सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको सन्त्रास : भेरी अस्पतालका आधा दर्जन ‘आइसोलेसन वार्ड’ मापदण्ड वितरित

बाँके । भेरी अस्पतालमा स्थापना गरिएका आधा दर्जन आइसोलेसन वार्ड मापदण्ड विपरित छन् । यी वार्डमा आवश्यकता अनुसारको जनशक्ति र साधन स्रोतको अभाव छ । कोरोना भाइरस संक्रमित फेला परेपछि उनीहरूको स्वास्थ्य जाँच र उपचारका लागि उक्त आइसोलेसनमा प्रयाप्त सुविधा छैन ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश थापाले औपचारिकताका लागि मात्र आइसोलेसन वार्ड स्थापना गरिएको बताए । आइसोलेसन वार्डमा मापदण्ड अनुसार हुनुपर्ने कुनै पनि सुविधा नभएको उनले बताएका छन् । ‘शंकास्पद ब्यक्तिको ‘थ्रोड स्वाब’ लिन सक्ने अवस्थासमेत छैन,’ उनले भने ‘कोरोना भाइरसका शंकास्पद विरामीको थ्रोड स्वाब संकलन गर्ने ज्ञान चिकित्सक र प्राविधिकमा छैन ।’

बिरामीको थ्रोड स्वाब टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाउनुपर्ने प्रावधान रहेको मेसु थापाले बताए । उनले भने, ‘तर उक्त स्वाब पठाउनका लागि अस्पतालसँग साधन र दक्ष प्राविधिक छैनन् ।’ बिरामीको जाँच गर्ने बेला स्वास्थ्यकर्मी र चिकित्सकले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट समेत अभाव देखिएको उनले बताए । उनले भने, ‘रेस्क्यू गर्ने साधन पनि अस्पतालसँग छैन ।’

उनकाअनुसार बिरामी जाँच गर्ने बेला लगाउने ऐन ९५ मास्क पनि भेरी अस्पतालसँग छैन । यसले पनि बाँकेमा कोरोना संक्रमित भेटिएमा उनीहरूको अवस्था जोखिममा पर्ने निश्चित छ । सरकारले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आइसोलेसन स्थापना गर्ने गरेको छ । यहाँ अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुविधा दिनुपर्ने प्रावधान छ । मापदण्डअनुसार संक्रमित विरामीले प्रयोग गर्ने शौचालयसमेत अलग्गै हुनुपर्छ ।

तर, भेरी अस्पतालमा शौचालयको अवस्था दयनीय छ । मापदण्डअनुसार प्रत्येक आइसोलेशनमा स्पिकर जडान गर्नुका साथै तीन वटा वासिङ्ग मेशिन, तौलिया, चप्पल, साबुन, मञ्जन, ब्रस, माक्स, औषधि लगायतका दैनिक उपभोग्य सामाग्री प्रत्येक बेडमा व्यवस्थापन गरिनुपर्छ । एउटा कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीन वटा बेड रहने गरी कोठाको व्यवस्थापन गरिनुपर्ने प्रावधान छ ।

शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन आबश्यक हुने मापदण्डमा उल्लेख छ । तर, भेरी अस्पतालमा रहेका आइसोलेसन वार्डमा यी सबै मापदण्ड पुरा हुन सकेका छैनन् । मेसु थापाका अनुसार जनरल वार्ड भएकै भवनमा कामचलाउ आइसोलेशन वार्ड स्थापना गरिएको छ । सीमा जोडिएको उत्तर प्रदेशमा कोरोना भाइरसका संक्रमित फेला परेपछि यहाँ पनि कोरोना भाइरसको जोखिम बढेको छ ।

नेपालगन्ज नाका भएर दैनिक सरदर पाँच हजार मानिस नेपाल–भारत ओहोरदोहोर गर्दै आएका छन् । खुला सीमानाका कारण सहजै आवतजावत हुने भएकोले भारतबाट कोरोना भाइरस नेपालगन्जमा भित्रिन सक्ने सम्भावना प्रवल रहेको भेरी अस्पतालका कोरोना भाइरस फोकल पर्सनसमेत रहेका ग्याष्ट्रोलोजिष्ट फिजिसियन डा.संकेत रिसाल बताउँछन् । उनकाअनुसार नेपालगन्ज कोरोनो भाइरसको उच्च जोखिममा छ भन्न सकिने अवस्था देखिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार ०९:३९