काठमाडौं । पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले पर्यटनदूत नियुक्त गरेका ५२ नेपाली सुरुदेखि नै सम्पर्कविहीन छन् । बोर्डको ‘पर्यटनदूत’ सूचीमा रहेका १२ विदेशी नागरिक पनि सम्पर्कमा छैनन् । सन् २०१६ देखि २०१९ को अवधिमा पर्यटनदूत नियुक्त भएका ६५ जना (१३ विदेशी र ५२ नेपाली)मध्ये ६४ जना सम्पर्कमा छैनन् ।
त्यसमध्ये अहिले इटालीका पाउलो नुगरीमात्र सम्पर्कमा रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार उनीहरूबाट नेपालको पर्यटन प्रवर्द्धनमा कुनै पनि काम भएको छैन । बोर्डले कुनै मापदण्डविना नै पर्यटनदूत नियुक्त गर्दै आएकोले उनीहरू गैरजिम्मेवार बनेका हुन् । नेता तथा बोर्डका कर्मचारीलाई ‘डिनर’ खुवाउने र विदेश घुमाएकै भरमा दूत नियुक्त गर्ने प्रवृत्तिका कारण पर्यटन प्रवर्द्धनको काममा उपलब्धि शुन्य भएको पर्यटन व्यवसायी बताउँछन् ।
पर्यटन व्यवसायी टीकाराम गुरुङले नियुक्ति पाएलगत्तै विदेशमा पुगेपछि सम्पर्क्विहीन हुनु र नेपालको प्रचारप्रसारमा कुनै काम नगर्नुले बोर्डले दिँदै आएको मानार्थ जनसम्पर्क प्रतिनिधि (पर्यटन दूत) प्रभावहीन बनेको बताए । बोर्डले विगतदेखि नै दूत नियुक्त गर्दै आएको भए पनि त्यस्ता दूतबाट पर्यटन प्रवर्द्धनमा खासै योगदान पुगेको पाइँदैन । पर्यटन दूतको भूमिका प्रभावहीन हुँदासमेत त्यस्तो नियुक्तिलाई बोर्डले निरन्तरता दिँदै आएको छ ।
बोर्डले सीमित समयावधि तोकेर दूत नियुक्त गर्ने गरेको छ । त्यसरी नियुक्त भएका दूतको गतिविधिमाथि बोर्डले अनुगमन नगर्दा दूतको पद जथाभावी प्रयोग गरी देशकै बद्नाम गर्ने काम भइरहेको व्यवसायीको आरोप छ । पर्यटन दूत नियुक्त गर्ने कुनै पनि आधार छैन । बोर्डका कार्यकारी निर्देशकको मर्जीमा दूत नियुक्त हुने गरेको छ । त्यसरी नियुक्त भएकाबाट उक्त पदको दुरुपयोग भइरहँदासमेत सरोकारवाला निकाय मौन देखिन्छ ।
यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने पर्यटन मन्त्रालयका अधिकारीहरू बताउँछन् । विदेशमा राजदूतभन्दा माथिजस्तै गरी निशानी छाप राखेर ‘भिजिटिङ कार्ड’ बनाएर होटल र व्यवसायको प्रचार गरेको भेटिँदासमेत कुनै कारबाही हुन नसकेको पर्यटनमन्त्रीको सचिवालयका एक कर्मचारीले बताए । यसअघि कति जनालाई दूत नियुक्त गरियो र उनीहरूबाट पर्यटन प्रवर्द्धनमा के कस्ता काम भए भन्ने तथ्याङ्क पर्यटन बोर्डसँग समेत छैन ।
सत्यपाटी ।