सूचनाको शक्ति - The Power Of Information

        

दिल्लीबाट बेपत्ता नेपाली युवती प्रहरी सम्पर्कमा

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीबाट बेपत्ता भएकी गुल्मी इश्मा टाकुरा निवासी पुनम क्षेत्री भारतीय प्रहरीको सम्पर्कमा आएकी छन् । उनी सोमबार राती नोएडादेखि दिल्ली प्रहरीको सम्पर्कमा आएकी हुन् । मानसिक विकास पूर्णरुपले नहुँदा राम्रोसँग बोल्न नसक्ने, कान कम सुन्ने तथा काम गर्दा हात कम्पन हुनेजस्ता शारीरिक समस्या भएकी २२ वर्षीया पुनम २० फेबु्वरी, ३ बजेदेखि हराइरहेकी थिइन् ।

पारिवारिक स्रोतका अनुसार पुनमकै उमेरकी एक युवती घरमा आएर पुनमलाई खेल्न जाने भन्दै आफूसँगै लगेकी थिइन् । पुनमको अध्ययनमा रुची थिएन । उनी धेरैजसो आफूभन्दा बढी उमेरका साथीसँग खेल्ने गर्थिन् । सोही कारण परिवारले पनि उनकै साथी होलान् भनेर पुनमलाई लैजाने साथीका विषयमा धेरै चासो नदिएको परिवारका सदस्यले बताएका थिए । लामो समयसम्म पनि पुनम घर नफर्किँएपछि परिवारका सदस्य चिन्तित थिए ।

दिल्लीमा २२ वर्षीया युवती अचानक हराउनु आफैंमा डरलाग्दो घटना हो । पछिल्लो समयमा दिल्लीमा यस्तो ग्रुपको नेक्सस घुमिरहेका हुन्छन् जसले जसले यस्ता युवा युवतीलाई अपहरण गरी भिक माग्न लगाउने तथा यौन धन्धामा सक्रिय गराउने गर्दछन् । हराएकी पुनमको मानसिक विकास पूर्णरुपमा नभएकाले उनको व्यवहार उमेरले २२ वर्षीया भएतापनि १०र१२ वर्षीया बालिकाको जस्तो थियो ।

उनी हराएको २० फेब्रुअरी बेलुका मोबाइलमा सम्पर्क गर्दा एक महिलाले ‘आजदेखि यो नम्बरमा फोन नगर्नु अबदेखि तिम्री छोरी फर्किएर आउँदिन’ भन्दै फोन अफ गरेको परिवारका बताएका थिए । उनको खोजीमा दिल्ली प्रहरी, दिल्ली एनसीआरमा अवस्थित नेपाली मिडियाहरू, नेपाली संघसंस्थाका प्रतिनिधिहरूको सक्रियरुपमा लागेका थिए । जसको परिणामस्वरूप चेलीबेटी बेचबिखनमा सक्रिय गिरोहबाट उनलाई छुटाउन सफलता मिलेको बताइएको छ ।

प्रहरीले उनको मेडिकल जाँच तथा आवश्यक कानुनी अनुसन्धान भइरहेको जनाएको छ । यतिबेला राजधानी दिल्लीलगायत सिंगो भारतमा नै यस किसिमको गिरोह अत्यन्तै सक्रिय रहेको बताइन्छ । जहाँ वकिलदेखि युवा प्रोफेसनलको सञ्जाल फैलाएर यस्ता धन्दाहरू अघि बढेका छन् । महिला बेचबिखन तथा लैंगिक हिंसाबिरुद्ध कार्यरत केहि संघसंस्थाहरुको समेत सहभागिता रहेको हुनसक्ने दिल्ली पुलिसको दावी छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलवार १७:१३