सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय सरकारले जन्मायो दुई पाइलट

रुकुम पश्चिम । स्कुले बेलामा उनलाई ‘ठूलो भएर के बन्ने’ भनेर कसैले सोध्यो भने झट्ट जवाफ दिन्थे, ‘पाइलट बन्छु, हवाईजहाज उडाउँछु ।’ जब उच्चशिक्षाका लागि काठमाडौं आइपुगेर कलेज टेके, त्यसपछि के बन्छु भन्ने प्रश्नमा उनको उत्तर अलमलियो किनभने उनलाई पाइलट बन्न लाग्ने खर्च हाल्न आमाबुवाको क्षमता थिएन ।

राजधानीमा बीएस्सी पढ्दै गरेका रुकुम पश्चिमको आठबिसकोट–५ मिगृका ललित भण्डारी र वडा १० का गोविन्द केसीका बाल्यकालका सपना समान थिए र आर्थिक हैसियत पनि उस्तै । गाउँमा कुरा चल्यो । जनप्रतिनिधिसम्म कुरा पुग्यो । त्यसपछि नगरपालिकाले उपाय निकाल्यो, उच्चशिक्षा पढ्न चाहनेलाई सघाउने । यतिबेला भण्डारी र केसीले भर्खरै पाइलटको कोर्स पूरा गरेका छन् ।

अध्ययन र तालिमका लागि नगरपालिकाले एक करोड रुपैयाँ ऋण सहयोग गरेपछि १४ महिने कोर्स पूरा गर्न सम्भव भएको हो । फिलिपिन्सबाट घर फिरेका उनीहरू अब हवाईसेवा कम्पनीले पाइलट माग्दा जान तयार छन् । ‘सानैदेखि पाइलट बन्ने रहर थियो, पैसा थिएन,’ भण्डारीले भने, ‘नगरपालिकाले सहयोग गरेपछि मेरो सपना पूरा गर्न सम्भव भएको हो ।’ भण्डारी र केसीले फिलिपिन्सको रोयल फ्लाइट ट्रेनिङ एकेडेमीबाट पाइलट कोर्स गरेका हुन् ।

नगरपालिकाले उनीहरूलाई ५०/५० लाख रुपैयाँ ऋण दिएको छ । स्थानीय आठबिसकोट बचत तथा ऋण सहकारी संस्थामार्फत बिनाब्याज ऋण पाएपछि पाइलट पढ्न पाएका हुन् । पाइलट पढ्न चाहनेका लागि दिइने ऋण धितो जमानीमा दिने व्यवस्था गरिए पनि लिनेले ब्याज तिर्नु पर्दैन । पढेर जागिरमा जोडिएपछि ऋण तिर्ने किस्ता सुरु हुन्छ । अब उनीहरूले नेपालमा नागरिक उड्डयन प्राधिकरणको उडान अनुमतिसम्बन्धी परीक्षा दिनुपर्छ ।

त्यो पास भएपछि नेपाली आकाशमा उडानका लागि योग्य हुने केसीले बताए । ‘नगरपालिकाले बिनाब्याज ऋण दिएर ठूलो गुन लगाएको छ,’ उनले भने, ‘त्यति पैसा नजुटेको भए पढ्न जान सम्भव थिएन । काममा लागेपछि मात्रै ऋण तिर्न सुरु हुने भएकाले धेरै ठूलो गुन लाग्यो ।’ तालिमका क्रममा दुवै जनाले २ सय २० घण्टा विमान उडाएको उनले बताए । पढेर पाइलट भएर घर फर्किएका दुवैलाई गाउँमा सम्मान गरिएको छ ।

आठबिसकोट नगरप्रमुख गोर्खबहादुर केसीले गत आर्थिक वर्षदेखि विभिन्न क्षेत्रमा पठनपाठनका लागि ऋण सहयोग गर्ने नगरपालिकाको नीतिअनुसार दुई युवाले पाइलट बन्ने अवसर पाएको बताए । ‘पाइलटमात्र होइन, हाम्रो सहयोगमा इन्जिनियर र स्वास्थ्यकर्मी पनि पढ्दै छन्,’ उनले भने, ‘यसबाट नगरपालिकाका युवालाई रोजगारीमा अवसर दिनेछ ।’ मनमा पाइलट बन्ने रहर भए पनि आर्थिक अभावले उनीहरू दुवैजना रुचि नलागेको विषय पढ्दै थिए ।

‘आर्थिक अवस्था कमजोर भएपछि घरपरिवारबाट बीएस्सी पढ्नु भन्ने जोड थियो,’ केसीले भने, ‘नगरपालिकाले हाम्रो इच्छा बुझेर पढायो, खुसी लागेको छ ।’ सम्पूर्ण कोर्स सक्न करिब ८५ लाख खर्च भए पनि नगरपालिकाले ५० लाख बिनाब्याजको ऋणले धेरै राहत भएको उनको भनाइ छ । नगरपालिकाले कार्य्विधि नै बनाएर अध्ययनका लागि ऋण तथा आर्थिक सहयोग गर्ने कार्यक्रम ल्याएको छ ।

नगर प्रमुख केसीका अनुसार पहिलो वर्ष दुई पाइलट, दुई डाक्टर र दुई इन्जिनियर उत्पादन गर्ने लक्ष्य राखिएको थियो । नगरपालिकाको रोहवरमा संस्थाबाट ऋण लिएर पढेकाले जागिर नपाउँदासम्म ब्याज लाग्दैन । जागिर सुरु भएपछि ६ प्रतिशत ब्याज लाग्ने कार्यविधि बनाइएको छ । ऋण चुक्ता गरिसक्ने अवधि भने नतोकिएको सहकारीका अध्यक्ष हरिप्रसाद शर्माले बताए । घर, जग्गा धितो राखेर ऋण दिने र धितोको मूल्यांकन थोरै भए सामूहिक जमानीमा ऋण दिने नियम रहेको शर्माले बताए ।

‘जागिर सुरु भएको दिनदेखि ६ प्रतिशत ब्याज लाग्छ । पहिलो पटक भएकाले किस्ता तिर्न कसैले सुरु गरेका छैनन्,’ शर्माले भने, ‘धितो नपुगेकालाई सामूहिक जमानीमा दिने व्यवस्था पनि छ ।’ नगरपालिकाकै सहयोगमा इन्जिनियरिङ, एचए र नर्सिङ पनि पढिरहेका उनले बताए । अध्ययनका लागि निर्ब्याजी ऋण तथा छात्रवृत्ति सहयोग गरेको केसीको भनाइ छ ।

 

 

#कान्तिपुरबाट

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार १०:१६