बाँके । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि स्वास्थ्य जाँचविना नेपाल–भारत प्रवेशमा रोक लगाइने भएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेपाल र भारतका अधिकारीहरुबीच भएको छलफलपछि जाँचविना सीमामा ओहोरदोहोर गर्न रोक लगाइने छ ।
कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै नेपाल–भारत दुवै देशका अधिकारीले बर्डरक्षेत्रमा सुरक्षा र स्वास्थ्य जाँचलाई अझ कडा बनाइने निष्कर्ष निकालेका छन् । रुपैडिहा नाकाको अवलोकन गर्न आएका भारत उत्तरप्रदेशको बहराइच जिल्लाका डीएम शम्भुकुमार र एसपी विपिन कुमार मङ्गलबार मध्यान्ह एक्कासी नेपालगन्ज आएका थिए ।
नेपालगन्ज आइपुगेका भारत बहराइच जिल्लाका डीएम र एसपीले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओली लगायतका नेपाली अधिकारीहरुसँगको भेटपछि स्वास्थ्य जाँचविना नेपाल–भारत प्रवेशमा रोक लगाइने निष्कर्ष निकालिएको हो ।
हालसम्म भारतमा कोरोना भाइरसका कारण तीन जनाको मृत्यु भइसकेको छ । नेपालगन्जदेखि १९० किमी टाढा लखनउमा समेत कोरोनाको संक्रमण देखिएपछि नेपालगन्ज नाकालाई जोखिमपूर्ण मानिएको छ । यो निष्कर्षसँगै अब नेपालगन्जदेखि दैनिक उपभोग्य सामान खरिद तथा अध्य कामका लागि भारतीय बजार रुपैडिहा जाने र भारतबाट नेपालतर्फ आउने नागरिकहरुको स्वास्थ्य जाँच अनिवार्य गरिनेछ ।
स्वास्थ्य जाँचविना उनीहरुलाई नेपाल–भारत प्रवेशमा पूर्णरुपमा रोक लगाइनेछ । नेपालबाट जानेलाई भारतमा र भारतबाट आउनेलाई नेपालमा अनिवार्य स्वास्थ्य जाँच गरिनेछ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि दुवै देशबीच गहन छलफल भएको भन्दै प्रहरी उपरीक्षक ओलीले भने, ‘यसअघि नेपालतर्फ राखिएको हेल्प डेस्कभन्दा पर दशगजा नजिकबाटै नेपाल प्रवेश गर्ने जो कोहीको लाइन लगाएर स्वास्थ्य जाँच गरिनेछ ।’
दुवै देशबीच भएको अनौपचारिक छलफलमा भारतबाट नेपाल आउनेलाई नेपालले र नेपालबाट भारत जानेलाई भारतले एक–एक गरेर कडाईका साथ स्वास्थ्य जाँच गरिनेछ । ‘यस विषयमा दुई देशबीच प्रावकारी समन्वय गरि अघि बढ्ने सहमति भएको छ,’ प्रहरी उपरीक्षक ओलीले भने । प्रजिअ खड्काले स्वास्थ्य जाँचमा कोही नछुटुन, सबैको अनिवार्य लाइन लगाएर स्वास्थ्य जाँच गर्न भन्दै जमुनाहामा निर्देशन दिइएको बताए ।
प्रजिअ खड्काले भारतीय अधिकारीहरुसँगको भेटमा भारतीय अधिकारीले नाकामा भीडभाड कम गराउन सुझाव दिएको र सीमावर्ती क्षेत्रमा अत्यावश्यक कामबाहेक अनावश्यक भीडभाड कम गर्न नागरिकहरुलाई आग्रह गरेको बताए । बहराईचका डीएम शम्भुकुमारले नेपाल–भारत बोर्डर बन्द नहुने स्पष्ट पार्दै तेस्रो मुलुकबाट नेपाल जानेलाई बन्द गरिएको प्रष्ट पारे । त्यस्तै नेपाल–भारत मैत्रीपूर्ण बस बन्द गरिने भएको छ ।
योसँगै नेपालगन्ज नाका भएर नेपालगन्ज–दिल्ली, नेपालगन्ज–हिमाञ्चल, दाङ–दिल्ली सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधन जान र आउन नपाउने भएका छन् । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै यसअघि नै नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक भारत नजान आग्रह गरिएको छ । भारतमा देखिएको कोरोना भाइरसको जोखिम नेपालमा रहेको भन्दै यस विषयमा गम्भीरतापूर्वक लाग्नुपर्नेमा दुई देशका अधिकारीहरु एकमत भएका छन् ।
सत्यपाटी ।