सूचनाको शक्ति - The Power Of Information

        

आमा सुरक्षा कार्यक्रम : सरकारीभन्दा निजी अस्पतालमै भीड

फाइल तस्वीर

फाइल तस्वीर

बाँके । सरकारी स्वास्थ्य संस्थामा सुविधासम्पन्न प्रसूति गृह सञ्चालनमा आए पनि कोहलपुर क्षेत्रमा प्रसूति सेवा लिन निजी अस्पताल पुग्ने गरेका छन् । आमा सुरक्षा कार्यक्रम अन्तरगत सरकारले निःशुल्क सेवा उपलब्ध गराए पनि सरकारीतर्फ आकर्षण बढ्न सकेको छैन । प्रसूति सेवा लिनेको सङ्ख्या निजीको तुलनामा सरकारी स्वास्थ्य संस्थामा अत्यधिक न्यून छ ।

चालू आर्थिक वर्षको छ महिनामा निजी क्षेत्रबाट सञ्चालित शिक्षण अस्पताल कोहलपुरबाट आठ हजार १८६ ले सेवा लिँदा कोहलपुरमै रहेको सरकारी सुविधा सम्पन्न स्वास्थ्यचौकीबाट जम्मा ५३ जनाले सेवा लिएको नर्सिङ अधिकृत शोभा अधिकारीले बताइन् । उनका अनुसार कोहलपुर नगरपालिका अन्तरगतकै शम्शेरगन्ज स्वास्थ्यचौकीबाट यो अवधिमा १२४ ले सेवा लिएका छन् ।

कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको तथ्याङ्कअनुसार शिक्षण अस्पताल कोहलपुरबाट दुई हजार ४१० ले सामान्य प्रसूति सेवा, १३० जटिल प्रकारका सेवा र ४३ जनाले जटिल प्रसूति व्यवस्थापन गरिएको छ । यस्तै ९२९ ले शल्याक्रिया सेवा, एक हजार १३८ ले नियमित गर्भजाँच, सुत्केरीलाई यातायात खर्च तीन हजार ५३८ जनाले लिएको र एण्टी डी ६५ जनाले लगाएका छन् ।

कोहलपुर र शम्शेरगञ्ज स्वास्थ्यचौकीबाट कुनै पनि गर्भवती सेवाग्राहीले एण्टी डी सेवा र जटिल प्रसूति सेवा, संस्थागत प्रसूति यातायात खर्च र शल्यक्रियालगायतका सेवा लिएका छैनन् । कोहलपुर स्वास्थ्यचौकीबाट जम्मा २१ ले सामान्य र ११ जनाले नियमित गर्भजाँच गराएको पाइएको छ । शम्शेरगन्ज स्वास्थ्यचौकीबाट ४७ ले सामान्य सेवा र ३० जनाले नियमित गर्भजाँच गराएका छन् ।

तीन वटै स्वास्थ्य संस्थाबाट चालू आवको साउनदेखि कात्तिकसम्म जम्मा एक हजार ६९७ ले सामान्य प्रसूति सेवा, ६६ ले जटिल प्रसूति सेवा, ३३७ ले शल्यक्रिया, ७२५ जनाले नियमित गर्भजाँच सेवा लिएका छन् । आमा सुरक्षा कार्यक्रम अन्तरगत चालू आवको छ महिनामा करिब रु दुई करोड खर्च भएको छ । गत साउनदेखि पुस मसान्तसम्म कूल रु एक करोड ८८ लाख ९८ हजार १०० रकम खर्च हुँदा आठ हजार बढीले सेवा लिएका छन् ।

नर्सिङ अधिकृत अधिकारीका अनुसार आमा सुरक्षा कार्यक्रममार्फत कोहलपुर स्वास्थ्यचौकीबाट प्रोत्साहन भत्ताको रुपमा रु ५० हजार ८०० र शम्शेरगन्ज स्वास्थ्यचौकीमा रु एक लाख १८ हजार खर्च हुँदा निजी क्षेत्रबाट सञ्चालित शिक्षण अस्पताल कोहलपुरबाट रु एक करोड ८७ लाख २९ हजार ३०० प्रोत्साहन भत्ता खर्च भएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले निजी अस्पतालमा गुणस्तरीय सेवा मिल्छ भन्ने बुझाइले शिक्षण अस्पतालमा आकर्षण देखिएको हुनसक्ने बताए । उनले गाउँमै रहेका स्वास्थ्यचौकीबाट पनि निःशुल्क प्रसूति सेवा उपलब्ध हुने कुराको प्रचारप्रसार गर्दै गुणस्तरीय सेवा दिनतर्फ नगरपालिका अग्रसर रहेको जानकारी दिए ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलवार १०:५१