सूचनाको शक्ति - The Power Of Information

        

बाँके निकुञ्जमा आए ‘सौराहगज’ र ‘चमचमकली’

बाँके । बाँके राष्ट्रिय निकुञ्जमा दुईवटा हात्ती थपिएको छ । पर्यटनको विकास र निकुञ्ज संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको कसराबाट ‘सौराहगज’ र ‘चमचमकली’ नाम गरेका दुईवटा हात्ती ल्याएको निकुञ्ज प्रमुख प्रमोद भट्टराईले बताए । बाँके निकुञ्जमा हालसम्म चारवटा हात्ती थिए ।

नयाँ थपिएसँगै अब हात्तीको संख्या ६ पुगेको छ । प्रमुख संरक्षण अधिकृत भट्टराईका अनुसार, हात्ती थपिएपछि निकुञ्जमा पर्यटकलाई हात्ती सफारी गर्नेदेखि गस्तीमा समेत सहज हुनेछ । प्रदेश ५ मा नेपाल भ्रमण वर्षको उद्घाटन बाँके राष्ट्रिय निकुञ्जबाट सुरुवात गरिएपछि पर्यटकको आकर्षण बढिरहेको उनले बताए । त्यसैलाई मध्यनजर गर्दै हात्ती थप गरिएको प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए ।

बाघ संरक्षणको लागि बनाइएको बाँके राष्ट्रिय निकुञ्जमा अहिले २१ वटा बाघ छन् । त्यसका साथै विश्वमै दुर्लभ मानिएको चौका यहाँ देख्न सकिन्छ । बाघका आहारा प्रजातीको संख्या उल्लेख्य रहेको छ । निकुञ्जमा सहजै बाघ देख्न सकिने भएपछि पर्यटकको संख्या बढेको निकुञ्जले जनाएको छ ।

देशकै कान्छो निकुञ्जका रुपमा रहेको बाँके निकुञ्जमा पर्यटनको आर्कषण बढाउन बिभिन्न गतिविधि हुँदै आएका छन् । उनका अनुसार निकुञ्जमा बाह्य र आन्तरिक पर्यटकसमेत बढिरहेका छन् । निकुञ्ज छेउमा रहेको गाभर होमस्टेले गर्दा पनि निकुञ्जमा पर्यटक बढेका छन् । बिदाको दिन गाभर होमस्टेमा जाने र निकुञ्ज घुम्नेको संख्या बढिरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार १६:०५