सूचनाको शक्ति - The Power Of Information

        

कोरोना भाइरसको उपचारमा जापानिज फ्लूको औषधि ‘स्पष्ट प्रभावकारी’

काठमाडौं । चीनका स्वास्थ्य निकायले जापानमा इन्फ्लुएन्जाको नयाँ स्ट्रेनको उपचारमा प्रयोग गरिएको औषधि कोरोना भाइरस पीडित बिरामीमा प्रभावकारी रहेको बताएको छ । जापानी मिडियाले बुधबार यस्तो बताएका हुन् ।

चीनको विज्ञान तथा प्रविधि मन्त्रालयका एक अधिकारी झाङ जिनमिनका अनुसार चीनको वुहान र सेनझेनमा ३४० बिरामीमा गरिएको क्लिनिकल ट्रायलमा फुजीफिल्मको सहायक औषधिको रुपमा विकास गरिएको फ्याभिपिराभिरले प्रभावकारी नतिजा देखाएको छ ।

‘यसको सुरक्षाको मात्रा धेरै छ र उपचारमा स्पष्टरुपमा प्रभावकारी देखिएको छ,’ झाङले मंगलबार रिपोर्टरहरुसँग भने । कोरोनाभाइरस पोजेटिभ देखिएका सेनझेनका बिरामीहरु यो औषधी दिइएको ४ दिनपछि नेगेटिभ देखिएका छन् ।

यो औषधिबाट उपचार नगरिएका अन्य बिरामीहरु भने ११ दिनपछि मात्र नेगेटिभ देखिएका छन् । एक्स रे रिपोर्टमा पनि यो औषधिबाट उपचार गरिएका बिरामीको फोक्सोको अवस्थामा ९१ प्रतिशत सुधार देखिएको छ जबकि यो औषधिबिना उपचार गरिएका अन्य बिरामीको फोक्सोको अवस्थामा ६२ प्रतिशत मात्र सुधार देखिएको छ ।

एभिगान नामबाट समेत चिनिने यो औषधी २०१४ मा विकास गरेको कम्पनी फुजीफिल्म तोयामा केमिकलले भने यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ । झाङको प्रतिक्रियासँगै स्टक मार्केटमा यो कम्पनीको शेयर मूल्यमा ह्वात्तै वृद्धि भएको छ ।

जापानका डाक्टरहरुले पनि सामान्यदेखि मध्यम लक्षण देखिएका बिरामीहरुमा यही औषधि प्रयोग गरिरहेका छन् । तर, जापानी स्वास्थ्य मन्त्रालयको एक स्रोतका अनुसार यो औषधी गम्भीर लक्षण देखिएका बिरामीमा भने प्रभावकारी देखिएको छैन ।

‘हामीले ७० देखि ८० जनामा एभिगान प्रयोग गरेका छौं तर यसले भाइरस पहिल्यै अत्याधिक बढिसकेको अवस्थामा काम गरेको देखिएको छैन,’ स्रोतले माइनिची शिमबनसँग भने । स्रोतका अनुसार एचआइभी एन्टिरेट्रोभाइरल लोपिनाभिर र रिटोनाभिसको प्रयोग गरेर गरिएको अध्ययनमा पनि यस्तै किसिमका सीमितताहरु देखिएका छन् ।

२०१६ मा जापान सरकारले गुयनामा इबोलाको उपचारको लागि आकस्मिक औषधीको रुपमा फ्याभिपिराभिर पठाएको थियो । यो औषधि मूल रुपमा फ्लुको उपचारको लागि बनाइएकोले यसलाई कोरोनाभाइरसको उपचारमा पूर्ण मात्रामा प्रयोग गर्न सरकारले अनुमति दिनुपर्छ ।

एक अधिकारीले माइनिचीसँग भनेअनुसार यो औषधीलाई सरकारले मे महिनाअघि नै अनुमति दिनसक्छ । ‘तर क्लिनिकल रिसर्चको अनुसन्धान ढिलाइ भएमा अनुमतिमा पनि ढिलाइ हुन सक्छ,’ उनले भने ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार १२:०५