सूचनाको शक्ति - The Power Of Information

        

दक्षिण कोरियामा कोरोना भाइरस आतंक, नेपालीहरु कति सुरक्षित ?

दक्षिण कोरिया । दक्षिण कोरियामा पछिल्लो समय कोभिड–१९ (कोरोनाभाइरस) संक्रमितको सङ्ख्यामा वृद्धि भएको छ । कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले आइतबारसम्म पाँच जनाको कोरोना भाइरसको कारणबाट मृत्यु भएको र शनिबारको तुलनामा संक्रमितको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको जनाएको छ । हालसम्म दक्षिण कोरियामा ५६८ जनामा कोरोना भाइरसको जीवाणु भेटिएको बताइए पनि संक्रमण फैलने क्रम जारी रहेका कारण यो सङ्ख्यामा वृद्धि हुन सक्ने अनुमान गरिएको छ ।

दक्षिण कोरियामा नेपालसहित विभिन्न मुलुकका आप्रवासी छन् । उनीहरुमा यस्तो संक्रमण देखिएको छ या छैन भन्ने प्रष्ट हुन सकेको छैन । कोरोना भाइरसबाट संक्रमितमध्ये धेरैजसो दक्षिण कोरियाको चौथो ठूलो सहर ‘थेगु’ मा छन् । दक्षिण कोरिया सरकारले उक्त क्षेत्रलाई ‘स्पेशल केयर जोन’ घोषणा गरेको छ भने सो क्षेत्रमा बसोबास गर्ने २५ लाख नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ ।

प्रधानमन्त्री चुङ्ग साई क्युनले शनिबार राति राष्ट्रका नाममा सम्बोधन गदै अवस्था गम्भीर रहेको औँल्याएका छन् भने उपस्वास्थ्य मन्त्री किम गाङ् लिपले कोरोना भाइरसबाट संक्रमितको सङ्ख्यामा भएको वृद्धि नयाँ परिस्थितिमा पुगेको प्रतिक्रिया दिएका छन् । दक्षिण कोरिया सरकारले कोरोना भाइरससंक्रमित ब्यक्तिको मोबाइल डाटा, क्रेडिड कार्डको रेकर्ड, सिसिटिभी फुटेज, सार्वजनिक यातायातमा प्रयोग गरिएका कार्ड आदिको जानकारी संकलन गरेर स्वास्थ्य तथा वेलफेयर विभागको वेभसाइटमा राखेको छ ।

अवैधानिक रुपमा बसोबास गरिरहेका आप्रबासी नागरिकलाई कोरोना भाईरस लगायतको स्वास्थ्य परीक्षणका लागि कुनै अवरोध नगरिने र रोजगार प्रक्रिया प्रणालीको माध्यमबाट कोरियामा रहेका आप्रबासी कामदारको ४ वर्ष १० महिनाको भिषालाई विशेष परिस्थितिमा भन्दै न्याय मन्त्रालयको शुक्रबार बसेको संयुक्त बैठकले अझ ५० दिन थप्न सकिने जानकारी दिएको छ ।

कस्तो छ नेपालीको अवस्था  ?

लगभग ५० हजारको सङ्ख्यामा नेपाली रहेको दक्षिण कोरियामा विशेषतः रोजगार प्रक्रिया प्रणालीमार्फत आउनेहरु धेरै छन् । यससँगै विद्यार्थी, व्यवसायी लगायत विविध पेशामा आबद्ध नेपाली पनि उल्लेख्य छन् । यो समाचार तयार पार्दासम्म कुनै पनि नेपाली कोरोना भाइरसबाट संक्रमित भएको जानकारी आएको छैन ।

कोरोना संक्रमणको त्रास बढेसँगै सार्वजनिक बिदाको दिन गरिने भेटघाट कार्यक्रम पनि नेपाली समुदायले आयोजना गरेका छैनन् । दक्षिण कोरियास्थित नेपाली दूतावासले कोरोनाभाइरसको संक्रमणसम्बन्धी अत्यन्त जरुरी सूचना जारी गर्दै सुरक्षाका उपाय प्रभावकारी ढङ्गले अवलम्बन गरी कोरोना भाईरसबाट सुरक्षित रहन आग्रह गरेको छ ।

त्यस्तै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय दक्षिण कोरियाले दूतावासको प्रायोजनमा ‘कोरोनाभाइरसको अवस्था र हाम्रो होसियारी’बारे हप्तामा तीन दिन कोरियाका विभिन्न पेशामा आबद्ध व्यक्तित्वसँग फेब्रुअरी अन्तिमसम्म लाइभ कार्यक्रम गरिने जनाएको छ । गत डिसेम्बर महिनामा चीनको ऊहान सिटीबाट पत्ता लागेको कोरोनाभाइरसको संक्रमण हुँदा सामान्यतया ज्वरो आउने, रुघा लाग्ने, सुख्खा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, घाँटी, टाउको तथा जिउ दुख्ने लक्षण देखिने गर्दछन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतवार १५:५४