सूचनाको शक्ति - The Power Of Information

        

बन्द गरौं नेपाल–भारत सीमा नाका

बाँकेमा कोरोना भाइरसको सन्त्रास

बाँके । ‘सीमा नाका बन्द गर्नुपर्छ । नागरिकको आवागमनमा निगरानी हुनुपर्छ । जमुनाहा नाकामा रहेको हेल्प डेस्कमा जनशक्ति र स्रोतसाधन थप गर्नुपर्छ । कोरोना भाइरसको संक्रमण देखिहालेमा हामीसँग अहिले भएको जनशक्ति र स्रोतसाधनले दुई घण्टा पनि थेग्न सक्ने अवस्था छैन,’ भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा.प्रकाशबहादुर थापा भने ।

नेपालगन्ज उपमहानगरपालिकाले मंगलबार आयोजना गरेको कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी सरोकारवालाबीच समन्वयात्मक बैठकमा मेसु डा.थापाले कोरोना भाइरस (कोभिड–१९) बाट बचाउन सीमा सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए । ‘चीनबाट सुरु भएको कोरोना भाइरस विश्वभर फेलिँदा पनि नेपालमा देखा परेको छैन । यसले हामीलाई पूर्वतयारीको लागि समय पनि दिएको छ, तर हामी अझै संवेदनशील बन्न सकेका छैनौं,’ उनले भने ।

भारतको लखनउमा कोरोनाको संक्रमण देखिएपछि बाँके जिल्ला उच्च जोखिममा रहेको भन्दै मेसु थापाले कोरोनाको संक्रमण भित्रिने प्रमुख कारण खुला सीमा नै भएकाले संक्रमणबाट बच्न सबैभन्दा पहिला सीमा सुरक्षामा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘विश्व कोरोनाको चपेटामा छ, नेपालमा पनि आर्थिक, सामाजिक र मनोवैज्ञानिक असर देखिँदा कतै फैलिहाल्ने हो कि भन्ने डर पनि छ । यसको उच्च जोखिममा नेपालगन्ज पनि सूचिकृत छ ।’

उहाँले भेरी अस्पतालमा ६ वटा आइसोलेसन वेड तयार गरिएको र थप ६ वटा वेड निर्माणका लागि तयारी भइरहेको जानकारी दिए । ‘संक्रमण भइहाले भेरी अस्पतालमा मात्रै नभएर यहाँका नीजि अस्पताल तथा होटलहरुलाई पनि क्वारेन्टाइनका रुपमा परिणत गर्नुपर्ने अवस्था आउन सक्छ । हामीले अहिलेदेखि नै पूर्व तयारीका लागि सम्पूर्ण कामहरुलाई चुस्त बनाउनुपर्छ,’ मेसु थापाले भने, ‘एकअर्काबीच समन्वय गरेर कोरोनाविरुद्ध एकजुट बन्नैपर्छ ।’

अमेरिका, स्पेनजस्ता देशहरुले संकटकाल घोषणा गरिसकेका छन् । चीनपछि धेरै जनसंख्या भएको भारतका प्रायजसो राज्यमा कोरोना संक्रमित देखिएका छन् । कतिपय राज्यले स्कुल, सिनेमा हल, नाइट क्लब, खेलकुद, सभा सम्मेलन, जमघट बन्द गरेका छन् । नेपालगन्जसँग नजिकै रहेको लखनउ र बहराइचमा समेत आइतबारदेखि सिनेमा हल, स्कुल, मन्दिर सबै बन्द गरिएसँगै नेपालगन्जमा उच्च सतर्कता अपनाइएको छ ।

सम्बन्धीत निकायले सर्तकता अपनाइरहेको बताइरहँदा बाँकेबासीले भने सरोकारवाला निकाय संवेदनशील नभएको गुनासो गरिरहेका छन् । नेपालगन्ज कारकाँदो निवासी स्मृति डिसीले भनिन्, ‘उपसमिति गठन गरेर होहल्ला गरी केही हुनेवाला छैन ।’ संक्रमणबाट बच्न जमुनाह नाकामा निगरानीका लागि चिकित्सकको टोली खटाएको छ,’ उनले थपिन्, ‘तर यसलाई अझै चलायमान बनाउनुपर्छ ।’ नेपालगन्जबासीले कोरोनाको रोकथामका लागि सबैभन्दा पहिला जमुनाहा नाका बन्द गर्नुपर्ने आवाज उठाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–१६ भन्सारमा किराना व्यवसाय गर्दै आएका सुरज थापाले छिमेकी देश भारतको लखनउमै दुई जनाभन्दा बढीमा कोरोना संक्रमण भइसकेको अवस्थामा नेपालमा आउँदै भनेर चुप लागेर बस्ने अवस्था नभएको बताए । उनकाअनुसार सम्पन्न राष्ट्रलाई संकटमा पारिरहेका बेला नेपालजस्तो देशमा देखिए सबै नष्ट हुने जोखिम बढेकोले नेपाल भारत नाका बन्द गर्नुपर्छ । उनी भन्छन्, ‘यसका हेलचक्राई नगरिओस् ।’

