सूचनाको शक्ति - The Power Of Information

        

कोरोना भाइरसको भ्याक्सिन पत्ता लाग्यो, वैज्ञानिकले आफैं लिए पहिलो डोज

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को भ्याक्सिन पत्ता लागेको छ । चीनको तियानजिन विश्वविद्यालयले यसको ओरल (खाने) भ्याक्सिन आविष्कार गरेको हो । यो भ्याक्सिनको विकास गर्ने वैज्ञानिक प्रोफेसर हुआङ जिन्हाइले स्वयं यो भ्याक्सिनको चार डोज लिएको र कुनै पनि किसिमको साइड इफेक्ट महसुस नगरेको चीनको मिडिया ग्लोबल टाइम्सले लेखेको छ ।

विश्वविद्यालयले अब यसको क्लिनिकल परीक्षण र अन्य कामको लागि पार्टनरको खोजी गरिरहेको छ । यो भ्याक्सिनले शरीरमा कोरोनाभाइरससँग लड्नको लागि प्रतिरक्षा एन्टिबडीको निर्माण गर्ने समाचारमा जनाइएको छ । प्रोफेसर हुआङको टिमले यो भ्याक्सिनको क्याप्सुल, मिल्क ट्याब्लेट र ग्रानुलर फर्मुलेसनको रुपमा नमूना तयार पारेको छ । अर्कोतर्फ भ्याक्सिन पत्ता लागेको खबर आएसँगै चीनका सामाजिक सञ्जालमा बहस छेडिएको छ ।

अनलाइन बहसमा यो भ्याक्सिनको प्रभावकारिताका शंका गरिएका छन् किनकि यो औषधी निकै कम समयमा तयार भएको छ र विकास गर्ने वैज्ञानिकले यसको विश्वसनीयता पुष्टि गर्न पर्याप्त प्रमाण दिइसकेका छैनन् । उत्तरी चीनको तियानजिन विश्वविद्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै मानव शरीरमा कोरोनाभाइरस प्रतिरोधी एन्टिबडी उत्पादन गर्न सक्षम भ्याक्सिन विकास गरिएको दावी गरेको हो ।

यो भ्याक्सिन विकास गर्ने वैज्ञानिकको टिमका नेतृत्वकर्ता प्रोफेसर हुआङ जिहुआले आफैं यो भ्याक्सिनको ४ डोज लिएका थिए र उनले कुनै किसिमको साइड इफेक्ट महसुस गरेका छैनन् । यो अनुसन्धान निकट एक स्रोतले चिनिया मिडिया ग्लोबल टाइम्सलाई बताएअनुसार प्रोफेसर हुआङले अनुसन्धानको क्रममा पब्लिस्ड आरएनए (राइबोन्युक्लिक एसिड)मा आधारित रिसेप्टर फेला पारेका थिए ।

समाचार बाहिरिएसँगै सामाजिक संजालमा बहस सुरु भएको छ । चीनको माइक्रोब्लगिङ साइट विबोमा यो समाचारमा हजारौं कमेन्ट आएका छन् । एक प्रयोगकर्ताले यो भ्याक्सिनको सेवन गरेपछि शरीरमा स्पाइक प्रोटिन एब्जर्ब हुन्छ वा हुँदैन, यदि हुन्छ भने यसलाई इन्जेक्सनबाट नदिइ किन पिउनुपर्छ भनी शंका व्यक्त गरेका छन् । केहीले भने वैज्ञानिकको समर्थन गर्दै उनीहरुले केही दिनमै यो भ्याक्सिनको विश्वसनीयता प्रमाणित गर्ने विश्वस व्यक्त गरेका छन् ।

अनलाइनमा आइरहेका प्रतिक्रियाबारे विकासकर्ता वैज्ञानिक प्रोफेसर हुआङले ग्लोबल टाइम्ससँग कुरा गर्दै ‘यो भ्याक्सिन सफलतापूर्वक विकास भएको भए पनि क्लिनिकल ट्रायल पार गर्न बाँकी रहेको’ बताएका छन् । उनका अनुसार उनले पहिले जनावरका लागि यो भाइरसविरुद्धको भ्याक्सिन बनाएका थिए जुन प्रभावकारी भएपछि यसले उनलाई मानवका लागि पनि भ्याक्सिन विकास गर्न प्रेरित गरेको थियो ।

यद्यपि यो भ्याक्सिनले आफ्नो प्रभावकारिता पुष्टि गर्न ‘टेस्टिङ’ पार गर्नुपर्ने उनले बताए । उनले आफ्नो टिमले वर्षौंदेखि ‘फुड ग्रेड साचारोमिसेज सेरेभिसे’मा आधारित रहेर ‘बायोलोजिकल प्रिभेन्सन एण्ड फर्मुलेसन डेभलपमेन्ट प्लेटफार्म’ विकास गरिरहेको हुनाले यो भ्याक्सिन कम समयमै बनाउन सफल भएको बताए । हुआङका अनुसार अब उनी आफ्नो टिमसँग काम गर्न योग्य लगानीकर्ताको खोजीमा छन् ताकि यो भ्याक्सिनको विश्वसनीयता पुष्टि गरेर यसको उत्पादनलाई अगाडि बढाउन सकियोस् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलवार १६:२७