सूचनाको शक्ति - The Power Of Information

        

यस्तो पो जनप्रतिनिधि, आफ्नो सुविधाले दुई एम्बुलेन्स खरिद

काभ्रे । जनप्रतिनिधिले ‘मानवीय सेवामा कसरी सहयोग पुर्याउनुपर्छ’ भन्ने उदाहरण रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला बनेकी छन् । उनले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटले दुई एम्बुलेन्स खरिद गरी मानवीय सेवामा सहयोग पुर्याएकी छन् ।

गाउँपालिकाको कार्यपालिका बैठकबाट पारित गरि एम्बुलेन्स खरिद गरिएको जनाइएको छ । वडा नं ५ र ११ मा रहनेगरी दुवै वडास्थित एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षद्वयलाई आइतबार कार्यक्रममा संविधानसभा सदस्य तीर्थ लामाले हस्तान्तरण गरे । सरकारद्वारा कर छुटसहित रु २१ लाख ५२० मा दुई एम्बुलेन्स खरिद गरिएको हो ।

ती एम्बुलेन्सबाट रोशी गाउँपालिकाको ३५ हजार बासिन्दाका साथै नमोबुद्ध नगरपालिका, महाभारत गाउँपालिका, तेमाल गाउँपालिका तथा छिमेकी जिल्ला सिन्धुलीको सुनकोशी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने छन् । उपाध्यक्ष बर्तौलाले आफ्नो सुविधाभन्दा पनि पालिकावासीको आवश्यकता मध्यनजर गरी एम्बुलेन्स खरिद गरिएको कार्यक्रममा बताइन् ।

गाउँपालिकाले उपाध्यक्षलाई गाडी खरिद गर्न गत आर्थिक वर्षमै रु २६ लाख रकम छुट्याएको थियो । गाउँपालिका अध्यक्ष दलबहादुर लामाले उपाध्यक्षले उदाहरणीय काम गरेकोमा खुशी व्यक्त गरे । बर्तौलाले गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएदेखिनै गाउँपालिकाको कुनै पनि सवारीसाधन प्रयोग गरेकी छैनन् ।

‘अध्यक्षको गाडी अहिलेसम्मा दुईपटक मात्रै चढेको छु, मैले निर्वाचित भएदेखि नै घरबाट गाउँपालिका कार्यालय आउन जान सार्वजनिक यातायात प्रयोग गर्दै आएको छु,’ उनले भनिन् । भौगोलिकताले विकट एवं पहाडी भूभाग भएकाले गाउँपालिकाका बासिन्दाले समयमै उपचार पाउन् भन्ने उद्देश्यले आफ्नो सवारी बजेटबाट एम्बुलेन्स खरिद गर्न लगाएको उनले बताइन् ।

उनले भनिन्, ‘म जनताको सेवा गर्न निर्वाचित भएकी हुँ, म जहाँ पनि हिँडेर पुग्न सक्छु, तर गर्भवती र बालबालिका तथा वृद्धवृद्धाका लागि समयमै उपचार होस् भन्ने चाहेर आफ्नो गाडीलाई छुट्याइएको रकमबाट एम्बुलेन्स खरिद गर्न लगाएकी हुँ ।’ उपाध्यक्ष बर्तौलाले आफूलाई आउने इन्धन खर्चलाई पनि सामाजिक सेवामै खर्चिएकी छन् ।

उनलाई वार्षिकरुपमा इन्धनबापत आउने रु तीन लाख टुहरा तथा अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेका हुन् । हालसम्म १४ विद्यालयका ४८ टुहुरा तथा अपाङ्गता भएका बालबालिकालाई उनीहरुको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले जनही रु छ हजार २५० सहयोग गरेको उनले बताए ।

गाउँपालिकाको शिक्षा शाखामार्फत गाउँपालिकामा अवस्थित ६९ सामुदायिक विद्यालयबाट थप टुहुरा तथा अपाङ्गता भएका बालबालिकाको तथ्याङ्क उपलब्ध भयो भने ती बालबालिकालाई क्रमैसँग सहयोग उपलब्ध गराइने उपाध्यक्ष बर्तौलाले बताइन् ।

गाउँपालिकाको न्यायिक समिति अध्यक्षलगायत विभिन्न नौवटा समितिको संयोजक रहेकी उपाध्यक्ष बर्तौलाले कुनै पनि बैठकका भत्तासमेत लिन्नन् । यसअघि पाँचखाल नगरपालिकाले गत आर्थिक वर्षमा १४ वडाध्यक्षलाई सवारीसाधन खरिदका लागि छुट्याइएको बजेटबाट गत असारमा दमकल खरिद गरेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार १२:१९