सूचनाको शक्ति - The Power Of Information

        

१५ सय पक्राउ, दुई जना मारिए

‘विप्लव’माथि प्रतिबन्धको एक वर्ष

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको बुधबार एक वर्ष पूरा भएको छ । विप्लवका गतिविधीहरु आपराधिक बन्दै गएको भन्दै सरकारले २०७५ साल फागुन २८ गते विप्लव नेतृत्वको समूहलाई प्रतिबन्ध लगाएको थियो । आफूमाथि सरकारले प्रतिबन्ध लगाएको एक वर्ष पूरा भएको दिन बिहानै विप्लव समूहले पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरको कम्पाउन्डमा शक्तिशाली विस्फोट गराएको छ ।

अनुमान गरिए बमोजिम, घटनाको जिम्मेवारी विप्लव समूहले लिएको छ । सेक्युरिटी प्रिन्टर खरिद प्रक्रियामा कमिसनको मोलतोल गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि राजीनामा दिएका मन्त्री गोकुल बाँस्कोटा लक्षित आक्रमण हुन सक्ने सूचना प्रहरीले त्यतिबेलै पाएको थियो जतिबेला उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । स्रोतका अनुसार बास्कोटा प्रकरणलगत्तै प्रहरीको प्रति आतङ्कवाद हेर्ने विषेश ब्यूरोले सबै प्रहरी यूनिटलाई उनीविरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रमण गर्न सक्ने लिखित सर्कुलर नै जारी गरेको थियो ।

यसरी भएको थियो प्रतिबन्ध

२०७५ फागुन ११ गते ललितपुरको नख्खुस्थित एनसेल टावर अघि ज्यान लिने गरि भएको विस्फोटपछि सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो । त्यस घटनामा बाटोमा हिँडिरहेका एक जनाको ज्यान गएको थियो । त्यसयता सरकारले विप्लवका सयौँ नेता कार्यकर्तालाई पक्राउ गरेपनि उसका विध्वंसात्मक गतिविधीहरु कम भएका छैनन् । सरकारले प्रतिबन्ध लगाएयता विप्लव समूहका नेता कार्यकर्ता एक हजार ५०३ जना पक्राउ परेका छन् ।

स्रोतका अनुसार ७५ जना सामान्य सोधपुछपछि छुटेका थिए । अदालतमा मुद्दा चलेपछि छुटेकाको संख्या एक हजार १८३ रहेको छ । १३५ जना मुद्दा पुर्पक्षका लागि देशका विभिन्न कारागारमा रहेका छन् । स्रोतका अनुसार हाल प्रहरी हिरासतमा मात्र ११० जना नेता कार्यकर्ता रहेका छन् । पछिल्लो एक वर्षमा विप्लव नेता कार्यकर्ताविरुद्ध एक हजार ४१८ वटा मुद्दा दर्ता भएको प्रहरी तथ्यांक छ ।

प्रहरीले ब्यापक धरपकड गरिरहेपनि विप्लव समूहले लगातार राजधानी केन्द्रित विस्फोटन गराइरहेको छ । गत जेठमा विप्लव समूहले राजधानीमा ठूला विस्फोटनका घटना गराउने तयारी गरिरहेका बेला भएको विस्फोटमा ६ जनाको ज्यान गएको थियो । उसले केही समय अघि ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको नागार्जुन स्थित घरको कम्पाउन्डमा पनि विस्फोट गराएको थियो। वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्षको महाराजगन्जस्थित घरमा पनि विस्फोट गराएको थियो ।

को को छन् जेलमा

विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द भूमिगत छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ । पार्टीका थुप्रै केन्द्रीयस्तरका नेताहरु अहिले जेलमा छन् । तत्कालिन उपत्यका इन्चार्ज तथा केन्द्रीय सदस्य प्रज्वल भनिने माइला लामा, तत्कालिन उपत्यका इन्चार्ज तथा केन्द्रीय सदस्य हितमान भनिने नविन विक, केन्द्रीय सदस्य आदर्श भनिने चुणामणी ओली, तत्कालिन पूर्वी तामसालिङ ईन्चार्ज तथा केन्द्रीय सदस्य प्रज्वलन, विजय भनिने बसन्त श्रेष्ठ, जेलमा छन् ।

यसैगरि अनेमसंघ (क्रान्तिकारी)की महासचिव भृकुटी भनिने धिरेन्द्र उपाध्याय, तत्कालिन मध्य कमाण्ड इन्चार्ज तथा सचिवालय सदस्य सुदर्शन भनिने हेमन्तप्रकाश ओली, पूर्वी कमाण्ड इन्चार्ज तथा केन्द्रीय सदस्य सिलु भनिने उमा भुजेल, तत्कालिन मध्य पश्चिम कमान्ड ईन्चार्ज तथा केन्द्रीय सदस्य विरजंग भनिने चन्द्रबहादुर चन्द र केन्द्रीय सदस्य रणविर भनिने भरत बम पनि जेलमा रहेका छन् । यसैबीचमा प्रहरी कारबाहीमा विप्लवका केही नेता कार्यकर्ता मारिएका पनि छन् । सर्लाहीका नेता कुमार पौडेल, भोजपुरका नेता नीरकुमार राई प्रहरी कारबाहीमा मारिएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार १४:०४