सूचनाको शक्ति - The Power Of Information

        

एक बर्ष बित्यो, कामदारले पाएनन् पारिश्रमिक

बझाङ । जिल्लाको दुर्गम साइपाल गाउँपालिका–३ मा निर्माण भएको थरौनी घाँटखोला लद्यु जलविद्युत आयोजना सम्पन्न भएको एक बर्ष बितिसक्दा पनि यहाँका कामदारहरुले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । दुई करोड १० लाख लागतमा सम्पन्न भएको ११ किलोवाट क्षमताको लद्यु जलविद्युत आयोजनामा उपभोक्ता समितीले रकम हिनामिना गरेको मजदुरहरुले आरोप लगाएका छन् ।

एक जना ब्यक्तिले झण्डै ७० देखि ८० दिनसम्म काम गरेको भए पनि झण्डै १०० बढी मजदुरहरुले रकम नपाएको गुनासो गरेका छन् । आफुले प्रतिदिन ५०० का दरले ७० दिन काम गरेको बताउदै कृष्ण बोहराले अहिलेसम्म एक रुपैयाँ पनि नपाएको बताए । ५५ दिन काम गरेका धनलाल बोहराले पनि करिब २७ हजार ५०० लिन बाँकी रहेको भए पनि हालसम्म आफुले एक रुपैयाँ नपाएको गुनासो गरे । उनीजस्तै धन विरे बोहराको झण्डै ३८ हजार रुपैयाँ लिन बाँकी छ ।

गाउँपालिकामा समेत आफुहरुले रकम नपाएको गुनासो गरेको भए पनि सरोकारवाला निकायले चासो नदिएको स्थानीयबासीको आरोप छ । दुई करोडभन्दा बढी रकम कहाँ कसरी खर्च गरियो भन्ने आफुहरुलाई कुनै जानकारी नगराएर रकम हिनामिना गरेको उनीहरुको आरोप छ । यहाँँका १०० बढी कामदारहरुले झण्डै ३० देखि ४० लाख रुपैयाँ रकम पाएका छैनन् । दिनरात भनेर काम गरेका उनीहरुलाई समितीका पदाधिकारीहरुले पारिश्रमिक दिने रकम नभएको भन्दै अल्मल्याउने गरेका स्थानीयले बताए ।

के कति रकम कहाँ खर्च भयो त्यसको हिसाबसमेत देखाउन नसकेको उनीहरुले बताएका छन् । यहाँका काया, काँडा, बाँझ चौका लगायका झण्डै १२० घर परिवारमा विद्युत पुगेको छ । प्रत्येक घर परिवारबाट दुई हजारका दरले चन्दा संकलन गरिएको झण्डै दुई लाख ३० हजार, तत्कालीन जिल्ला विकास समितिबाट पाँच लाख, काँडा गाविसबाट १२ लाख, पश्चिम उच्च पहाडी गरिबी निवारण कोषबाट पाँच लाख, प्रदेश सरकारबाट ४५ लाख र साइपाल गाउँपालिकाको एक करोड ४३ लाखको लागतमा विद्युत आयोजना निर्माण भएको हो ।

उपभोक्ता समितिका नाममा उल्टै झण्डै २८ लाख बेरुजु देखिएको छ । तर उपभोक्ता समितिका अध्यक्ष मानबहादुर बोहराले भने रकम अभाव भएकै कारण कामदारलाई पारिश्रमिक दिन नसकेको बताए । बेरुजु आएको बारे आफुलाई सामान्य जानकारी भए पनि के कति कारणले बेरुजु आएको हो भन्नेबारे आफु अन्योलमा रहेको उनको भनाई छ । उनले कामदारको रकम गाउँपालिकाले दिएपछि मात्रै पाउने बताउँदै उपभोक्ता समितिसँग रकम नभएको स्पष्ट पारे ।

स्थानीयबासीले आयोजनाको हिसाबकिताब समितिले देखाउन नसकेको आरोप लगाए पनि समितिका अध्यक्ष बोहराले भने सबै उपभोक्तामाझ हिसाबकिताब प्रष्ट राखेको र आवश्यक परे फेरी बैठक बसेर हिसाब देखाउन सक्ने दावी गरे । साइपाल गाउँपालिका–३ का वडाध्यक्ष जंगविर बोहराले भने समितीका पदाधिकारीहरुको नै ठुलो कमजोरी रहेको बताए । हालसम्म आफुले समितिका पदाधिकारीसँग पटकपटक यस विषयमा बस्न खोजे पनि उनीहरुले बस्न नमानेको उनको भनाई छ ।

अध्यक्ष आए सचिव नआउने र सचिव आए अध्यक्ष नआउने भएका कारण यहाँका स्थानीयले आयोजनामा काम गरेवापत पाउनुपर्ने पारिश्रमिक नभएपछि हिनामिना भएको आशंंका गर्न थालेको बोहराले बताए । उनले यस बारेमा सार्वजनीक सुनुवाईसमेत नगरेको बताए । उपभोक्ता समितिका सचिव सुरेन्द्र बोहराले भने रकम अभाव भएकै कारण मजदुरलाई पारिश्रमिक दिन नसकेको बताए । रकम हिनामिना भए वा गरेको भेटिएमा सजायको भोग्न तयार रहेको भन्दै उनले यस विषयमा गाउँपालिकाले चासो दिन आवश्यक रहेको बताए ।

अबको केही दिनभित्रै बैठक बसेर यसको निचोड निकाल्ने उनको भनाई छ । स्रोतका अनुसार रकम केही रुपमा हिनामिना भएको हुनसक्ने र विद्यूत निर्माण गर्दा रकम आभव भएको देखाउँदै समितिका पदाधिकारीले गाँउपालिकाबाट आवश्यकताभन्दा बढी रकम लिन खोज्दा समस्या आएको बताइएको छ । उपाभोक्ता समितिका अध्यक्ष बोहराले झण्डै २० लाख अपुग भएकोले मजदुरहरुलाई पारिश्रमिक दिन नसकिएको बताउँदै आएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार १०:०६