सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको सन्त्रास : जमुनाहा नाका ठप्प, तीन ठाउँमा चेकजाँच

बाँके । नेपाल–भारत सीमाका जमुनाहा नाका ठप्पजस्तै भएको छ । बाँकेको भारतसँग जोडिएको भित्री नाकाहरु बन्द गरिएका छन् । मुख्य नाका जमुनाहामा तीन ठाउँमा चेकजाँच गरिएको छ । सीमामा आवातजावत गर्ने यातायातका साधन बन्द गरिएको छ । मानिसहरु पैदल नै आवातजावत गरिरहेका छन् ।

दुवैतर्फ लाइन लगाएर चेकजाँच सुरु गरिएको हो । यसअघि भारत सरकारका स्थानीय अधिकारीहरुले नेपाली समकक्षीसँग आफ्ना नागरिकलाई भारत पठाउने सकेसम्म रोक्न आग्रह गरेका छन् । बाँकेको सीमावर्ती भारतीय जिल्ला बहराइचका जिल्ला अधिकारी शम्भु कुमार, प्रहरी प्रमुख विपिन कुमारसहितको टोली नेपालगन्जमै पुगेर ‘सकेसम्म मानिस नपठाउन’ आग्रह गरेका हुन् ।

चार दिनअघि बर्दियाको ठाकुरद्वारामा भएको दुई देशका सीमास्थित अधिकारीहरुको बैठकमा पुग्न नसकेका बहराइचका जिल्ला अधिकारी शम्भु कुमार उत्तरप्रदेशमा बढ्दो कोरोनाको संक्रमणपछि नेपालगन्ज आइपुगेका थिए । उनले सीमावर्ती रुपैडिहा चेकपोष्टको स्थलगत निरीक्षण गरी कोरोना भाइरसको संक्रमण, नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

‘दैनिक २० देखि ३० हजार मानिसले रुपैडिहा आवागमन गरिरहेका छन्,’ भारतीय उच्च अधिकारीको दाबी थियो, ‘यो भिड रोकिएन भने भाइरस संक्रमण्विरुद्धको प्रयासलाई सार्थक बनाउन सकिंदैन ।’ ती अधिकारीले नेपाली सुरक्षा अधिकारीसँग यतिसम्मको प्रस्ताव गरे कि, ‘दैनिक उपभोग्य सामानका कारण भोकमरी नै लाग्ने हो भने सीमावर्ती नेपाली भु–भागमा ठाउँ दिनुस् ती अत्यावश्यकीय सामाग्रीको छुट्टै पसल सञ्चालन गरिदिन्छौं ।’

त्यसो गर्दा रुपैडिहाकै दरभाउमा उपभोग्य सामान उपलब्ध गराउने सुनिश्चितताका लागि भारतीय व्यापारीसँग आफुले पहल लिने प्रतिबद्धता पनि भारतीय अधिकारीले गरे । नेपालबाट भारततर्फ जानैपर्ने मानिसलाई अनिवार्य चेकजाँच गरेर पठाउन र भारतबाट आएकालाई सीमामै चेकजाँच गरेर प्रवेशको व्यवस्था मिलाउन पनि दुई देशका समकक्षी अधिकारीहरुबीच सघन छलफल भयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काका अनुसार, नेपालगन्ज नाकाबाहेकका सबै अनौपचारिक नाकाहरु बन्द गरिएका छन् । नेपालबाट जाने सवारीसाधनहरु अब सीमापार जान पाउने छैनन् । ‘जुन साधन जहाँ छ त्यही रोक्न निर्देशन दिइएको छ,’ प्रजिअ खड्काले भने, ‘पारिबाट पनि कुनै सवारीसाधन आउने छैनन् ।’ यो निर्णयसँगै नेपालगन्जबाट दिल्ली, लखनउ लगायतका सहरमा सिधा आवागमन गर्ने यात्रुवाहक बसहरु पनि रोकिएका छन् ।

‘अबबाट दशगजामै चेकजाँच गरेपछि मात्रै नेपाल प्रवेश गर्न पाइनेछ,’ बाँकेका प्रहरी प्रहरी उपरीक्षक बीरबहादुर ओलीले भने, ‘अनावश्यक भीडलाई रोक लगाइएको छ ।’ थप जनशक्तिको व्यवस्थापन मिलाएर सम्पूर्ण आवागमन गर्ने मानिसहरुको चेकजाँच गरिने उनको भनाइ थियो । ‘सीमापारी भारतले गर्ने चेकजाँच र हामीले गर्ने चेकजाँचको तथ्यांक मिल्ने गरी व्यवस्था मिलोस् भन्नेमा गम्भीर छौं,’ प्रहरी उपरीक्षक ओलीले भने ।

‘कोही छुट्नु हुँदैन, लाइन लगाएर सबैलाई स्वास्थ्य जाँच गर्ने कुरा भएको छ, प्रहरी उपरीक्षक ओलीले भने, ‘प्रहरीले लाइन मिलाइदिन्छ । स्वास्थ्यकर्मीले जाँच गर्छन् ।’ स्थानीय प्रशासनले नेपालगन्ज नाकाको भीडलाई कम गर्न जमुनाहा नाकादेखि तीन किलोमिटर यतै सवारी साधन रोक्ने गरेको छ । प्रहरी उपरीक्षक ओलीले नाकामा भीड नहोस् भन्नका लागि सवारीसाधन यतै रोकिएको बताए ।

भारत जानै पर्नेहरुलाई पैदल जान दिइएको छ । नेपालबाट रुपैडिहामा सामान किन्न जानेहरुले गर्दा धेरै भीड हुन्थ्यो । सामान किन्न जानेहरु प्रायः यात्रुवाहक गाडी, टाँगा, अटोरिक्सा, मोटरसाइकल, साइकलमा जाने गर्दछन् । यी सबै साधनलाई तीन किलोमिटर यतै रोकिएपछि तीन किलोमिटर हिँडेर सामान किन्न जानेहरुको संख्या निकै कम भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले चौलिक्का चोकमा सवारी साधन रोकिरहेका छन् ।

केही मान्छेमात्रै भारततिर पैदल गइरहेका छन् । जमुनाहा नाकामा नेपालगन्ज आउने तरखरमा रहेका ठूलो संख्याका भारतीयहरु पारी रोकिएका छन् । भारतका विभिन्न शहरबाट काम गरेर फर्किएका नेपालीहरु भने आफ्ना सामान बोकेर पैदल आउँछन् । भारतबाट आउने सबैलाई अनिवार्य स्वास्थ्य जाँच गर्ने र आशंकित भेटिएमा अस्पतालमा पठाउने नीति लिइएको छ । त्यसका लागि नाकामा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

नेपालगन्जदेखि करिव दुई सय किलोमिटर टाढा रहेको लखनउमा समेत कोरोनाको संक्रमण देखिएपछि नेपालगन्ज नाकालाई जोखिमपूर्ण मानिएको छ । भारतको उत्तरप्रदेशमा समेत कोरोना संक्रमित देखिइसकेकाले त्यससँग जोडिएका बाँके लगायतका जिल्लालाई जोखिम मान्दै नाकामा भीड कम गर्ने नीति अपनाइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार ०७:३७