बाँके । नेपालगन्जदेखि १९० किलोमिटर टाढा कोरोना भाइरसको सक्रंमण भेटिएको छ । छिमेकी देश भारतको लखनउमा कोरोना भाइरस संक्रमण भेटिएको हो । नेपालसँग सीमाना जोडिएको भारतको उत्तर प्रदेशको लखनउमा एक जना महिला डाक्टरलाई कोरोना भाइरसको संक्रमण देखिएपछि सीमावर्ती क्षेत्रमा स्वास्थ्य चेकजाँच कडाई गरिएको छ ।
नेपालगन्जदेखि करिब १९० किलोमिटर दूरीमा रहेको भारतको लखनउमा महिला डाक्टरलाई कोरोना भाइरसका लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । क्यानाडाबाट लखनउ आएकी ती महिला डाक्टरलाई कोरोना भाइरस संक्रमण भएको हो । यद्यपी महिला डाक्टरको परिचय गोप्य राखिएको स्थानीय अनलाइन अमर उजालाले उल्लेख गरेको छ ।
कोरोनाको लक्षण देखिएपछि क्यानाडाकी ती महिला डाक्टरलाई लखनउको किङ जर्ज मेडिकल युनिभर्सिटी (केजीएमयु) मा भर्ना गरिएको छ । उक्त मेडिकल युनिभर्सिटीको आईसीयू कक्षमा राखेर ती महिलाको उपचार भइरहेको छ भने अर्कातिर डाक्टरका नातेदार र साथीहरुलाई पनि निगरामी राखिएको बताइएको छ ।
उपचारमा जुटेका स्वास्थ्यकर्मीहरुलाई पनि उच्च सतर्कता अपनाउन भनिएको छ । क्यानाडाको टोरन्टो शहरमा बस्दै आएकी महिला डाक्टर आइतवार उत्तरप्रदेशको राजधानी लखनउ आएकी थिइन् । मंगलवार उनलाई उच्च ज्वरो आएको थियो । बुधवार उनी अस्पताल पुगेकी थिइन् । समाचार अनुसार बुधबार राती आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको थियो ।
त्यसपछि उनलाई उच्च निगरानीमा राखेर उपचार भइरहेको छ । तर, उत्तर प्रदेश सरकारले यसबारेमा औपचारिक रुपमा बताउन इन्कार गरिरहेको अमर उजालाले जनाएको छ । केजीएमयु प्रशासनले पनि यसबारे मुख खोल्न मानेको छैन । लखउनका स्वास्थ्य विभागका संयुक्त निर्देशक डाक्टर विकासन्दु अग्रवालले बिरामीको बारेमा विवरण संकलन भइरहेको बताएका छन् ।
यता, बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सीमा नाकामा बिहीबारबाट कडाईका साथ चेकजाँच थालिएको छ । नेपाल–भारत दुवै देशका स्वास्थ्यकर्मीहरुले कोरोनाको संक्रमण फैलन सक्ने भन्दै अन्य दिनभन्दा बढि सक्रियता देखाएका छन् । नेपालगन्जदेखि भारतको लखनउमा पुग्न बढीमा साढे चार घण्टा लाग्छ । भारतले आगामी अप्रिल १५ तारिखसम्मका लागि सबै देशको भिसासमेत रद्द गरेको छ ।
कोरोना भाइरसको संक्रमण रोक्न भारतले बुधबार यस्तो निर्णय गरेपछि नेपाल–भारत सीमा बन्दको हल्ला फैलिएको छ । कोरोना भाइरसका नेपाल–भारत सीमा एक महिनाका लागि बन्द हुने भन्दै चर्चा चुलिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपाल–भारत सीमानाका बन्द नभएको स्पष्ट पारेको छ । कोरोना भाइरसका कारण भारतले नेपाल–भारत सीमानाका बन्द गरेको हल्ला फैलिएपछि बाँके प्रशासनले यस्तो प्रतिक्रिया दिएको हो ।
तेस्रो मुलुकका पर्यटकलाई प्रवेशमा प्रतिबन्ध लगाएको जानकारीमा आएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । उनका अनुसार नेपालीलाई नभई भारतले तेस्रो मुलुकबाट आउने पर्यटकको भिसा रद्द गरेको स्पष्ट पार्दै सीमा नाका बन्द हुने हल्ला मात्र हो । नेपाल–भारत नाका शील गर्ने भारतको आधिकारिक निर्णय अहिलेसम्म नआएको बताउँदै उनले हल्लाको पछि नलाग्न आग्रह गरे ।
भारतको यस्तो निर्णयले नेपाल–भारत सीमानाका पनि बन्द हुने आशंका गरिएको छ । अहिलेसम्म तेस्रो मुलुकका पर्यटकको भिसा भारतले रद्द गरेको जानकारीमा आएको उनको भनाई छ । नेपालको बाँके जिल्लासँग नजिक रहेको भारतको लखनउमा भेटिएको कोरोना भाइरसको संक्रमणको घटनाले नेपालगन्जबासीमा थप त्रास बढेको छ ।
सत्यपाटी ।