बाँके । निर्वाचन भएको महिना दिन बितिसक्दा पनि नेपाल प्रेस युनियन बाँके शाखाको पदभार ग्रहण हुन नसकेपछि निर्वाचित नयाँ कार्यसमिति जिम्मेवारीविहीन बनेको छ । निर्वाचन सकिएपछि निर्वाचन समितिले पदभार ग्रहणसँगै प्रमाणपत्र र सपथ नगराएपछि कानुनीरुपमा नयाँ कार्यसमिति जिम्मेवारीविहीन बनेको हो ।
नेपाल प्रेस युनियन बाँके शाखाको यही फागुन २ गते सम्पन्न जिल्ला अधिवेशनले तत्कालिन सचिव अर्जुन ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । तर, ओली नेतृत्वको नयाँ कार्यसमितिले अहिलेसम्म बैधानिकता पाएको छैन । पूर्वअध्यक्षले पदभार ग्रहण गराउन चासो नदेखाएपछि नयाँ कार्यसमितिले बैधानिकता पाउन नसकेको निर्वाचित अध्यक्ष ओलीले बताए ।
उनकाअनुसार निर्वाचित भए पनि अहिलेको समितिलाई हात बाँधेर राखिएको छ । उनले भने, ‘पदभार नहुँदा नयाँ कार्यसमितिले गर्नुपर्ने कामहरु गर्न सकिएको छैन । पूर्वअध्यक्षको व्यवस्तता पनि हुनसक्छ । पदभार ग्रहण नहुँदा नयाँ कार्यसमिति अन्योलमा परेको छ ।’ आफूहरुले पदभार समेत नगरेकोले भिजन टेलिभिजनमा देखिएको समस्याका बारे तत्कालै आधिकारीकरुपमा केही बोल्न नमिल्ने नवनिर्वाचित अध्यक्ष ओलीले बताए ।
मिडिया हाउसमा कार्यरत पत्रकारले पारिश्रमिक पाउनुपर्ने बताउँदै उनले यसतर्फ युनियन पनि गम्भीर भएको बताए । निर्वाचन भएको महिना दिन बितेपनि आफू जिल्ला बाहिर रहेको कारण नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गर्न नसकेको प्रेस युनियनका निवर्तमान अध्यक्ष जयनारायण शाहले बताए । उनकाअनुसार नयाँ समितिले कामकाज शुरु गरिसकेको छ । उनले थपे ‘केवल औपचारिकता दिनमात्रै बाँकी हो ।’
अधिवेशनका क्रममा सचिवमा पराजित बनेका प्रियास्मृति ढकालले प्रेस युनियनको निर्वाचनपछि नयाँ कार्यसमितिलाई पदभार ग्रहण नहुनु गम्भीर विषय हो । उनले पुरानो र नयाँ कार्यसमितिले भिजन टेलिभिजनमा देखिएको यस्तो संवेदनशील विषयमा प्रेस युनियन मौन बन्न नहुने बताए । ‘यस्ता विषयमा पत्रकारकै संस्था बोल्न नसक्नु अचम्मको विषय हो ।’
सत्यपाटी ।