बाँके । कोहलपुर नगरपालिका–१३ भरैयाका किसानहरु तरकारी खेतीबाटै आत्मानिर्भर बन्न थालेका छन् । तरकारी गोडमेल, मलजल गर्नुका साथै सिँचाइको ब्यवस्थापनमै उनीहरुको दिन बित्ने गरेको छ । सामुहिक तरकारी खेती गर्दै आएका यहाँका कृषकहरुले सागर कृषि सहकारीसमेत खोलेका छन् ।
कृषिलाई नै मुख्य पेशा बनाएका यहाँका स्थानीयहरुले सिजनमा न्यूनतम रु.एक लाखदेखि रु.पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् । परम्परागतरुपमा धान खेती गर्दै आएका भरैयाका किसानहरु आम्दानी बढि हुने देखिएपछि तरकारी खेतीमा जुटेका हुन् । धान खेतीमा मेहनत धेरै, उपलब्धी कम हुने भएकाले तरकारी खेती सुरु गरेको स्थानीय नरबहादुर बुढा मगर बताउँछन् ।
पहिलेको तुलनामा पछिल्लो समय तरकारी उत्पादन निकै बढेको बताउँदै मगर भन्छन्, ‘ग्राहकहरु घरमै आएर तरकारी किनेर लैजान्छन् । यसअघि धान र गहुँ खेती गर्दै आउनुभएका मगरले त्यसबाट लाउन खान पनि नपुगेपछि विस.२०५१ सालदेखि तरकारी खेति सुरु गरेको बताए । उनले अहिलेसम्म कुनै निकायबाट सहयोग नपाएको भन्दै गुनासो गरे ।
प्रदेश र स्थानीय सरकारले कृषिमा थुप्रै बजेट छुट्याएको खबर सुने पनि हालसम्म अनुदान नपाएको उनले बताए । यद्यपी वार्षिक रु.दुईदेखि रु.पाँच लाखसम्म आम्दानी गर्दै आएका मगरले सोही रकमबाट घर परिवारको खर्च धानिरहेका छन् । अर्का किसान शेरबहादुर वलीले पनि एक दशकदेखि तरकारी खेति गर्दै आएको सुनाए ।
विभिन्न निकायबाट कृषि सम्बन्धि तालिम लिएका वली नेपालमै तरकारी खेतिबाट मनग्य आम्दानी गर्न सकिने बताउँछन् । ‘हामी चार भाई मिलेर ३५ कठ्ठामा तरकारी खेती सुरु गरेका छौं,’ वलीले भने, ‘वार्षिक दुई लाख लगानी गरेर उब्जिएको तरकारीबाट १५ लाख बराबर आम्दानी हुने गरेको छ ।’
उनले कृषि पेशाबाटै २२ जनाको परिवारको खर्च चलाइरहेका छन् । वलीलाई उनका भाई तिलक वली, एकराज वली र सशीराम वलीले तरकारी खेतीमा साथ दिँदै आएका छन् । भाईहरुसँगै परिवारका सबै सदस्यहरु फुर्सद भएसम्म खेतमै भेटिने गरेका छन् । समयमै विउ र मल उपलब्ध नहुँदा सोचेजति उत्पादन गर्न नसकिएको वली बताउँछन् ।
उनले सरकारले कृषकको आवश्यकता पहिचान गरेर कृषि सामाग्री वितरण नगरेकोमा गुनासो गरे । सहकारीमार्फत यहाँका किसानहरुले अटोरिक्सा समेत खरीद गरेका छन् । गाँउमा उत्पादन हुने तरकारी अटोरिक्सामार्फत बजारसम्म पुग्ने भएकाले कृषकहरुलाई बजारीकरणको समस्या छैन । यद्यपी भारतबाट आउने सस्तो मुल्यको विषादीयुक्त तरकारीसँग गाउँमा उत्पादित अग्र्यानिक तरकारीले प्रतिश्पर्धा गर्नुपर्ने कृषकहरुको गुनासो छ ।
सत्यपाटी ।