सूचनाको शक्ति - The Power Of Information

        

ग्याँस अभावको हल्लापछि आयल निगमले भन्यो, ‘भ्रममा नपर्नुस्, अभाव हुँदैन’

कोरोना कहर

बाँके । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संन्त्रास फैलिएको छ । कोरोना भाइरसकै कारण विश्व अर्थतन्त्रसमेत प्रभावित बनेको छ । चीनको वुहानबाट फैलिएको भाइरसले दुई महिनामै विश्वलाई आतंकित बनाएको छ । यसलाई धेरैले कमाउने अवसरका रुपमा समेत लिएका छन् । कोरोना भाइरसको असर नेपालमा भने त्यति देखिएको छैन ।

सरकारले यसको नियन्त्रणका लागि तयारी थालिसकेको छ । तर, यहिबेला विभिन्न खाले भ्रम फैलाएर कमाउधन्दा चलाउनेहरुको पनि कमी छैन । अहिले नेपालगन्जमा पनि हल्लैहल्लाले धेरैलाई आतंकित बनाएको छ । पछिल्लो समयमा खाना पकाउने (एलपी) ग्यास अभाव हुनसक्ने भन्दै हल्ला फिजाँइएपछि कृत्रिम अभाव सिर्जना गर्ने व्यापारीहरु सल्बलाउन थालेका छन् ।

कोरोना भाइरसका कारण भारतीय सीमा नाका बन्द हुने र बजारमा ग्याँस अभाव हुने हल्ला फिजाएर ग्याँसको कृत्रिम अभाव सिर्जना गर्न खोजेपछि नेपाल आयल निगम इन्धन डिपो नेपालगन्जले इन्धन अभाव नहुने स्पष्ट पारेको छ । ‘सीमा नाका बन्द नै भइहाले पनि ग्याँस तथा पेट्रोलियम पदार्थको आयात रोकिदैन,’ इन्धन डिपो प्रमूख नवविनोद पोखरेलले भने ।

उनले उपभोक्तालाई कालोबजारी हुन नदिन खबरदारी गर्न आग्रह गर्दै कसैले कृत्रिम अभाव सिर्जना गर्न आयल निगम, स्थानीय प्रशासन र नजिकको प्रहरीसँग सम्पर्क गर्न पनि आग्रह गर्दै भने, ‘यस क्षेत्रमा ग्याँसको आपूर्ति पूर्णरुपमा सहज छ, हल्लाका पछि लागेर अनावश्यकरुपमा उपभोक्ताले ग्याँस भण्डारण गरेर राख्दा दुर्घटनाको जोखिम हुनसक्छ ।’

आयल निगमका अनुसार बाँकेमा रहेका तीन वटा ग्याँस उद्योगमा अहिले पनि झण्डै ६६२ मेट्रिकटन अर्थात् ४६ हजार ३४० सिलिण्डर ग्याँस भण्डारण गरिएको अवस्थामा रहेको छ । जसअनुसार भेरी ग्याँस उद्योगमा ५०० मेट्रिकटन (३५ हजार सिलिण्डर), मनकामना ग्याँस उद्योगसँग ९० मेट्रिकटन (६ हजार ३०० सिलिण्डर) र राप्ती ग्याँस उद्योगसँग ७२ मेट्रिकटन (५ हजार ४० सिलिण्डर) ग्याँस मौज्दात रहेको छ ।

भेरी ग्याँस उद्योगका प्रबन्ध निर्देशक सुनिल सिंन्हाले भने, ‘बजारमा ग्याँस अभाव भएको भनेर फिजाइएको हल्ला गलत हो । हामीसँग अहिले पनि पर्याप्त ग्याँस मोज्दात रहेको छ । हामीले उपभोक्ताको माग अनुसार आपूर्ति कटौती नगरेरै ग्याँस पठाइरहेका छौं । यही अवस्थामा ग्याँस आपूर्ति रोकिए पनि झण्डै २० दिनलाई हामी ग्याँस पुर्याउन सक्छौं ।’

