सूचनाको शक्ति - The Power Of Information

        

इँटा उद्योगलाई माग धान्नै मुस्किल

बाँके । उत्पादनको समयमा पानीले झण्डै चार करोड इँटामा क्षति पुग्यो । जसका कारण बाँकेका इँटा उद्योगीहरुलाई यतिबेला इँटा पुर्याउन मुस्किल भइरहेको छ । बेमौसमी पानीले गर्दा काँचो इँटा नष्ट भएको नेपाल इँटा व्यवसायी संघ बाँकेका अध्यक्ष जियानुल खाँ बताउँछन् ।

पूर्वाधार निर्माणको काम तीव्ररुपमा भइरहेका बेला इँटाको माग पनि अत्याधिक बढेको छ । तर प्राकृतिक प्रकोपका कारण काँचो इँटा नष्ट भएकाले माग पुरा गर्न धौधो भइरहेको खाँले जानकारी दिए । इँटा अभावमा घर निर्माणदेखि अन्य पूर्वाधारका काम समयमा सक्न समस्या हुने देखिएको छ ।

बाँकेका इँटा उद्योहरुले कर्णाली प्रदेश लगायतका ठाउँमा इँटा आपूर्ती गर्दै आएका छन् । इँटाको अभाव भए पनि मूल्यमा भने फरक नपर्ने खाँले बताए । उनका अनुसार, कच्चा पदार्थको मूल्य र मजदुरहरुको पारिश्रमिकका आधारमा इँटा मुल्य कायम गरिन्छ । अहिले अभाव हुँदैमा मुल्यमा केही फरक पर्दैन ।

विसं २०६४ साल अघिसम्म भारतको बाबागन्जबाट नेपालगन्जमा इँटा भित्रिन्थ्यो । त्यहाँबाट ल्याइएका इँटाबाट यहाँका धेरै घर बने । बाबागन्जको इँटाले सुर्खेतसम्म बजार लियो । भारतीय इँटा नल्याएसम्म घर नै बन्दैन भन्नेसम्मको सोचाइ नेपालगन्जवासीमा थियो तर, अब ती दिन एकादेशको कथाजस्तै भइसकेका छन् ।

एक दशकयता भारतीय इँटा बाँके भित्रिन छाडेको नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष खाँ बताउँछन् । ‘बाँकेकै उत्पादनले पुगेको छ, बाहिरबाट ल्याउनुपरेको छैन,’ अध्यक्ष खाँ भन्छन् । अहिले स्वदेशी इँटा उद्योगीले भारतीय एकाधिकार तोडिसकेका छन् । इँटा उद्योगमा बाँके आत्मनिर्भर बनिसकेको छ ।

यहाँको इँटाले छिमेकी कर्णाली प्रदेशलाई पनि थेगेको छ । कर्णाली प्रदेशका अधिकांश निर्माणमा बाँकेको इँटा प्रयोग भएको छ । अध्यक्ष खाँ भन्छन्, ‘स्वदेशी उत्पादनमा आत्मनिर्भर हुने इँटा उद्योग नै हो । हामीले कर्णालीलाई समेत धानेका छौं ।’ उनका अनुसार बाँकेबाट दैनिक ५० हजारभन्दा बढी इँटा सुर्खेत हुँदै कर्णालीका विभिन्न जिल्लासम्म पुग्ने गरेको छ ।

नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेमा ४२ उद्योग सदस्य छन् । यी उद्योगले वार्षिक करिब ८ करोड ईंटा उत्पादन गर्दै आएको अध्यक्ष खाँले बताए । यहाँ उत्पादन भएका इँटा बाँकेको स्थानीय बजार र कर्णाली प्रदेशका सबै जिल्लामा पुग्ने गरेको नेपाल इँटा उद्योग व्यवसायी सङ्घ प्रदेश नं ५ का उपाध्यक्ष देवबहादुर ओलीले बताए ।

भारतीय मजदुरको भर

नेपालगन्ज आसपासमा दर्जनौंको संख्यामा इँटा उद्योगहरु छन् । जसले वर्षमा लाखौंको संख्यामा इँटा उत्पादन गर्ने गर्छन् । विशेषगरी तिहारपछि सुरु हुने इँटा उद्योगको काममा भने अधिकांश भारतबाट आउने मौसमी आप्रवासी कामदारहरु छन् । नेपालगन्ज आसपास रहेको पुरैना, पुरैनी, उदयपुर, मनिकापुर, बसुदेवपुर, कम्दीलगायतका क्षेत्रमा रहेका इँटा भट्टामा इँटा बनाउनका लागि परिवारसहित आउनेको संख्या उल्लेख्य छ ।

उनीहरु आफ्नो परिवारको साथमै आउने र तिहारदेखि वर्षा सुरु हुनु अघिसम्म इँटा भट्टामा काम गर्ने गर्छन् । नेपालबाट जाने ब्यक्तिहरुले भारतका सीतापुर, बहराइच, मोतिपुर, भिन्गा, लखिमपुर लगायतका गाउँहरुमा पुगेर परिवारसहित कामदारहरु इँटा भट्टामा काम गर्न लिएर आउने गरेका छन् । परिवारसहित आउने भारतीय कामदारहरु आफ्ना छोराछोरी पनि सँगै लिएर आउने र सिजनभर काम गरी फर्कने गर्दछन् ।

नेपालबाट कामको खोजीमा खाडीमुलुक जानेहरुमध्ये सबैभन्दा बढि कामदार विदेश जानेमा बाँके जिल्ला पनि पर्छ । तर यहाँका दर्जनौं इँटा उद्योग भने भारतीय कामदारहरुको भरमा चलेका छन् । बाबुआमाले नेपालको इँटा भट्टामा काम गर्ने समयमा कामदार परिवारका बालबालिकाहरुसमेत इँटा बनाउने कार्यमा संलग्न हुन्छन् । जसका कारण उनीहरु पढ्ने अवसरबाट भने बञ्चित हुँदै आएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार ०९:२८