठाउने बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार १८:५२