सूचनाको शक्ति - The Power Of Information

        

यसरी बाँच्नुस् सय वर्षसम्म स्वस्थ

यो कुनै वैज्ञानिक आख्यान होइन । चाँडै नै हामी १०० वर्षसम्म बाँच्नु कुनै नौलो कुरा हुने छैन, किनकि हाम्रो जीवनकाल बढ्दै छ । सन् १८४० यता प्रत्येक तीन महिनामा हाम्रो जीवनकाल बढ्दै गरेको र सन् २०११ मा यो गति केही ढिलो भएको अध्ययनले देखाएको छ । यो अनुसन्धान बेलायतमा गरिएको हो, तर यसले तथ्याङ्क विश्वका अन्य विभिन्न देशबाट लिएको छ । अनुसन्धानले भन्छ, सन् २००० पछि विकसित देशहरूमा जन्मिएका कम्तीमा आधा बालबालिकाहरू १०० वर्षको उमेरसम्म बाँच्नेछन् ।

सन् १९०० को सुरुवातमा १०० वर्षसम्म पुग्ने सम्भावना १ प्रतिशत थियो, आज बेलायतमा १०५ वर्षसम्म बाँच्न सक्ने सम्भावना ५० प्रतिशत छ । बेलायतमा सन् १९८६ मा झन्डै ३६ सयजना १०० वर्षभन्दा बढी उमेरका थिए, आज झन्डै १५ हजार पुगेको छ । सामान्यतः प्राकृतिक रूपमै मानव जीवनको सर्वाधिक उमेर ११५ वर्ष मानिन्छ । कसैले आधुनिक प्रविधिसँगै वा योबिना पनि बढी बाँच्न सकिने बताउँछन् । प्रायः यी विचार तीन वर्गमा बाँड्न सकिन्छ,

  • जसले जीवनकाल अहिले सर्वा्धिक रहेको बताउँछन् ।
  • जसले शिक्षा र प्रविधिका कारण जीवनकाल बढ्दै छ र यो १२० सम्म पुग्नसक्ने बताउँछन् ।
  • जो बुढेसकाललाई परास्त गर्दै वैज्ञानिक–प्राविधिक आविष्कारले दीर्घायु हुन सक्ने बताउँछन् ।

ईशाको १९ औँ शताब्दीदेखि बाल मृत्यु दरलाई घटाएसँगै जीवनकाल पनि बढ्दै गएको छ । यससँगै आर्थिक सुधार, प्रविधि, स्वास्थ्यसेवा, शिक्षासँगै खोपको उपलब्धता, प्रजनन स्वास्थ्यमा सुधार, हृदयाघातजस्ता रोगसम्बन्धी सेवामा सुधारलगायतले पनि मानिसको जीवनकाललाई बढाएको छ । यसरी दीर्घायु पाउनु निकै सुखद कुरा हो, तर यससँगै अर्को पाटो आउँछ( कसरी लामो समय स्वस्थ रहने ? उमेर ढल्किनेबारे आफ्नो लेख ‘डि सेनेक्ट्युट’ (वृद्ध उमेरका बारे)मा प्राचीन रोमका दार्शनिक सिसेरोले किन मानिसहरू बुढेसकाल मन पराउँदैनन् भन्ने चार कारण उल्लेख गरेका छन्,

  • बुढेसकालले तपाईंलाई काम गर्न रोक्छ ।
  • यसले तपाईंको शरीरलाई कमजोर पार्छ ।
  • तपाईंलाई सुख अनुभूति गर्नबाट यसले रोक्छ ।
  • प्रत्येक दिन तपाईंलाई मृत्युतर्फ उन्मुख गराउँछ ।

