सूचनाको शक्ति - The Power Of Information

        

बाँके निकुञ्ज : जंगल पथमै बाघ, फस्टाउँदै पर्यटन

बाँके । तपाईँलाई बाघ हेर्ने रहर छ ? छ भने बाँके राष्ट्रिय निकुञ्जमा आउनुस्, धेरै बेर हिँड्नै पर्दैन, बाघ देखिहाल्नु हुन्छ । निकुञ्जको जीप सफारीमा जाने टोलीले एक घण्टा घुम्न नपाउँदै बाघ देख्न थालेपछि यतिबेला बाघ हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

नेपालगन्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाई मार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् ।

निकुञ्जको जलसेनी र परुवा खोलाको बीचको जंगल पथमै बाघ देखिन्छ । ‘जंगल पथमै बाघ देखिएपछि पर्यटकहरु खुशी भएका छन्,’ बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले भने, ‘बाघ हेर्नका लागि धेरै मेहनत गर्नुपर्दैन ।’ गाभरबाट प्रवेश गर्ने टोली बाघ हेरेर ओभरी हुँदै निस्कने गरेको गाभर भ्यालीका नेचर गार्ड कलबहादुर चौधरीले बताए ।

‘बाघ देखिँदा आनन्द महसुस हुने गरेको छ,’ गाभर भ्याली होमस्टेका सञ्चालक कृष्ण चौधरीले भने, निकुञ्ज छिरेको केहीबेरमै बाघ देखिएपछि पर्यटकहरु खुशी हुन्छन् ।’ बाँके राष्ट्रिय निकुञ्जले बर्दिया, सल्यान र दाङको सीमा छोएको छ । निकुञ्जमा आहाराजन्य जनावरको उल्लेख्य बृद्धि र दुर्लभ वन्यजन्तु चौकासमेत रहेको चौधरीले बताए ।

निकुञ्जमा सहजै बाघ देखिन थालेपछि पर्यटकको आकर्षण बढ्दै गएको छ । कैलास मानसरोवर, रारा, स्वार्गद्वारीसम्म जाने पर्यटकहरु नेपालगन्ज आउने गर्दछन् । नेपालगन्जमा बास बस्ने गरेका पर्यटकलाई बाँके राष्ट्रिय निकुञ्जको बाघ देखाउन लैजाने वातावरण बनाउन सकेमा यहाँको पर्यटन व्यापार बढ्ने जानकारहरु बताउँछन् ।

यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन् । यहीँ निकुञ्ज भएर मुलुकका विभिन्न जिल्ला आउजाउ गरिन्छ । त्यसैले यो पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’का रूपमा विकास भइरहेको छ । दुई वर्षअघि निकुञ्जमा जम्मा चार जना पर्यटक आएका थिए । आर्थिक वर्ष २०७५/०७६ मा १६० पर्यटक आएको निकुञ्जको तथ्यांकले जनाएको छ ।

जसमा १४८ जना आन्तरिक पर्यटक छन् भने ११ जना सार्क मुलुकका र एक जना विदेशी पर्यटक रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले जानकारी दिए । निकुञ्ज घोषणा भएको ८ वर्षको अवधिमा शून्य अवस्थाबाट अहिले बाघको संख्या २१ पुगेको छ । नेपाल भ्रमण वर्ष २०२० मा बाँके निकुञ्जलाई मुख्य गन्तव्यका रुपमा छनोट गरिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेश प्रवेश बिन्दुका रूपमा रहेकाले पर्यटकलाई पूर्व–पश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्ने निकुञ्ज घुमफिर गरेर फर्किन सहज वातावरण मिलाइएको प्रमूख संरक्षण अधिकृत भट्टराईले बताए । ‘बाँके निकुञ्ज पर्यटकको ट्रान्जिट हुँदैछ,’ भट्टराईले भने, ‘कम खर्चमा, छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाउने छन् ।’

पछिल्लो समय बाघको संख्या बढदै गएपछि चासो बढेको उनले सुनाए । निकुञ्जमा हात्ती सफारीको व्यवस्थासमेत व्यवस्था मिलाइएको छ । मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेन्जको लोभलाग्दो दृश्य र त्यहाँ हाइकिङ गर्न सकिने हुँदा निकुञ्जमा पर्यटकको संख्या बढ्न थालेको गाभर भ्याली सामुदायिक होमस्टेका सञ्चालक चौधरी बताउँछन् ।

‘यहाँ स–साना चुरे श्रृंखलाहरु छन्,’ उनले भने, ‘दृश्य हेर्न आउने स्थानीय पर्यटकको घुइँचो लाग्छ ।’ आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि होमस्टे र निकुञ्जको महत्व बढ्दै गएको उनको अनुभव छ । निकुञ्ज वरिपरि तीन वटा निजी थारू होमस्टे र १७ वटा घरमा सामुदायिक होमस्टे सञ्चालित छन् ।

गाभर होमस्टेले गर्दा पनि निकुञ्जमा पर्यटक बढिरहेका । बिदाको दिन गाभर होमस्टेमा जाने र निकुञ्ज घुम्नेको संख्या बढिरहेको छ । निकुञ्जमा आउने पर्यटकलाई नै मध्यनजर गरेर आसपासमा ठूलाठूला होटल र होमस्टे बनिरहेका छन् । सरकारले बाघको संख्या दोब्बर बनाउने रणनीति अनुसार बाँके निकुञ्जमा सोचेजस्तै प्रगति भइरहेको निकुञ्जले जनाएको छ ।

बाघ संरक्षणको लागि बनाइएको बाँके राष्ट्रिय निकुञ्जमा बाघसँगै विश्वमै दुर्लभ मानिएको चौका यहाँ देख्न सकिन्छ । बाघका आहारा प्रजातीको संख्या उल्लेख्य रहेको छ । निकुञ्जमा सहजै बाघ देख्न सकिने भएपछि पर्यटकको संख्या बढेको निकुञ्जले जनाएको छ । पर्यटकको आकर्षण बढाउन बिभिन्न गतिविधि हुँदै आएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार ०९:१८