बाँके । मानिसलाई सडक दुर्घटनाबाट जोगाउन शहर बजारमा आकाशे पुल बनाउने गरिन्छ । खासगरी बाटो क्रस गर्दा हुन सक्ने जोखिमलाई मध्यनजर गरेर आकाशे पुल बनाएको पाइन्छ । ताकी यात्रुले निर्धक्कसँग सडक पार गरुन् र सवारी साधनलाई पनि डिस्टर्व नहोस् । विकसित शहरमा आकाशे पुलको माग बढ्दो छ ।
सडकबाटै वारपार गर्नका लागि ठाउँठाउँमा जेब्रा क्रसिङ बनाइएको हुन्छ । बाँच्न र बचाउन त मान्छेमात्रै होइन, जनावरलाई पनि पर्छ । बाँके राष्ट्रिय निकुञ्जमा पूर्वपश्चिम राजमार्ग र रत्नराजमार्गमा सवारी साधनले जंगली जनावरलाई ठक्कर दिएर मार्न थालेपछि जनावरलाई बाटो क्रस गर्नका लागि आकाशे पुल बनाएको छ ।
विशेष गरेर बाँदर, लोखर्केलाई सडक पार गर्न सजिलो होस् भनेर सुर्खेत जाने रत्न राजमार्ग र पूर्वपश्चिम महेन्द्र राजमार्गको निकुञ्ज क्षेत्रभित्र आकाशे पुल बनाइएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार, रत्न र पूर्वपश्चिम राजमार्गमा सात वटा आकाशे पुल बनाइएको छ । यसलाई ‘क्यानोमी ब्रिज’ भनिन्छ ।
ब्रिजको दुवैतिर क्यामेरा फिट गरिएको छ । जनावरले पुल भएर बाटो पार गर्दा क्यामेराले फोटो कैद गर्ने गर्दछ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बाँदर, लोखर्के प्रजातीका जनावरले आकाशे पुलबाट सडक पार गरेको बताए । रत्न र पूर्वपश्चिम राजमार्ग सधैं व्यस्त हुन्छन् । राजमार्ग खण्डमा बाघसम्म सवारी साधनमा ठोक्किएर मरेको छ ।
जनावरसँग सवारी साधन नठोकियोस्, दुर्घटना नहोस् भनेर नै निकुञ्ज क्षेत्रमा प्रति घण्टा ४० किलोमिटरको गति तोक्ने गर्दछ ।बाँके राष्ट्रिय निकुञ्जको ठूलो हिस्सा पूर्वपश्चिम राजमार्गमा पर्दछ । सवारीको चाप पनि बढ्दो नै छ । निकुञ्जले बनाएको आकाशे पुल बाँदर, लोखर्के प्रजातीमात्रै होइन, साना छेपारोलगायत पनि वारपार भएको पाइन्छ ।
देशकै कान्छो निकुञ्जमा बाघको संख्या बढ्दो छ । अहिले यहाँ २१ वटा बाघ छन् । विश्वमै दुर्लभ मानिएको चौका यही छ । बाघको आहारा प्रजातीका जनावर प्रशस्त छन् । निकुञ्जमा सजिलै बाघ देख्न सकिने भएपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढिरहेको छ । पर्यटकलाई निकुञ्जले ठाउँठाउँमा बनाएका यस्ता आकाशे पुलले थप आनन्द प्रदान गर्ने गरेको छ ।
#देश सञ्चार
सत्यपाटी ।