खजुराका ऋषि पोखरेलका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बाँके प्रशासनले लापरवाही गरिरहेको छ । उनले भने, ‘बाँके प्रशासनको मौनताले बाँकेबासी मात्र नभई सिंगो देश नै संक्रमणको उच्च जोखिममा रहने देखिएको छ ।’ नेपालगन्जका रामचन्द्र श्रेष्ठ नेपालगन्ज नाका बन्द गर्नुपर्ने बताए । उनले भने, ‘नेपालगन्जमा क्वारेन्टाइन निर्माण गर्दै संवेदनशीलता अपनाउनुपर्छ ।’

त्यसो त प्रदेश ५ सरकारले प्रदेशभर तीन स्थानमा क्वारेन्टाइन निर्माणका लागि औपचारिक पहलसमेत थालेको छ । क्वारेन्टाइनलाई प्रभावकारी बनाउन बाँकेमा खजुरा गाउँपालिका–३ स्थित कपास विकास समितिका भवनहरुलाई क्वारेन्टाइनका रुपमा परिणत गर्ने सम्भाव्यता थालिने जनाइएको छ । कोरोना संक्रमण फैलिइहालेमा यति सतर्कताले मात्रै नपुग्ने बताउँदै जिल्लामा उच्च सुरक्षा सर्तकतासहित टास्कफोर्स समेत गठन गरिएको छ ।

प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशमा बढी जनघनत्व भएको नेपालगन्ज, बुटवल धनगढीजस्ता शहरमा सिनेमा हल, विद्यालय, ठूला कार्यक्रम केही समयलाई रोक्नुपर्ने नेपालगन्जका स्थानीय विकास थापाले बताए । ‘संक्रमण देखिएपछि मात्र सतर्कता अपनाउँला भनेर पुग्दैन,’ उनले भने, ‘नेपालगन्जको हकमा बाँकेका प्रमुख जिल्ला अधिकारीले तत्काल निर्णय लिई उक्त निर्णय कार्यान्वयनमा ल्यान सक्नुपर्छ ।’

कोरोनाबाट बच्न विमानस्थल र जमुनाहा नाकाको सुरक्षालाई विशेष निगरानी गरी प्रत्येकको स्वास्थ्य अवस्थाको परीक्षण गर्नुपर्ने अवस्था छ । तर, यी दुवै स्थानमा रहेका हेल्प डेस्कमा उचित जनशक्ति र साधन अभाव छ । भारतको लखनउबाट नेपालगन्जमा भान्जीको मगनीका लागि आएका अजय पाठक नेपाल भारत सीमा केही समयका लागि बन्द गर्नुपर्ने बताउँछन् । लखनउमै कोरोनाका संक्रमितको संख्या बढिरहेकाले सीमा बन्द गर्नुपर्छ,’ उनले भने ।

उनले भने, ‘लखनउमा सरकारले कोरोनाको संक्रमण फैलिन नदिन चालेको कदका अघि नेपाल भारत सीमा नाकामा देखिएको लापरवाही नै प्रमुख जोखिमको कारण हुनेछ ।’ नेपालमा हालसम्म कसैमा पनि कोरोनाको संक्रमण भेटिएको छैन । तर, विश्वभर कोरोनाको संक्रमण फैलिइरहेका बेला बाँकेमा सरोकारवाला निकायले ठोस योजना बनाएर अघि बढ्नुपर्ने बाकेबासीको माग छ । सबैभन्दा पहिला जमुनाहा नाका बन्द गर्नुको विकल्प देखिँदैन ।

भारतको बाबागन्जबाट ज्याला मजदुरीका लागि नेपालगन्ज आएका रामदीन चमार भगवान भरोसे दिनहुँ नेपाल भारत सीमा नाकाबाट आवतजावत गरिरहेको बताउँछन् । ‘सामान्य स्वास्थ्य जाँचसमेत दुवै देशका अधिकारीले गर्दैनन्,’ उनले भने, ‘नेपाल–भारत सीमामा राखिएका दुवै देशका हेल्थ डेस्कलाई अझै सशक्त बनाइनुपर्छ । स्वास्थ्यमा एकदमै लापरवाही भइरहेको छ । जमुनाहा नाका तत्काल बन्द गनिुपर्छ ।’

बाँकेका प्रमूख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने सीमामा उच्च सतर्कता अपनाइएको बताए । उनका अनुसार संक्रमित भेटिएको अवस्थामा भेरी अस्पतालमा आइसोलेशन वार्ड तयारी गरिएको छ । सरकारी तथा निजी अस्पतालहरुलाई पनि तयारी अवस्थामा रहन भनिएको छ । तर नेपाल–भारत सीमा नाका नै बन्द गर्ने बिषयमा अहिले निर्णय भइनसकेको प्रजिअ खड्काले बताए ।

त्यसो त नेपालगन्जका चिकित्सकहरुले समेत बाँके कोरोनाको जोखिममा रहेकोले सबैभन्दा पहिले सीमा नाका बन्द गर्नुपर्ने सुझाएका छन् । बाँकेमा कोरोना भित्रिन नदिन खुला सीमानाका पूर्णरुपमा बन्द गरिनुपर्ने चिकित्सकहरुको तर्क छ । तर, प्रजिअ खड्काले तत्कालै सीमा नाका बन्द गर्न नसकिने बताए । भारतको लखनउ र बहराइचमा आइसकेको कोरोनाले नेपालगन्जमा सन्त्रास फैलिएको छ । कोरोनाको सन्त्रासबाट बाँकेबासीलाई बचाउन तत्काल नाका बन्दको विकल्प नभएको बाँकेबासीको भनाई छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलवार १३:५७