सूचनाको शक्ति - The Power Of Information

        

प्रस्तावित लुम्विनी प्रदेशकै ठूलो सुपरमार्केट भाटभटेनी सञ्चालनमा

बाँके । प्रस्तावित लुम्विनी प्रदेशकै ठूलो र अत्याधुनिक सुपरमार्केट नेपालगन्जमा सञ्चालनमा आएको छ । नेपालगन्जमा शुक्रबारदेखि अत्याधुनिक सुपरमार्केट ‘भाटभटेनी सुपर स्टोर’ सञ्चालनमा आएको हो । देशकै ३० उत्कृष्ट विजनेस हाउसमध्ये एक भाटभटेनीले आफ्नो १८ औं शाखाको रुपमा नेपालगन्ज शाखा सञ्चालनमा ल्याएको हो ।

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ्ग, उनकी श्रीमती सावित्री गुरुङ, प्रतिनिधि सभाका सांसद महेश्वर गहतराज अथक, नेपालगन्ज मेयर डाक्टर धवल शम्सेर राणा लगायतले संयुक्त रुपमा नेपालगन्ज शाखाको उद्घाटन गरे । नेपालगन्ज उपमहानगरपालिका–१८, कारकाँदोस्थित रत्न राजमार्ग पश्चिमपट्टि करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको भाटभटेनीमा भौतिक सम्पत्तिसहित करिब १५० करोड लगानी रहेको व्यावस्थापन पक्षले जनाएको छ । नेपालगन्ज शाखासँगै प्रदेश ५ मा भाटभटेनीका तीन वटा स्टोर सञ्चालनमा आएका छन् ।

यसअघि बुटवल र भैरहवामा सञ्चालन गरिएका स्टोरभन्दा ठुलो स्टोरका रुपमा नेपालगन्ज शाखा सञ्चालनमा आएको हो । स्टोरमा खाद्यान्न, कस्मेटिक, लत्ताकपडा, इलेक्ट्रोनिक, फर्निचरदेखि सम्पूर्ण घरायसी सामाग्रीहरु पाइनुका साथै अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल, फूडकोर्ट लगाएतका सेवाहरुसमेत उपलब्ध छन् । भाटभटेनीले शुभारम्भको अवसरमा सबै किसिमका सामानहरुको खरिदमा १० प्रतिशत तथा सम्पूर्ण ईलेक्ट्रोनिक्स सामानहरुमा २० प्रतिशतसम्म नगद छुटका साथै निःशूल्क होम डेलिभरी सेवा समेत उपलब्ध गराउने घोषणा समेत गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार १२:५७