सूचनाको शक्ति - The Power Of Information

        

कोरोना भाइरस भित्रिन नदिन जमुनाह नाकामा सतर्कता

बाँके । कोरोना भाइरस स्थलमार्ग हुँदै नेपाल भित्रिन नदिन नेपाल–भारत सीमाक्षेत्र जमुनाह नाकामा सतर्कता अपनाइएको छ । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्य सहयोगीकक्ष स्थापना गरी भारतबाट नेपाल भित्रिने ज्वरो तथा अन्य बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएको स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले बताए ।

उनका अनु्सार नेपाल–भारत प्रवेशद्वार जमुनाह नाकामा सहयोगी कक्षका लागि आवश्यक पूर्वाधार, परीक्षण सामग्रीको व्यवस्था गरी दुई स्वास्थ्यकर्मी परिचालन गरिएको छ । भारतबाट दैनिक सयाँै नेपाली जमुनाह नाका हुँदै नेपालगन्ज प्रवेश गर्छन् । यसरी प्रवेश गर्नेमध्ये बिरामी परेका र आफैँ स्वास्थ्य जाँच गर्न चाहने व्यक्तिलाई सीमानाकामा स्वास्थ्य जाँच हुँदै आएको छ ।

‘बिरामी परेकालाई हामीले निगरानीमा राखेर स्वास्थ्य जाँच गर्छौँ, नाकाबाट ओहोरदोहोर गर्ने सबैको स्वास्थ्य जाँच गर्न सकिएको छैन,’ स्वास्थ्य शाखा संयोजक चन्दले भने, ‘सबैलाई स्वास्थ्य परीक्षण गर्ने हो भने अहिलेको पूर्वाधार र जनशक्ति कम हुने भएकाले आवश्यक समन्वय गर्दैछौँ ।’ जमुनाह नाकाबाट स्थलमार्ग हुँदै ओहोरदोहोर हुने सयाँै मानिसको स्वास्थ्य परीक्षण गर्नका लागि ठूलै व्यवस्थापनको खाँचो रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार १३:४८