सूचनाको शक्ति - The Power Of Information

        

निर्भया काण्डका चारैजना दोषीलाई मृत्युदण्ड, ४० मिनेटपछि मृत घोषित गरियो

बाँके । सन् २०१२ मा भएको निर्भयाको सामूहिक बलात्कारका चारै अभियुक्तलाई शुक्रबार बिहानै मृत्युदण्ड दिइएको छ । मृत्युदण्डपछि निर्भयाकी आमाले यसलाई न्यायको जीत बताएकी छिन् । समाचार एजेन्सीका अनुसार दिल्लीको तिहाड जेलमा बिहान साढे पाँच बजे चारै जनालाई मृत्युदण्ड दिइएको हो ।

तिहाड जेलका निर्देशक संदीप गोयलले भने, ‘बिहान ठिक साढे पाँच बजे चारैजनालाई मृत्युदण्ड दिइएको हो ।’ समाचार एजेन्सी पिटिआईले जेल अधिकारीलाई उद्धृत गर्दै चारै जनालाई एकैपटक मृत्युदण्ड दिइएको बताएको छ । सन् २०१२ डिसेम्बर १६ तारिखको राती निर्भयामाथि सामूहिक बलात्कार गरिएको थियो । सात वर्ष, तीन महिना र चार दिनपछि मुकेश, अक्षय, विनय र पवनलाई मृत्युदण्ड दिइएको हो ।

भारतीय समाचार एजेन्सी भास्करका अनुसार मृत्युदण्ड दिनुअघि पवन, मुकेश, विनय र अक्षयलाई नास्ता दिइएको थियो तर उनीहरुले खान अस्वीकार गरे । विनय रुन थालेका थिए । त्यसपछि उनीहरुलाई तिहाड जेल नम्बर तीनमा बनेको ‘फाँसी घर’मा पुर्याइएको थियो । जहाँ पवन जल्लादले उनीहरुलाई झुण्ड्याएका थिए । ४० मिनेटपछि उनीहरुलाई मृत घोषित गरिएको हो । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार ०७:५२