सूचनाको शक्ति - The Power Of Information

        

कोभिड–१९ : नाकामा निगरानी कक्ष स्थापना

धनगढी । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी स्वरुप भारतसँग सीमा जोडिएको कैलालीको त्रिनगर भन्सार नाकामा निगरानी कक्ष स्थापना गरिएको छ । उक्त नाकाको कैलाली भन्सार कार्यालयको नवनिर्मित भवनमा धनगढी उपमहानगरपालिका कार्यालयको पहलमा स्वास्थ्यकर्मी र औषधिसहितको व्यवस्था गरी निगरानी कक्ष स्थापना गरिएको हो ।

निगरानी कक्षमा तत्कालका लागि तीन वटा श्यया राखिएकामा आवश्यकताअनुसार थप श्ययाको व्यवस्था पनि गरिएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । निगरानी कक्षमा आवश्यक औषधि र स्वास्थ्य परीक्षण गर्ने उपकरणसहित चौबिसै घण्टा स्वास्थ्यकर्मी रहने व्यवस्था गरिएको छ । निगरानी कक्षको प्रयोजनका लागि अत्याधुनिक एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको छ ।

उपमहानगरपालिकाले गएको फागुन २४ गतेदेखि नै कैलाली भन्सार नाकामा ‘हेल्थ डेस्क’ स्थापना गरेर भारतबाट नेपाल भित्रिने नागरिकको नियमितरुपमा स्वास्थ्य परीक्षण गरिरहेको छ । उपमहानगरपालिकाको पहलमा धनगढी बजारका मुख्य चोकका साथै बसबिसौनीमा पानीको व्यवस्थापन गरी आवागमन गर्नेलाई हात धुने व्यवस्था मिलाउने, रोग रोकथामका लागि चेतना अभिवृद्धि गर्न प्रचारप्रसार गर्ने लगायतका कामहरु सुरु गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार ०८:२९