सूचनाको शक्ति - The Power Of Information

        

अन्ततः टुङ्गियो दुई राप्रपाबीचको एकता

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच अन्ततः एकता गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । लामो छलफलपछि शनिबार राति दुई पार्टी एकता गर्ने सहमतिमा पुगेका हुन् । राजधानीको लाजिम्पाटमा थापा, राणा र लोहनीसहित शीर्ष नेताहरुको छलफलमा सहमति जुटेपछि एकता सम्बन्धी १० बुँदे आधारपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिअनुसार एकीकृत पार्टीमा तीन अध्यक्षको व्यवस्था गरिएको छ । जसअनुसार थापा, राणा र लोहनी महाधिवेशनसम्मका लागि अध्यक्षका रुपमा समान हैसियतमा रहनेछन् । यस्तै निर्देशन समिति, केन्द्रीय कार्यासम्पादन समिति र केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता आलोपालो हुनेछ भने यस सम्बन्धी व्यवस्थापन केन्द्रीय सचिवालयले गर्नेछ ।

एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हुनेछ भने पार्टीको चुनाव चिन्हको सम्बन्धमा भने ६ महिनाभित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाए बमोजिम हुने तीन अध्यक्षले हस्ताक्षर गरेको आधारपत्रमा उल्लेख छ । यस्तै पार्टीको झण्डा राप्रपाको बर्तमान झण्डा गाई हुनेछ । यसैबीच पार्टीको एकता घोषणा आगामी फागुन २८ गते गर्ने बताइएको छ भने एकताको डेढ वर्ष्भित्र महाधिवेशन सम्पन्न गर्ने समझदारी पनि भएको छ ।

एकीकृत पार्टीको विधान दुबै पार्टीको विधानलाई समेटेर एकीकृत बनाइनेछ । तर, पार्टीको मुख्य नीति र सिद्धान्त भने धर्म सापेक्ष हिन्दु राष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असलग्न नीति हुनेछ । यस्तै पार्टीको वैचारिक आदर्श राष्ट्रियता, प्रजातन्त्र, उदारवाद हुने एकीकरणसम्बन्धत्री आधारपत्रमा उल्लेख गरिएको छ ।

२०७४ भदौमा फुटेको थियो राप्रपा

पूर्वपञ्चहरुको बाहुल्य रहेको दुई राप्रपा २०७३ मङ्सिरमा एकीकृत भएपछि फेरि फुट्न पुगेका थिए । त्यसयता दुई पार्टीबीच एकताका लागि पटक पटक छलफल भएपछि भाँडिँदै आएको थियो । शनिबार बिहान मात्रै पनि विधानको विषयमा कुरा नमिल्दा करिब भाँडिएको एकता साँझ फेरि विधानका विषयमा दुबै पक्षको समेटेर एकीकृत विधान बनाउने समझदारी हुन पुगेको हो ।

२०७३ मंसिरमा हलो चिन्ह भएको तत्कालीन राप्रपा र गाई चिन्ह भएको राप्रपा नेपाल मिलेर एकीकृत राप्रपा गठन भएको थियो । हलो चिन्ह भएको तत्कालीन राप्रपा र गाई चिन्ह भएको राप्रपा नेपाल मिलेर २०७३ मङ्सिरमा एकीकृत राप्रपा गठन भएको थियो । सो एकता प्रक्रियापछि राणा, थापा, लोहनीसहित लोकेन्द्रबहादुर चन्दसम्मका पञ्चायतकालीन पृष्ठभूमिका हस्तीहरु एकठाउँमा हुन पुगेका थिए ।

तर, सो एकताको ८ महिनामै पार्टी छिन्नभिन्न त भयो नै कमल थापालाई एकता हुनुअघि भन्दा पनि बढी क्षति पुगेको थियो । त्यतिबेला पनि एकीकृत पार्टीको चुनाव चिन्ह गाई हुने निर्णय भएपछि विवाद फुटसम्मको अवस्थामा पुगेको हो । २०७४ भदौमा पार्टी फुटाउँदा राणाले थापा निकटकै सांसद र केन्द्रीय सदस्य आफ्नो पक्षमा पारेका थिए । त्यसअघि नै पार्टी अध्यक्ष कमल थापाको कार्यशैलीको विरोध गर्दै प्रकाशचन्द्र लोहनीले पनि पार्टी परित्याग गरेर राप्रपा राष्ट्रवादी बनाएका थिए ।

पछि राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीबीच एकीकरण भएर राप्रपा संयुक्त बनेपनि राप्रपासँग भने पटक पटक छलफल भएपनि एकता हुन सकेको थिएन । अहिले राप्रपाको चुनाव चिन्ह गाई र राप्रपा संयुक्तको चुनाव चिन्ह हलो रहेको छ । यी दुई पार्टीले एकीकृत पार्टीको चुनाव चिन्ह आ–आफ्नै हुनुपर्ने अडान लिँदै आएपनि हाल चुनाव चिन्हको विषयलाई थाती राखेर अरु विषयमा सहमति भएको हो ।

यस्तै केन्द्रीय सदस्य तथा पार्टीका अन्य निकायमा सहमतिको आधारमा भागबण्डा गरिने बताइएको छ । २०४७ सालमा पञ्चायतको अन्त्य भएपछि राप्रपा गठन भएको थियो । रोचक त के रह्यो भने पार्टी गठन हुने प्रक्रियामा नै विभाजित भएको थियो । त्यतिबेला पार्टी स्थापनामा सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्दका साथै प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मालगायत संलग्न रहेका थिए ।

तर एकैदिन, २०४७ जेठ १५ गते, राप्रपा (चन्द) र राप्रपा (थापा) नामका दुई पार्टीको घोषणा भएका थिए । त्यसयताका २९ वर्षमा राप्रपा फुट्दै र जुट्दै आएपनि पछिल्लो समय भने कमजोर अवस्थामा पुगेको छ । आपसी टकराव, व्यक्तित्वको दम्भ, एजेण्डामा सम्झौता, सत्तालिप्सा लगायतका कारण यो पार्टी कमजोर अवस्थामा पुगेको कतिपयको टिप्पणी छ । यो एकताको सहमति सँगै भने पार्टीका नेता कार्यकर्तामा फेरि नयाँ आशा सञ्चार भएकाको राप्रपाका नेताहरुले बताएका छन् ।

१० बुँदे आधारपत्र

 

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतवार ०८:२३