सूचनाको शक्ति - The Power Of Information

        

भिजनमै ठगिए पत्रकार, तलब दिन महासंघ र मिडिया नेपालको चेतावनी

बाँके । भिजन सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित भिजन टेलिभिजनमा कार्यरत पत्रकारहरु लामो समयदेखि पारिश्रमिक नपाएर ठगिएका छन् । संस्थाद्वारा सञ्चालित टेलिभिजनमा काम गरेका पत्रकारहरुलाई पारिश्रमिक वापतको रकम नदिएर श्रमशोषण गरिएको छ । पत्रकारले नै पारिश्रमिक नपाएर ठगिएपछि पारिश्रमिक उपलब्ध गराइदिन पीडित पत्रकारहरुले माग गरेका छन् ।

भिजन टेलिभिजनमा तत्कालिन समयमा कार्यरत पत्रकार भगतराम थारु, रविन्द्र सिंह ठकुरी लगायतले पारीश्रमिक नपाएको भन्दै पारिश्रमिक उपलब्ध गराइदिन आग्रह गरिरहँदा पत्रकार सम्वद्ध दुई ठुला संगठनले चासो देखाएका छैनन् । प्रेस संगठन नेपाल र नेपाल प्रेस युनियन भने मौन देखिएका छन् भने नेपाल पत्रकार महासंघ र मिडिया नेपालले भने आफ्नो धारणा सार्वजनीक गर्दै श्रमजीवि पत्रकारहरुले पाउनुपर्ने पारिश्रमिक तत्काल दिन माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष तथा पारिश्रमिक कार्यान्वयन समितिका संयोजक प्रदीप वाग्लेद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ, ‘पीडित पत्रकारहरुले नेपाल पत्रकार महासंघ बाँके शाखामा उजुरी दिएको र सो बिषयमा टेलिभिजनका अध्यक्ष डा.सुरेशकुमार कनोडियालाई महासंघको टोलीले भेटेरै अवगत गराउनुका साथै टेलिभिजनका प्रबन्ध निर्देशक श्रीराम सिग्देलसँग पटकपटक भेटेर तथा टेलिफोनमा जानकारी गराउँदासमेत पीडित सञ्चारकर्मीले पारिश्रमिक उपलब्ध गराउनतर्फ कुनै पहल नगरेको भन्दै यसप्रति महांसघ बाँके गम्भीर भएको छ ।’

नेपाल पत्रकार महासंघ बाँकेले टेलिभिजन व्यवस्थापनलाई सात दिनभित्र पारिश्रमिक उपलब्ध गराउन माग गर्दै श्रमजीवि पत्रकारले पारिश्रमिक नपाए उक्त संस्थाविरुद्ध आन्दोलन गर्नुको विकल्प नभएको जनाइएको छ । टेलिभिजनमा कार्यरत श्रमजीवि पत्रकारहरुले लामो समयदेखि तलब नपाएको घटनाप्रति मिडिया नेपाल बाँके शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल पारिश्रमिक नदिए कडा आन्दोलनको चेतावनी दिएको छ ।

श्रमजीवि पत्रकारहरुलाई तत्काल पारिश्रमिक उपलब्ध गराउन माग गर्दै मिडिया नेपालका बाँके संयोजक काशीराम शर्माद्वारा शुक्रबार जारी विज्ञप्तीमा भनिएको छ, ‘भिजन टेलिभिजनमा कार्यरत पत्रकार भगतराम थारु, रबिन्द्रसिंह ठकुरी लगायतले पाउनुपर्ने पारिश्रमिक सञ्चालक संस्थाले लामो समयदेखि नदिनुले श्रमजीवि पत्रकारहरुप्रति गरिएको निक्रिष्ट, अमानवीय र श्रमजीवी पत्रकार ऐन, २०५१ (पहिलो संशोधन २०६४)को कार्यान्वयनलाई चुनौति दिएको हाम्रो ठहर छ ।’

‘भिजन टेलिभिजनमा लामो समयसम्म काम गराएर कानूनले तोकेअनुसारको सेवा, सुविधा र शर्तको पालना नगर्नु र कार्यरत पत्रकारहरुले पाउनुपर्ने पारिश्रमिक नदिएर टेलिभिजन बन्द गरेर श्रमजीवी पत्रकार ऐनकै खिल्ली उडाएको छ,’ विज्ञप्तीमा भनिएको छ । मिडिया नेपालले लामो समयदेखि पारिश्रमिक नपाएका पत्रकारहरुको पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गर्दै यसप्रति गम्भीर नभएमासशक्त र कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।

पीडित पत्रकारले नेपाल पत्रकार महासंघ बाँके, श्रम कार्यालय लगायत विभिन्न संघसंगठनमा उजुरी दिएको समेत जनाएका छन् । पारिश्रमिक नपाएका पीडित पत्रकार रविन्द्र सिंह ठकुरीले आफूले चार महिनाको तलब नपाएको बताएका छन् । ‘पटक–पटक ताकेता गर्दा झुट्टा आश्वासनमात्र पाइयो ।’ उनले अगाडी थपे, ‘कुरा चिप्ला गर्ने, आफैंआफै पैसा उठाउँदै लिन्छन् । मसंग मेरो सबै हाजिरी रकेर्ड छ, काम गराएर पैसा नदिने ?’

अर्का पीडित पत्रकार भगतराम थारुले १६ महिनाको तलव नपाएको बताएका छन् । ‘एक दुई महिनाको मात्र भए पनि छाडिदिन्थे, १६ महिनाको तलब कसरी छाड्नु ?’ उनले भने, ‘म प्रेस संगठन, नेपाल प्रेस युनियन, मिडिया नेपाल सम्बद्ध सवै पत्रकारका संघ सगठनसंग अपील गरेको छु, हामीले पाउनुपर्ने पारिश्रमिक उपलब्ध गराउन सहयोग गर्नुहोस् । आफूले पाउनुपर्ने रकम नपाए कानूनी लडाई लडेरै भए पनि तलब लिएर छाड्छौं ।’

यसैबीच भिजन सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित भिजन टेलिभिजनका प्रबन्ध निर्देशक श्रीराम सिग्देलसँग पत्रकारले पारीश्रमिक नपाएको विषयमा बुझ्दा उनले आधिकारिक धारणा दिन चाहेनन्, तर, अनौपचारिकरुपमा काम गरेकाको पारिश्रमिक नरोकिएको बताए । प्रबन्ध निर्देशक सिग्देलले भने, ‘अहिले उठीरहेको विषयमा हामी प्रष्ट छौं, मिडिया हाउसमा यस्ता खाले समस्या भइरहन्छन् एकपक्षिय ढंगबाट मात्र कुरा बुझ्दा समस्या आएको हो ।’

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार १३:४७