सूचनाको शक्ति - The Power Of Information

        

‘मृत्युमार्ग’ बन्दै नेपालगन्ज–कोहलपुर सडक, आठ महिनामा १५ को मृत्यु

बाँके । सडकहरू ‘मृत्युमार्ग’ बन्ने क्रम रोकिएको छैन । सडक यात्राका क्रममा बर्सेनी सयौं निर्दोष नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्ने जुन अवस्था छ । त्यसको कारण पहिल्याउन गम्भीर बहस आवश्यक देखिएको छ । नेपालगन्ज–कोहलपुर सडक पनि अहिले ‘मृत्युमार्ग’का रुपमा चिनिन थालेको छ ।

सरकारको सडक सुरक्षाप्रतिको संवेदनहीनताले कहीं न कहीं दुर्घटना बढाउने कारक भएको छ । सडक सुरक्षा गर्ने पहिलो दायित्व राज्यको हो । सडक गुणस्तरीय र यात्रा सुरक्षित छ कि छैन ? पूर्वाधारअनुसार सडक निर्माण भएको छ कि छैन ? त्यो हेर्ने सम्पूर्ण जिम्मा राज्यको हुने जानकारहरु बताउँछन् ।

करिब २६ वर्षअघिको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र २० वर्षअघिको सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ का आधारमा नेपालमा यातायात व्यवस्थापन भइरहेको छ, जुन समयसापेक्ष छैन । नेपालगन्ज–कोहलपुर सडकखण्ड सडक सुरक्षाका हिसाबले उच्च जोखिममा देखिएको छ ।

सरकारले जमुनाहदेखि हिल्सासम्म त्रिदेशिय सडक सञ्जालको परिकल्पना गरिहेको उक्त सडक खण्डमा महिना दिनमै साना, मझौला र ठूला सडक दुर्घटना हुने गरेका छन् । राष्ट्रिय राजमार्ग अन्तर्गत नेपालगन्ज–सुर्खेत रत्न राजमार्गमा पर्ने कोहलपुर क्षेत्रमा हुने गरेका यस्ता दुर्घटनाले थुप्रै नागरिकले अकालमै ज्यान गुमाएका छन् ।

सडक विकासका लागि सडक डिभिजन कार्यालय र सरकारको लगानीमा यसअघि फोरलेन सडक विस्तार गरिएको हो । तर, सडक विस्तारसँगै नेपालगन्ज–कोहलपुर सडक खण्डमा दुर्घटना बढ्दै गएका छन् । यद्दपी बाँके ट्राफिक र कोहलपुर प्रहरीसँग दुर्घटनाका बारे एकिन विवरण छैन । यो सडकमा यसअघि मात्रै एउटा टकले त्रिभुवन मावि कोहलपुरमा अध्ययनरत एक बालिकालाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन् ।

त्यसबेला उक्त सडकमा हुने दुर्घटना न्यूनिकरणका लागि बाँकेस्थित सरोकारवालाले तत्कालिन अवस्थामा चासो देखाए पनि अहिले उक्त सडकमा हुन्े दुर्घटनाका बारे सडक डिभिजन, ट्राफिक लगायतका निकाय उदासिन देखिएका छन् । बुधबार मात्रै कोहलपुर–८ पिपिरीमा टिप्परको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । रा १ ख २१८८ नम्बरको टिप्परको ठक्करबाट कोहलपुर–९ झण्डहवाका ४० बर्षिया महिला रामपति थारुको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दका अनुसार नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गर्दा थारुलाई टिप्परले ठक्कर दिएको थियो । ठक्कर दिने टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ । टिप्परको ठक्करबाट मजदुरको मृत्यु भएपछि पिपिरी क्षेत्र तनावग्रस्त भएको छ । स्थानीयहरुले अहिले चक्काजाम गर्दै यातायात अवरुद्ध गरेका छन् ।

स्थानीयहरुले टिप्पर चालकलाई कारबाहीको माग गर्दै मृतकका आफन्तलाई उचित क्षतिपूर्ति दिन मागसमेत गरेका छन् । यस क्षेत्रमा यसरी सडक दुर्घटना हुने गरेपनि सडक सुरक्षाका लागि बाँके प्रहरी र सडक डिभिजनले दीर्घकालिन कुनै पनि योजना बनाउन सकेका छैनन् । यसले पनि यहाँको उक्त सडक सुरक्षाका लागि सडक डिभिजन कार्यालय र सरकारका सम्बन्धीत निकायहरु उदासिन देखिएको छन् ।

बाँकेमा चालु आर्थिक बर्षको साउन महीनायता सडक दुर्घटनामा परी ४५ जनाको मृत्यु भएको छ । कोहलपुर नेपालगन्ज सडकखण्डमा साउनयता १५ जना नागरिकको दुर्घटनाकै कारण निधन भएको बाँके ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पविन्द्र वमले जानकारी दिए । उनकाअनुसार सडक दुर्घटना घाइतेहरुको एकिन विवरण बाँके ट्राफिकसँग पनि छैन ।

यहाँको सडक दुर्घटना न्यूनिकरणका लागि सबैभन्दा पहिला सवारी चालक र सर्वसाधारण नागरिक नै सचेत हुनुपर्ने भन्दै यसका लागि ट्राफिकले सचेतनात्मक कार्यक्रम सञ्चालन गरिरहेको उनी बताउँछन् । बढ्दो सवारी साधन सँगसँगै बाँकेमा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दैछ । यसबाट नेपालगन्ज–कोहलपुर सडकखण्ड बढी प्रभावित देखिएको छ ।

दुर्घटनाबाट समाजमा पर्ने अप्रत्यक्ष असरबारे अध्ययन गर्ने हो भने स्थिति चिन्ताजनक देखिएको छ । सडक दुर्घटना कम गर्न यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी कार्यालय, सडक विभाग तथा स्थानीय प्रशासनले प्रयास गर्नुपर्ने भएपनि यी सबै निकाय मौन रहेका छन् । सडक दुर्घटना बढ्दै जान थालेपछि यस क्षेत्रका स्थानीय समेत त्रसित भइरहेको कोहलपुरका स्थानीय सीता कार्की बताउँछिन् ।

सम्बन्धीत निकायले सडक दुर्घटना न्यूनिकरणका लागि दीर्घकालिन योजना बनाउनुपर्ने उनको भनाई छ । रुट परमिट दिने पद्धति, सवारी चालक अनुमति वितरण प्रणाली, जीर्ण र पुराना सवारी साधन आदि पनि बढ्दो दुर्घटनाका कारक भएको यातायात व्यवस्था कार्यालय बाँकेका निमित्त प्रमुख पूर्णबहादुर खत्री बताउँछन् । उनकाअनुसार यी सबै विषय सडक सुरक्षासँग जोडिएका कानुन, नीतिनियम आदिको कार्यान्वयनसँग जोडिएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार १३:२८