सूचनाको शक्ति - The Power Of Information

        

कारोनाको त्रास : आयोडिन नुन किन्न भीड

बझाङ । विश्वभर कोरोनाको संक्रमण फैलिरहेका बेला बझाङमा समेत यसको प्रभाव परेको छ । छिमेकी देश चीनसँगै भारत लगायतका मुलुकमा कोरोना फैलिरहेका बेला नेपालको दुर्गम जिल्ला बझाङमा समेत प्रभाव परेको हो । कोरोनाको प्रभावसँगै बझाङ आयोडिनयुक्त नुन लिनकै लागि बझाङ सदरमुकाम चैनपुरमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपो कार्यालयमा दैनिकजसो नागरिकहरुको भीड लाग्ने गरेको छ ।

थलारा गाउँपालिकाकी कल्पना खातीले गाउँमा नुन कोरानाले नाका बन्द हुने र नुनसमेत बन्द हुन लागेको हल्ला सुनेर आफु घरको सबै काम छोडेर नुन लिन सदरमुकाम पुगेको बताइन् । उनीजस्तै सुर्मा गाँउपालिकाकी बसन्ती बोहराले पाँच पोका नुन घरमा भए पनि नुननै बन्द हुने हल्ला सुनेपछि आफु छोरालाई छोेडेर नुन लिनकै लागि सदरमुकाम चैनपुरमा पुगेको बताइन् । भारतबाट आयात हुँदै आएको र नाका बन्दपछि नुन नपाइने हल्ला फैलिँदा नुन लिनेको भीड बढिरहेको छ ।

केहीदिन अघिसम्म दिनमा ५० देखि १५० जनाले आयोडिन नुन लिन गरेको भए पनि पछिल्लो पाँच दिनयता दैनिक करिब ८०० जना स्थानीयले आयोडिन नुन लिन पुग्ने गरेका साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालयका प्रमुख टेकबहादुर बोहराले बताए । हल्लाकै कारण भीड बढेको बताउँदै उनले शाखामा झण्डै १५ सय क्वीन्टलभन्दा बढी नुन मौज्दात रहेको र यस आर्थिक बर्षको कोटाको नुनसमेत ढुवानी भइरहेका कारण हल्लाका पछि नलाग्न अनुरोध गरेका छन् ।

डिपो प्रमुख बोहराले जिल्लाका लागि प्रशस्त नुन भएको केही बर्षअघि भारतले नाकाबन्दी गर्दासमेत नुनको अभाव नभएको अवस्थामा अहिले पनि नुन अभाव नहुने र हल्लाको पछि नलाग्न अनुरोध गरे । आयोडिन नुन भारतबाट आयात नभए पनि झण्डै एक बर्षसम्म नुन अभाव नहुनेसमेत उनले बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार १८:२०