सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा फेरि सडक दुर्घटना, एकको मृत्यु, तीन जना गम्भीर घाइते

बाँके । कोहलपुरमा दैनिकजसो सडक दुर्घटना बढ्दै गएको छ । बुधबार मात्रै कोहलपुरको पिपिरीमा भएको सडक दुर्घटनामा एक जना महिलाको मृत्यु भयो । दिनभर तनावग्रस्त बनेको पिपिरी क्षेत्रको अवस्था सामान्य हुँदै गर्दा कोहलपुर चौराहामा एकाविहानै आज फेरी अर्को भयानक सडक दुर्घटना भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै कोहलपुर चौराहामा भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । भे१ख २१२९ नम्बरको माइक्रो बस र अटोरिक्सा एकापसमा ठोक्किँदा अटोरिक्सा चालक बैजनाथ गाउँपालिका–२ मकैबारीका जयबहादुर रोकाको ज्यान गएको छ ।

भे१ह १६५३ नम्बरको अटोरिक्सामा सवार बैजनाथ गाउँपालिका–१ चिसापानीका सुजन शाही, जुम्लाको तिला गाउँपालिका–५ का मदन शाही र परिचय नखुलेका अर्का एक जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । बसमा सवार यात्रुहरु भने सामान्य घाइते भएका छन् । घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

दुर्घटनामा अटो पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । बाँकेमा चालु आर्थिक बर्षको साउनयता सडक दुर्घटनामा परी ४६ जनाको मृत्यु भएको छ । कोहलपुर नेपालगन्ज सडक खण्डमा साउनयता १६ जना नागरिकको दुर्घटनाकै कारण मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार ०९:४६