सूचनाको शक्ति - The Power Of Information

        

कोरोना भाइरसको सन्त्रास : नेपालगन्जमा माक्स र स्यानीटाइजर अभाव

बाँके । विश्वब्यापी कोरोना भाइरसको सन्त्रास बढेसँगै नेपालगन्जमा मास्क र स्यानिटाइजर पाउन छाडेको छ । बाँकेको नेपालगन्जमा केही सातादेखि माक्स र स्यानीटाइजर सहजै पाउन छाडेको हो । कोराना भाइसरले नेपाल पनि उच्च जोखिममा रहेको चर्चासँगै यहाँका माक्स र स्यानीटाइरजमा समेत कालोबजारी हुन थालेको हो ।

व्यवसायीले माक्स र स्यानिटाइजरलाई लुकाएर कृतिम अभाव सिर्जना गरेपछि सर्वसाधरणले सहजै पाउन सकेका छैनन् । माक्स र स्यानीटाईजरको खोजीमा पसल धाइरहेकी नेपालगन्ज–१२ कोरियनपुरकी श्वेता श्रेष्ठले भनिन्, ‘सदरलाइनदेखि भेरी अस्पतालसम्म, डिर्पाटमेन्टदेखि भाटभटेनीसम्म धाएँ तर, पनि डिस्पोजल (मेडिकल) मास्क र स्यानीटाइजर पाइएन ।’

नेपालगन्ज बजारभरि धाएर पनि मास्क र स्यानीटाइजर नपाएकी श्रेष्ठले आक्रोसित हुँदै भनिन्, ‘मास्क र स्यानीटाइजर सहजै पाउन सकिरहेका छैनौं यस्तो अवस्थामा सरकार के गरिरहेकोछ ? हामीले कहाँबाट पाउने ?’ अझ पछिल्लो समय नेपाल–भारत सीमा नाका बन्द हुने हल्ला चलेसगैं नेपालगन्ज बजारमा माक्स र स्यानीटाइजरको कालोबजारी भइरहेको छ ।

उपभोक्ताले सहजै पाउन सकिरहेका छैनन् भने बजार अनुगमन गर्ने स्थानीय प्रशासन मौन बसिरहेको छ । विश्वव्यापी आपतकाल घोषणा भएसँगै बजारमा छोटो समयमा मोटो रकम कमाउन कालोबजारी गर्ने ब्यापारी र दलाललाई कारबाही गर्नुपर्ने भाटभटेनी स्टोरमा भेटिएकी सुस्मिता थापाले बताइन् ।

उनले बजारको प्रभावकारी अनुगमन गर्न माग गर्दै भनिन्, ‘यस्तो जोखिम अवस्थामा माक्स र स्यानीटाइजर कसले दिन्छ ?’ भेरी अस्पताल प्राङ्गणमा रहेको साझा औषधी पसलमा माक्सको खोजी गर्दै पुगेका नेपालगन्ज–६ फुल्टेक्राका दिनश गुप्ताले अस्पतालमै माक्स नपाउनु विडम्बना भएको बताए ।

उनले आपतकालिन अवस्थामा अत्यावश्यक वस्तुमा सर्वसाधरणको सहज पहुँच हुनसक्नु सरकारको लापरबाही भएको बताए । यतिबेला कोरोना भाइरसको जोखिमलाई लिएर मानिसहरु सबै त्रासमा छन् । कोरोना भाइरसको त्रासले दुई रुपैयाँमा पाइने माक्सलाई ५० रुपैयाँ तिर्न बाध्य छन् । तर, सर्वसाधारणले पछिल्लो एक हप्तादेखि माक्स र स्यानीटाइजर सहजै पाउन सकेका छैनन् ।

कोरोनाको सम्भावित जोखिमबाट बच्ने भनेकै स्वास्थ्य सतर्कता अपनाउने हो । डिटोलजस्ता साबुन पानीले हात धुने, मास्कदेखि ग्लोब्स लगाउनेसम्मका पूर्व सतर्कता अपनाउने हो । तर, बजारमा यतिबेला यी तीनवटै सामाग्रीको कृत्रिम अभाव सिर्जना गरिएको छ । जहाँ पाइएको छ, त्यो पनि महङ्गो मूल्यमा खरिद बिक्री भइरहेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

स्वास्थ्य संस्थामा यस्ता सामाग्रीको अभाव सिर्जना हुन थालेको छ । यसको प्रभावले नेपागन्जको बजारमा माक्स र स्यानीटाइजरको कालोबजारी बढेको स्वयं व्यवसायीहरुले नै बताउँदै आएका छन् । कोराना भाइरसको प्रकोपबाट बच्न माक्सको प्रयोग बढेसँगै बजारमा माक्स र स्यानीटाइजर पाउन छोडेको नेपालगन्जका व्यवसायी सुरज शाहले बताए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतवार १३:५२