अनि उनी भन्छन् माथिका प्रत्येक बुँदा गलत छन् । ‘वृद्धले पनि आफ्नो खुबीलाई जोगाउन सक्छ’, उनी भन्छन्, ‘जबसम्म उनीहरू त्यसलाई प्रयोगमा ल्याउँछन् ।’ संसारमा धेरै समय बाँच्ने र स्वस्थ भई बाँच्ने पाँचवटा क्षेत्र पहिचान गरेका छन्, डान ब्युट्नरले । यसलाई ‘नील क्षेत्र’ भन्छन् उनी । जापानको ओकिनावा, इटालीको सार्दिनिया, कोस्टारिकाको निकोया उपद्वीप, क्यालिफोर्नियाको लिन्डा र ग्रीसको इकारिया । यस क्षेत्रमा बस्ने मानिसहरू सागसब्जी खान्छन्, जसमा न्यून प्रशोधन गरिएको हुन्छ ।

धेरैजसो अन्न, हरियो सागसब्जी, बदाम, कन्दमूल र गेडागुडी । औसतमा उनीहरू महिनाको पाँचपटक मासु खान्छन् । उनीहरू पानी, हर्बल चिया, कफी र कहिलेकाहीँ वाइन खान्छन् तर दूध भने एकदम कम मात्रामा पिउँछन् । यसबाहेक अन्य अध्ययनले उनीहरूको उचित निद्रा, केही काममा तल्लीन हुनु र नियमित शारीरिक व्यायाम पनि थपेका छन् । यी क्षेत्रका मानिसहरू प्रायः १५० मिनेट हलुका वा ७५ मिनेट कठिन अभ्यास गर्छन् र हप्ताको दुईपटक मांसपेशी तन्किने खालका व्यायाम गर्छन् ।

यति भन्दै गर्दा पनि वृद्ध उमेरमा हिँड्ने वा सरसफाइ गर्नेजस्ता स–साना र हल्का शारीरिक अभ्यासले उनीहरूको उमेर बढाउने अध्ययनले देखाएको छ । एक अध्ययनले देखाउँछ, ३० मिनेट चुप लागेर बस्नुभन्दा यत्तिकै चल्नुले पनि चाँडो मृत्युको खतरा १७ प्रतिशत ले घट्न सक्छ । यस्तै, टेनिस वा फुटबलजस्तो क्लब खेलकुदले पनि दीर्घायु र स्वस्थ बनाउने अध्ययनले देखाउँछ । यसको कारण, यी क्रियाकलापमा सामाजिक अन्तरक्रिया हुन्छ, जुन स्वस्थ र दीर्घ आयुका लागि महत्वपूर्ण हुन्छ ।

अरू के कुराले जीवन स्वस्थ र दीर्घ बनाउँछ ?

दीर्घायुका कार्यक्रममा प्रायः बिहानको बुफेलाई कसैले हात लगाउँदैनन्, उनीहरू चिया वा कफी खान्छन् त्यो पनि दूधबिना । अझ गम्भीर रूपमा स्वास्थ्यको ख्याल गर्नेहरूले क्यालोरी जाँच्ने र बीचबीचमा व्रतझैँ भोकै बस्ने पनि गर्छन् । बृहतरूपमा भन्ने हो भने ३० प्रतिशत कम क्यालोरी सेवन गर्ने र दिनको १६ घण्टा भोकै बस्नु उपयुक्त हुन्छ, तर यही कुरा सबैका लागि लागु नहुन सक्छ । यसको व्यावहारिक मतलब हो, बिहानको नास्ता नखाने र दिनभरि त्यसको भर्पाइ भनेर धेरै खान पनि नखोज्ने ।

थाहा छैन, बीचबीचमा यसरी भोकै बस्नुले के काम गर्छ? शरीरले रस निकाल्ने प्रक्रिया र जीवकोषीय तनाव प्रतिरोध गर्दा उत्पन्न हुने ‘एन्टिअक्सिडेन्ट’ सँग सम्बन्धित हुन सक्छ शायद । यसबारे पटकपटक मुसामा गरिएको अध्ययनले यसरी बीचबीचमा भोकै बस्ने र क्यालोरी कम गर्नाले बुढेसकाल ढिलो हुने देखाएको छ । यसरी जीवन लम्बिएसँगै मुटुरोग, क्यान्सर, मधुमेह वा अल्जाइमर, पार्किन्सन्सजस्ता न्युरो रोग हुनबाट पनि बचाउने देखाएको छ ।

म कति वर्ष बाँच्छु भन्ने थाहा पाउन सकिन्छ ?

