सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा चम्किँदै भाटभटेनी, १५ दिनमा १० करोड कारोबार

बाँके । भाटभटेनी सुपर मार्केट नेपालगन्जले सञ्चालनको १५ दिनमा रु.१० करोडको कारोबार गरेको छ । यो अवधीमा १० लाख उपभोक्ताले भाटभटेनीबाट विविध सामान खरिद गरेका छन् । यो मार्केट शुरू भएको १५ दिनमा तेस्रो दिनसम्म भाटभटेनीले रु.चार करोड बढी कारोबार गरेको थियो । त्यसयताका १२ दिनमा करिब रु.६ करोडको कारोबार गरेको भाटभटेनी नेपालगन्जका व्यवस्थापक विनोद भट्टराईले बताए ।

नेपालगन्जमा फागुन १६ देखि भाटभटेनीले कारोबार शुरू गरेको थियो । यहाँ नेपालगन्ज उपमहानगरपालिका क्षेत्रबाट मात्रै नभई बाँके जिल्लाका साथै दाङ, सुर्खेत, दैलेख, टीकापुर, लम्की, बर्दिया धनगढीका साथै भारतको बहराईच र लखनउबाट समेत उपभोक्ता सामान खरिद र अवलोकनका लागि आएको व्यवस्थापक भट्टराईले बताए । भाटभटेनीमा दैनिक हजारौं उपभोक्ता खरिद तथा अवलोकनका लागि आउने गरेका छन् ।

तर, नेपालगन्ज बजार भने सुनसान देखिन थालेको छ । भाटभटेनीले दैनिक करोडको कारोबार गरिरहँदा नेपालगन्जका व्यवसायी हाई काट्दै बसेका छन् । १५ दिनमा खरिदसँगै अवलोकन मात्रै गर्नेको संख्या १० लाखबढी रहेको भाटभटेनीको रजिष्ट्रशनले देखाएको छ । जबकी राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालगन्ज उपमहानगरपालिकाको जनसंख्या एक लाख ३८ हजार ९५१ भएको उपमहानगरपालिकाले छ ।

भाटभटेनीले रुपैडिहा र नेपालगन्ज बजारको भन्दा सस्तो मूल्यमा सामान बिक्री गरेको छ । यसले पनि घरायसी सामान खरिद गर्नका लागि रूपैडिहा जाने नेपाली उपभोक्ताको आर्कषण भाटभटेनीमा बढेको उपभोक्ता स्मृति डिसी बताउँछिन् । नेपालगन्जमा भाटभटेनी सञ्चालनमा आएपछि सोचेँभन्दा राम्रो कारोबार भएको र यस क्षेत्रका उपभोक्ता औधी रूचाइदिएको व्यवस्थापक भट्टराईले बताए ।

उनकाअनुसार भारतको लखनउमा कोरोना भाइरसको हल्लासँग नेपालगन्जको भाटभटेनीले अझै सस्तो दरमा बस्तु तथा सामान उपभोक्तालाई बिक्री गर्ने तयारी गरेको छ । सबै किसिमका सामानको खरिदमा दिइएको १० प्रतिशत छुट र इलेक्ट्रिक सामान दिइएको २० प्रतिशत छुट यथावत रहेको छ । ग्राहकको मागलाई ध्यानमा राखेर उपलब्ध सो छुट सेवा अर्को सूचना नआउँदासम्मका लागि यथावत रहेको स्टोरका व्यवस्थापक भट्टराईले बताए ।

भाटभटेनीले नेपालगन्जमा कारोबार शुरू गरेपछि यतिबेला यहाँका साना, मझौला तथा ठूला व्यवसायी संकटमा परेका छन् । सीमा बजार रुपैडिहाको सस्तो मूल्यका कारण विगतदेखि संकट भोगिरहेका यहाँका व्यवसायीहरु थप संकटमा परेका हुन् । नेपालगन्जको नयाँ सडक, त्रिभुवन चोक, सदरलाइन, घरबारी टोल, सुर्खेतरोड क्षेत्रका व्यवसायीहरुको दैनिकी अहिले पट्यारलाग्दो बनेको छ ।

स्थानीय र रुपैडिहाको मूल्यभन्दा सस्तोमा भाटभटेनीले बजारीकरण शुरू गरेपछि नेपालगन्जका व्यवसायी घाम ताप्नुको विकल्प नभएको व्यवसायी बताउँछन् । ‘अहिलेको जस्तो व्यापारमा मन्दी आफूले कहिल्यै भोग्नु परेन,’ नेपालगन्ज नयाँ सडकका व्यवसायी रमेश श्रेष्ठले भने, ‘अहिले गर्मी सिजनको फेसनयुक्त कपडाको उच्च व्यापार हुने मौसम हो, तर बजार सुनसान छ । दिन कटाउनै कठिन भइरहेको छ ।’

बजारमा आएको शून्यताले पसलमा काम गर्ने कर्मचारीको तलब र भाडा तिर्नसमेत कठिन हुने गरेको व्यवसायी बताउँछन् । ‘रुपैडिहाका कारण संकट त पहिलेदेखि थियो तर, अहिले भाटभटेनीले झनै संकट थप्यो,’ व्यवसायी हरी गुरागाई भन्छन्, ‘अहिले यहाँको व्यवसायमा तत्कालिन माओवादी द्वन्द्वपछिको भयानक गिरावटको अवस्था छ ।’ व्यवसाय चौपट भएपछि ऋण तिर्न नसक्दा बैंकले नाम लिलामीमा निकाल्ने अवस्था आएको व्यवसायीहरुको गुनासो छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओलीले यहाँका व्यवसायीको भाटभटेनीसँग प्रतिस्पर्धा नभएको दाबी गरे । उनले भने, ‘यहाँका व्यवसायीलाई भाटभटेनीभन्दा पनि रुपैडिहा दशकौंदेखिकै समस्या हो ।’ भाटभटेनी सञ्चानलमा आएसँगै सीमावर्ती बजारमा खरिद गर्न जाने क्रममा केही ब्रेक लागेको छ । ‘हामीले गुणस्तरीय सामान दिएकाले भारतीय उपभोक्ता यहाँ आउनुहुन्छ,’ व्यवस्थापक भट्टराईले भने ।

भाटभटेनीजस्तो स्टोर लखनउ सहरमा पनि नभएको शनिबार भाटभटेनी अवलोकनका लागि बहराइच जिल्लाको छाउनीबाट आएका एक भारतीय उपभोक्ता शिवम् गुप्ता बताउँछन् । आवश्यक विभिन्न प्रकृतिका दैनिक उपभोग्य वस्तु, फलफुल, तरकारी, बिद्युतिय सामान, तयारी पोसाक, जुत्ता, किचनवेयर लगायत बिभिन्न सामानहरू एकै स्थानमा र छनोट गर्ने अवसर अधिक भएकाले त्यहाँ उपभोक्ताको भीड लाग्ने गरेको उपभोक्ताहरुको भनाई छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतवार ०७:२८