सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको कहर : विश्वव्यापी महामारी घोषणा

काठमाडौं । विश्व राजनीतिक केन्द्रको केन्द्रबिन्दूमा रहेको अमेरिका अनि युरोपलाई कोरोनो भाइरसको महामारीले लपेटेपछि र यो विश्वका अन्य देशहरु तीब्ररुपमा फैलिन क्रम बढेपछि अन्ततः विश्व स्वास्थ्य संगठनले यसलाई विश्व महामारी अर्थात् पानाडेमिक घोषित गरेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेद्रोस अधानोम घेब्रेसियसले भनेका छन्, ‘हामीले प्रत्येक दिन विश्वका मुलुकहरुलाई आकस्मिक र आक्रमक नीति लिन आव्हान गर्दै आएका छौं । हामीले ठूलो र प्रष्ट स्वरमा खतराको घण्टी बजाउँदै आएका नै हौं ।’ उनका अनुसार ‘यो नै कोरोना भाइरसका कारण सिर्जना भएको पहिलो विश्व महामारी’ हो ।

स्मरणीय रहोस्, यसअघि २००३ तिर देखापरेको सार्सको संक्रमण पनि कोरोना भाइरसकै अर्को प्रजातिका कारण फैलिएको थियो । तर त्यसले त्यतिबेला विश्व महामारीको रुप भने लिन पाएको थिएन । युरोपियन युनियनका नेताहरुले कोरोना भाइरसको कहरलाई रोक्नको लागि गर्नुपर्ने आवश्यक कुराहरु सबै गर्ने कुरा बताउँदै आएका छन् ।

यो भाइरसको महामारी चीनमा शुरु हुँदा शुरुवाती कालमा उदासीन रहँदै आएको र चीनलाई आरोपको वर्षा गर्दै आएको विश्व शक्तिकेन्द्रका अग्रणी अमेरिका नै यतिखेर यसको महामारीको चपेटामा नराम्ररी परेको छ । त्यसबाहेक यसको महामारीले युरोपका थुप्र्रै देशहरुलाई आफ्नो चपेटामा लिइसकेको छ भने यो बोलिभिया, टर्की जस्ता नयाँ नयाँ देशहरुमा पनि देखा पर्दै गइरहेको छ ।

त्यसबाहेक, यसै भाइरसको कारण इण्डोनेशिया, स्वीडेनमा मासिनहरु मर्न थालेको नयाँ नयाँ खबरहरु पनि आइरहेका छन् । यसअघि जेनेभामा बोल्दै विश्व स्वास्थ्य संगठनका प्रमुख घेब्रेसियसले भनेका थिए, ‘हामी अति तीब्ररुपमा बढदै गएको कोरोना भाइरस संक्रमणको विस्तार र यसको जटीलता र साथसाथै यसप्रतिको खतरनाक किसिमको उदासिताले गहिरो रुपमा चिन्तित छौं । यसकारण हामीले कोभिड–१९ लाई विश्व महामारीको रुपमा लिन सकिने आँकलन गरेका छौं ।’

वितेका दुई हप्तामा कोभिड १९ संक्रमणका केसहरु यसको उत्पत्ति थलो चीनभन्दा बाहिर १३ गुणाले बढेको छ र यसबाट प्रभावित हुने देशहरुको संख्या पनि तेब्बर बढेको छ । यो त्यस्तो खतरनाक स्थितिको संकेत हो, जसले अन्ततः विश्व स्वास्थ्य संगठनलाई कोरोनाभाइरसको संक्रमणलाई विश्व महामारी घोषित गर्न बाध्य बनायो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार ०७:०९