सूचनाको शक्ति - The Power Of Information

        

डोजर काण्डमा मुछिएका सिम्ता गाउँपालिकाका अध्यक्ष केसीको राजीनामा मागियो

सुर्खेत । स्थानीय तहमा भ्रष्टाचार मौलाएको जनगुनासो बढिरहेको बेला सुर्खेत सिम्ता गाउँपालिका अध्यक्ष कबिन्द्रकुमार केसीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले निकालेको तथ्यांकमा भेरीगंगापछि बढी अनियमितता हुने स्थानीय तहमा सिम्ता गाउँपालिका पर्छ ।

अध्यक्ष केसीको संलग्नतामा सिम्ता गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्ने भनिएको स्थल पातचौरमा आवश्यकताभन्दा धेरै घण्टासम्म डोजर चलाएर आर्थिक अपचलन गरेको आरोप लागेको छ । साथै आर्थिक बर्ष २०७५/०७६ को युवा उद्यम कार्यक्रमको बजेट दुरुपयोग गर्दै आसेपासेले सञ्चालन गरिरहेका विभिन्न संस्थालाई दिएको आरोपसमेत लागेको छ ।

अख्तियारले स्थानीयको उजुरीका आधारमा छानबिनसमेत थालेको छ । स्थानीय सरकारका प्रमूखविरुद्ध अख्तियारमा मुद्दा परेकाले अध्यक्ष पदबाट राजीनामा दिन माग गरिएको छ । अख्तियारको उजुरीपछि युवा नेता प्रचण्ड पोखरेल र रविकिरण हमालले गाउँपालिकाका अध्यक्ष केसीले नैतिकताका आधारमा राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग गरेका छन् ।

पोखरेल र हमालद्वारा जारी संयुक्त वक्तव्यमा विधि र पद्धतिलाई मान्ने भए राजीनामा गरेर निष्पक्ष छानबिनको बाटो स्थानीय सरकार प्रमुखले खोल्नुपर्ने उल्लेख गरिएको छ । पोखरेल र हमालद्वारा जारी वक्तब्यमा गाउँपालिका अध्यक्षले गर्ने सार्वजनिक कार्यक्रम बहिष्कारका लागि आम नागरिकलाई अपीलसमेत गरेका छन् ।

गाउँपालिका अध्यक्ष नजिक रहेका केही व्यक्तिले स्थानीय युवालाई अख्तियारको पत्र सार्वजनिक नगर्न बारम्बार टेलिफोनमा दबाव दिइएको र उनीहरुलाई जागिरको प्रलोभनसमेत देखाइएको स्रोतले जनाएको छ । सिम्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकबहादुर हमालले समेत उक्त विवाद बाहिर नल्याउन भन्दै ती युवालाई टेलिफोन गरेका थिए । यद्यपी अख्तियारको पत्र अहिले सबैतिर भाइरल बनेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतवार ०७:४८