बुढेसकाललाई रोक्ने भन्ने त्यस्तो कुनै औषधी त अहिलेसम्म आएको छैन, तर वैज्ञानिकहरू भने लागिपरेका छन् । अमेरिकी वैज्ञानिकहरू ‘मेटफर्मिन’को पाँच वर्षे परीक्षणमा छन् । यो औषधी प्रायः मधुमेहका लागि दिइन्छ । यसको साइडइफेक्ट उमेरसँगै बढ्ने रोगलाई न्यूनीकरण गर्छ । त्यस्तै, जीवकोषको क्षतिलाई न्यूनीकरण गरेर मात्र भन्दा त्यस्ता क्षतिबाट सुधार गरी दीर्घायु बनाउने कार्य पनि अघि बढ्दै छ ।

लामो समयसम्म स्वस्थरूपमा उमेर बढ्दै जाने प्रक्रियालाई सजिलो गर्न सकिने र शायद यसका औषधी आगामी दशकमै आउने विश्वास गर्छन्, उमेर वृद्धिसम्बन्धी अध्येता डा अब्रे डी ग्रे । उनले सेन्स नामक अनुसन्धान फाउन्डेसनमार्फत् यसरी वृद्ध हुने प्रक्रियालाई घटाउने अनुसन्धान गर्दै आएका छन् । यदि यी अध्ययन सफल भए कति समय बाँच्ने भनेर थाहा पाउन त्यसैले गाह्रो नपर्ला ।

सन् २०११ मा बनाइएको डीएनए फेनोएज नामक इपिजेनेटिक घडीले भविष्य बताउने भनिएको थियो । तपाईंको जीवकोषको डीएनएमा भएका रसायनको अध्ययनबाट यसले तपाईं कति वर्ष बाँच्नुहुन्छ भन्ने पत्ता लगाउँथ्यो । जन्मँदा डिएनए स्थिर हुन्छ, तर हाम्रो जीवनशैलीसँगै यो परिवर्तन हुँदै जान्छ । त्यसैले यस्ता घडीको सूचना कति उपयोगी हुने हो भन्ने प्रश्नै रहन्छ ।

अमर बन्न सकिन्छ त ?

बाइबलका अनुसार मानिसहरू अमर थिए, तर इडेन बगैँचामा जीवनरूपी रूखको स्याउ खाएपछि मृत्यु हुने भएको मानिन्छ । त्यस्तै, अमर हुनका लागि अमृतको खोजी गर्ने कथाहरू विश्वभर धेरै स्थानमा पाइन्छ । केही दशकअघि अमर हुने कुरा विज्ञानले मान्दैनथ्यो, तर सन् २०१३ यता गुगलले एउटा शाखामा लगानी गरेको छ, ‘मृत्युको समाधान’ जसमा अन्य कम्पनीले पनि सहयोग गरेको छ ।

कसरी क्यान्सर हुन्छ वा कसरी ती स्थितिको उपचार गरिन्छ भन्नुभन्दा पनि उक्त शाखाले सबैलाई सबभन्दा डरलाग्दो रोगको लक्षण मान्छ, बुढेसकालको । यी अलगअलग रोगको उपचार गर्नुभन्दा उक्त शाखाले बुढेसकालको ठूलो रोगको उपचार खोज्छ । यो आयोजना सफल भएमा सबैजसो रोगको समाधान निस्कन्छ भन्ने उनीहरूको तर्क छ ।

यो सजिलो हुनेवाला भने पक्कै छैन । शरीरको प्रत्येक जीवकोषले बुढेसकालविरुद्ध लड्नुपर्छ, अर्थात् मानव प्रजातिको आनुवांशिक संरचना नै परिवर्तन गर्नुपर्छ । बुढेसकाल रोक्नेबारे धेरै दाबी गरिएका छन्, जसमध्ये सबैभन्दा उग्र यही होला, एक हजार वर्ष बाँच्ने पहिलो मानिसको जन्म भइसकेको छ । (दि गार्डियनबाट)

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार १२:४८