सूचनाको शक्ति - The Power Of Information

        

कोरोना भाइरसबाट बच्न बझाङमा पनि उच्च सतर्कता

बझाङ । कोरोना भाइरस संसारभर फैलिएको छ । नेपाल सरकारले पनि कोरोना भाइरस भित्रिन नदिन उच्च सतर्कता अपनाएको छ । साथै विभिन्न जिल्ला तथा स्थानीय तहहरुले पनि यसबाट बच्न सतर्कता अपाइरहेका छन् । बझाङमा पनि यस रोगबाट बच्न उच्च सर्तकता अपनाइएको छ । जिल्ला प्रसासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालयसहित स्थानीय निकायहरुले यसबाट बच्न विभिन्न सन्देशहरुको प्रचारप्रसार साथै जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएका छन् ।

जिल्लाको प्रवेशद्वार चिरवित्थड चेकपोष्टमा आइतबारदेखि भारतबाट आउने यात्रुहरुलाई चेकजाँच गर्न स्वास्थ्यकर्मीको टोलि राख्ने भएको अस्पतालका प्रमुख भानुभक्तm जोशीले बताए । यसका साथै तिब्बतसंग सिमाना जोडिएको साइपाल गाउँपालिकामा पनि स्वास्थ्यकर्मीको टोली राखेर ताक्लाकोट आउने जाने मानिसहरुलाई चेकजाँच गरिने बताएको छ । यस जिल्लाबाट भारतमा आवतजावत बढी हुने भएकाले यस्कालागि गाउँगाउँमा पनि सचेतना जगाउने काम भइरहेको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख जोशीले अहिलेको जल्दोबल्दो समस्या कोरोना भाइरस भएकाले त्यसलाई नेपालमा भित्रन नदिन नेपाल सरकारले उच्च सर्तकर्ता अपनाए अनुसार बझाङमा सर्तकर्ता अपनाएको बताए । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले नागरिकहरुलाई भिडभाडमा नजान, साबुन पानीले हात धुन, जनावर पशुपंक्षीबाट टाढा रहने, खोक्दा हाछ्यु गर्दा मुख छोपेर गर्न आग्रह गरेका छन् । साथै विद्यालयहरुमा हुने परिक्षा छिटो सञ्चालन गर्न पनि भनिएको छ भने सार्वजनिक सभा समारोहमा पनि रोक लगाइएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतवार ०७:२८