काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा, तत्कालिन सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । निवर्तमान सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग ७० करोड ‘कमिशन’ मागेको भन्दै अख्तियारमा उजुरी परेको हो ।
उनीहरुविरुद्ध बाँके नेपालगन्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले अख्तियारमा उजुरी दिएका हुन् । उजुरीमा भनिएको छ, ‘प्रधानमन्त्री जस्तो जिम्मेवार र उत्तरदायी पदमा रहेका व्यक्ति यस्तो भ्रष्टाचार भएको प्रमाण आफ्नो जानकारीमा आएपछि भ्रष्टाचार सम्बन्धी अनुसन्धान गर्ने र मुद्दा चलाउने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिनुपर्ने दायीत्व र कर्तव्य रहेकोमा सो प्रमाण लुकाएबाट निज प्रधानमन्त्री पनि सो भ्रष्टाचारको उद्योग कार्यमा संलग्न र मतियार रहेको स्वतः पुष्टी हुन्छ ।’
सेक्युरेटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग ७० करोड घुस मागेको अडियो बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिए पनि त्यतिकै उन्मुक्ति दिन नहुने आवाज सत्तारुढ नेकपादेखि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित सामाजिक सञ्जालमा समेत नागरिकले चर्को रुपमा उठाएका छन् । सामान्य कर्मचारीले घुस लिएको वा लिने उद्योग गरेमा तत्काल रंगेहात उक्राउ गरेर कारबाही चलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बास्कोटालाई अहिलेसम्म पक्राउ गरेको छैन ।
प्रधानमन्त्री केपी ओलीका प्रिय बास्कोटामाथि छानबिन हुनुपर्ने दबाब सरकारमाथि पनि परेको छ । सेक्युरेटी प्रेस खरिदमा स्वीजरल्याण्डका एजेन्ट विजयप्रकाश मिश्रसँग १६ महिनाअघि बास्कोटाले गरेको अडियो बुधबार राति बाहिरिएको थियो । उक्त अडियोमा मिश्रले स्वीजरल्याण्डसँग खरिद गरेको अवस्थामा ७० करोड कमिसान आउने र त्यसको ७० प्रतिशत दिने भन्दै बास्कोटालाई लोभ्याएका छन् । मिश्रको प्रस्तावपछि बास्कोटाले ७० करोडको ७० प्रतिशत कति हुन्छ भनेर प्रश्न गरेका छन् ।
सत्यपाटी ।