सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीले साढे १० लाखमा किने जन्मघर !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मघर तेह्रथुमको आठराई गाउँपालिका–२ को इवा, पोखरीस्थित घरमा जन्म दिन मनाएका छन् । आइतबार उनी ६८ वर्ष पुरा गरेर ६९ औं जन्म दिनलाई भव्य बनाउन जन्मघर इवा, पोखरी पुगेका थिए । यो जन्मघरमा जन्म दिन मनाउने ओलीको धोको पुरा गर्न भने त्यति सजिलो थिएन ।

धेरै वर्षअघि ओलीका बाबु मोहनप्रसाद ओलीले यो घर र आफ्नो जग्गा बेचिसकेका थिए । उनीबाट त्यो जग्गा किन्नेले पनि अर्को व्यक्तिलाई बेचेका थिए । पछिल्लो पटक यो घर र जग्गा स्थानीय खगेन्द्र तामाङको स्वामित्वमा थियो । दुई वर्षअघि प्रधानमन्त्री ओलीले आफू जन्मेको घर र बारी किन्ने विचार गरेर मानिसलाई खटाए ।

सो घर किन्ने काममा सहयोग गरेका एक व्यक्तिका अनुसार ओलीले दुई वर्षअघि घर र केही जग्गा साढे १० लाख रुपैयाँमा किनेका हुन् । ओलीले त्यहाँ प्रचलित मुल्यभन्दा पनि धेरै रुपैयाँ दिएर किनेको सहयोगीले बताए । उनका अनुसार गाउँमा ५ देखि ७ लाख बराबरको मूल्य चल्तीमा रहेको बेला खगेन्द्रले १० लाख रुपैयाँ मुल्य गरेका थिए ।

तर, ओलीले त्यसमा ५० हजार थपेर जग्गा किनेको सो जग्गा किन्दाका एक सहयोगीले बताए । त्यतिबेला ओलीले साढे २५ रोपनी जग्गा किनेका थिए । ओलीले सो गाउँमा थप २२५ रोपनी जग्गा किन्ने अन्तिम तयारी गरेका छन् । २५० रोपनी जग्गा किनेपछि आफू जन्मेको घरलाई संरक्षण गर्ने र जग्गामा पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार ११:४८