सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको कहर : सरकारको तयारी ‘लक डाउन’

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण फेला परे लक डाउन गर्ने सरकारले तयारी गरेको छर देशको कुनै क्षेत्रमा कोरोना भाइरस (कोभिड —१९) को संक्रमण देखिएमा सरकारले सो क्षेत्रलाई ‘लक डाउन’ गर्ने बताएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले कुनै क्षेत्रमा संक्रमण देखिए अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द गर्ने र लक डाउने गर्ने योजना सरकारले बनाएको बताए ।

निश्चित समूदाय, वस्ती, बासस्थान गाउँ टोल, वडा, पालिका जिल्ला र प्रदेशसमेतलाई पकेट एरिया घोषणा गर्न सकिने सरकारले जनाएको छ । यसैगरी महामारी अवधिभरी अत्यावश्यक सामग्रीबाहेक अन्य वस्तुको आयात निर्यात पनि बन्द गर्ने र स्थलगत आवागमनका अन्तर्राष्ट्रिय नाका बन्द गर्ने योजना सरकारले बनाएको छ ।

उनले भने, ‘अत्यावश्यक बाहेक अन्य सामग्री आयात बन्द गर्नेदेखि लिएर पकेट एरिया लक डउने गर्ने, विभिन्न उपकरण र जनशक्ति एकत्रित गरेर परिचालन गर्ने व्यवस्था मिलाइएको छ । आवश्यक परेमा फिल्ड र मोबाइल अस्पताल परिचालन गर्ने गरी सहकार्य भइरहेको छ ।’

कोरोना संक्रमण विकसित भएअनुसारको व्यवस्थापन गर्ने गरी सरकारले तयारी गरेको पनि प्रवक्ता देवकोटाले बताए । देशका विभिन्न ४३ वटा सीमा नाकामा स्वास्थ्यकर्मीहरुसहितको टोली परिचालन गरिएको छ । प्रवक्ता देवकोटाका अनुसार स्थानीय तहहरुले पनि स्वास्थ्यकर्मी परिचालन गरेको सतर्कता अपनाएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार नेपालमा अहिलेसम्म ४५० को परीक्षण गरिएकोमा एकजनामा बाहेक कुनैमा संक्रमण नदेखिएको बताए । संक्रमित देशबाट आउनेहरुले कोरोना फ्रि सर्टिफिकेट अनिवार्य ल्याउनुपर्ने, नेपालीहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए । उनले टेकु अस्पतालमा ४ र पाटन अस्पतालमा २ जना गरी ६ जना आइसोलेसनमा रहेको बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार २०:०८