अहिले दैनिक ८ हजार ७०० सिलिण्डर ग्यास बजारमा गइरहेको छ । भेरी ग्याँस उद्योगले ४ हजार ५००, मनकामना ग्याँस उद्योगले २ हजार २०० र राप्ती ग्याँस उद्योगले २ हजारको हाराहारीमा सिलिण्डर ग्याँस बजारमा पठाइरहेका छन् भने उद्योगमा ३७ हजार ६४० सिलिण्डर ग्याँस मौज्दात रहन्छ । भारतबाट नियमितरुपमा ग्याँस तथा पेट्रोलियम पदार्थ आयात भइरहेको छ ।

मनकामना ग्याँस उद्योगका व्यवस्थापक मधु भण्डारीले कोरोना संक्रमणका कारण ग्याँस अभाव नहुने बताए । उनले भने, ‘बजारमा अभावको गलत हल्ला चलाइएको छ । गलत हल्लाका पछाडी नलाग्न उपभोक्तालाई आग्रह गरिरहेका छौं ।’ हामीसँग पर्याप्त ग्याँस छ, हल्लाका पछाडि नलागौं ।’ उनले भारतबाट ग्याँस बुलेट नियमितरुपमा आइरहेको बताए ।

निगमले बजारमा खाना पकाउने ग्याँस सम्बन्धित डिपोबाट सहजै प्राप्त गर्न नसकेमा कुन कम्पनीको ग्यास कुन डिपोबाट उपलब्ध हुन नसकेको हो त्यसका बारेमा जानकारी गराउन पनि उपभोक्तलाई आग्रह गरिरहेको छ । निगमले कृत्रिम अभाव सिर्जना गर्ने डिपो र कम्पनी दुवैलाई कानूनी कारवाही गरी इजाजतसमेत खारेज गर्न सक्ने चेतावनी दिएको छ ।

बजारमा सहज ग्यास उपलब्ध नभएमा निगम व्यवसायीप्रति कडारुपमा प्रस्तुत हुने पनि निगमले जनाएको छ । निगमले मागअनुसारको आपूर्ति भए नभएको पनि अनुगमन गर्ने गरिरहेको इन्धन डिपो नेपालगन्जका प्रमूख पोखरेलले बताए । खाना पकाउने ग्याँस, डिजेल, पेट्रोल र मट्टितेल पनि बजारको मागभन्दा बढी मौज्दात रहेको निगमले जनाएको छ ।

आयल निगमका अनुसार नेपालगन्ज डिपोमा अहिले पनि तीन लाख ८८ हजार लिटर पेट्रोल, १९ लाख ९५ हजार लिटर डिजल र ९७ हजार लिटर मट्टितेल मौज्दात रहेको छ । कोरोना भाइसरका कारण आपूर्ति प्रभावित नहुने इन्धन डिपो प्रमुख नवविनोद पाखरेलले बताए । उनले भने, ‘उपभोक्ताहरु हल्ला सुनेर भ्रममा नपर्नुहोला, कुनै अभाव हुँदैन ।’

‘बजारमा ग्याँस तथा पेट्रोलियम पदार्थको आपूर्ति सहज नै रहेको छ,’ उनले भने, ‘कोरोना भाइरसका कारण नाका बन्द हुने हल्लाकै पछाडि लागेर ग्याँस व्यवसायीहरु ग्याँस स्टक नगर्न अनुरोध गरिरहेका छौं । त्यसो गरेको पाइएमा हामी कडारुपमा प्रस्तुत हुन्छौं ।’ ग्याँस तथा पेट्रोलियम पदार्थको आपूर्तिमा अहिलेसम्म कुनै प्रकारको कमी नआएको बताए । अहिले पनि नेपालगन्जमा मागभन्दा बढी नै आपूर्ति भइरहेको उनको भनाई छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतवार १६:५०