सूचनाको शक्ति - The Power Of Information

        

बामदेवको बालुवाटार यात्रा फेरि दुर्घटनामा

काठमाडौं । पछिल्लो आम चुनावमा पराजित नेकपा नेता वामदेव गौतमले हरेक पटक संसदमा प्रवेशको प्रयास गरे पनि त्यो बीचमै दुर्घटनाग्रस्त हुने गरेको छ । त्योसँगै उनको छवि पनि विवादित बन्न पुगेको छ । काठमाडौं–७ का नेकपाका सांसद रामवीर मानन्धरलाई राजीनामा गराई उपनिर्वाचनबाट सांसद बन्ने गौतमको गतवर्ष कात्तिकमा भएको प्रयास असफल भयो । डोल्पास्थित नेकपाका सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाएर त्यहाँबाट चुनाव लड्ने अर्को प्रयासले पनि सफलता पाउन सकेन ।

हाल आएर राष्ट्रपतिद्वारा मनोनीत राष्ट्रिय सभाको सदस्य बन्दै प्रधानमन्त्रीका रुपमा बालुवाटार यात्राको प्रयास काम सुरु हुनु अगावै दुर्घटनाग्रस्त बन्न पुगेको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छाविपरीत गौतम र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रस्तावमा उनलाई प्रधानमन्त्री बनाउन राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधनको गृहकार्यका लागि वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदललाई त्यसकै सदस्यहरुले अवज्ञा गरेका छन् ।

कार्यदलको सदस्य रहेका भनिएका ओलीका बफादार सुवास नेम्वाङ र खिमलाल देवकोटाले पारदर्शीरुपमा कार्यदल गठन नभएको र कुनै एक व्यक्तिका लागि संविधान संशोधन वाञ्छनीय नहुने भन्दै लिखित पत्र नआएसम्म कार्यदलमा नबस्ने जानकारी नेता नेपाललाई गराए । स्रोतका अनुसार नेता नेपालले सोमबार कार्यदलको बैठक बस्नुपरर््यो भन्दै नेम्वाङलाई फोन गरेका थिए । नेम्वाङले कार्यदलको बैठक भए आफूहरु नआउने बताएपछि नेता नेपालले अनौपचारिक छलफल त गरौँ भनेपछि नेम्वाङ कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए ।

छलफलका क्रममा नेता नेम्वाङले पारदर्शीरुपमा कार्यदल गठन नभएको र आफूहरुलाई कुनै लिखित पत्र नआएको बताएका थिए । र, कुनै एक व्यक्तिका लागि संविधान संशोधन गर्न नसकिने तर्क नेम्वाङले राखेपछि त्यसमा अर्का सदस्य भनिएका देवकोटाले पनि समर्थन जनाएका थिए । साथै नेम्वाङले यस्तो अपारदर्शी काममा नलाग्न नेता नेपाललाई समेत सुझाएको बुझिएको छ । जवाफमा नेता नेपालले यसबारे सल्लाह गरौँला भनेका थिए । नेपालले कार्यदलका सदस्यले त्यसलाई अवज्ञा गर्नुको पृष्ठभूमिमा अध्यक्ष ओलीको हात रहेको बुझेका छन् ।

नेपाल निकट एक नेताका अनुसार गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन ओली तयार भए पनि स्वभाविकरुपमा उनलाई प्रधानमन्त्री बनाउन चाहिरहेका छैनन् । आफ्नो इच्छाविपरीत जर्वजस्त गठन गरिएको कार्यदल भंग गर्न भित्रीरुपमा ओली लागेको र आफ्ना विश्वासपात्र नेम्वाङलाई त्यसको अवज्ञा गर्न निर्देशन दिएको नेपाल पक्षको बुझाइ छ । यसो त, नेम्वाङले कार्यदल गठन भएको समाचार प्रकाशन भएकै दिन त्यसबारे अनविज्ञता प्रकट गरेका थिए ।

ओलीले राष्ट्रपतिद्वारा मनोनीत राष्ट्रियसभा सदस्य अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा दोर्होयाउन चाहे पनि सभामुख छनौटका बेला सचिवालयमा उनीविरुद्ध बनेको प्रचण्ड नेतृत्वको बलियो समीकरणका कारण ओली गौतमलाई राष्ट्रियसभामा लैजान तयार भएका थिए । शनिबारको बैठकमा प्रचण्डले गौतमलाई प्रधानमन्त्री बनाउन राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनको गृहकार्य गर्न नेता नेपालको संयोजकत्वमा कार्यदल गठन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

उक्त प्रस्ताव अस्वीकार गरेमा झन षड्यन्त्र हुने डरमा ओलीले आफ्ना विश्वासिलो पात्र नेम्वाङ र देवकोटालाई कार्यदलको सदस्यमा राख्न चलाखीपूर्ण प्रस्ताव गरेका थिए । ‘सामूहिक दबाबमा ओलीले कार्यदल गठनलाई स्वीकृत दिनुभएको थियो । तर चलाखीपूर्ण तरिकाले ओलीले आफू निकट नेम्वाङको नाम दिनुभयो । अहिले ओलीकै निर्देशनमा उनीहरुले कार्यदल अवज्ञा गरेका हुन्,’ शनिबारको सचिवालय बैठकमा सहभागी एक सदस्यले भने । मन्त्री खतिवडाको कार्यावधि यही फागुन २० गते सकिँदैछ ।

ओली नेतृत्वको सरकारले संविधान संशोधन गर्ने सहमति गरेको भन्दै सरकारमा गएको मधेसवादी दल समाजवादी पार्टी त्यो सहमति कार्यान्वयन नगरेको भन्दै मंसिर ८ गते सरकारबाट बाहिरिएको थियो । ओलीले हालै आफ्नो दुई वर्षीय सरकारको उपलब्धिका विवरण संसदमा सुनाउने क्रममा संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा मात्रै हुने बताएका बेला गौतमलाई प्रधानमन्त्री बनाउन राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनका लागि नेता नेपालको संयोजकत्वमा कार्यदल गठन भएको हो । यसलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोधसमेत भएको छ ।

गौतम गत आम चुनावमा बर्दियाबाट पराजित भएका थिए । उनले पार्टीभित्रकै षड्यन्त्रका कारण आफू चुनावमा हारेको दाबी गर्दै आफ्नो आवश्यकता संसदमा रहेको बताउँदै आएका छन् । ओलीले गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने आश्वासन दिदैँ त्यसलाई कार्यान्वयमा ल्याएर प्रचण्डसँगको समीकरण भत्काउने कोशिश गरेका थिए । तर आफ्नो प्रधानमन्त्री बन्ने इच्छा पूरा नगर्दा ओलीविरुद्ध निर्माण गरिएको प्रचण्डको समीरकरणलाई निरन्तरता दिन गौतम लागिपरेका छन् । ओलीको चाहना अनुसार गौतमलाई उपाध्यक्ष बनाउन विधान संशोधनको स्थायी कमिटी बैठकको प्रस्ताव गत माघ १९ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलवार ०८:११