सूचनाको शक्ति - The Power Of Information

        

नयाँ शैक्षिक सत्र शुरु भयो, पुगेन पाठ्यपुस्तक

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा नयाँ शैक्षिकसत्र शुरु भएको एकहप्ता बितिसकेको छ । फागुन ४ देखि सुरु भएको शैक्षिक क्यालेण्डलाई अगाडि बढाउन न शिक्षक छन् , न पठन पाठन अगाडि बढेको छ । वार्षिक परीक्षा सकेर जाडो छल्न जिल्ला बाहिर गएका शिक्षक हालसम्म विद्यालयमा फर्किएका छैनन् । सबै विद्यालयले नयाँ शैक्षिकसत्रको भर्ना खोलिसकेका छन् ।

सर्केगाड गाउँपालिका वडा नं २ मा रहेको लालीगुँरास माध्यामिक विद्यालयले पठनपाठन शुरु गरेको छ । सबैजसो शिक्षक स्थानीय भएकाले नयाँ शैक्षिकसत्र शुरु भएसँगै पठनपाठन शुरु गरेको प्रधानध्यापक कालीबहादुर महताराले जानकारी दिए । चङ्खेरी गाउँपालिकामा रहेका अधिकांश विद्यालय हालसम्म सञ्चालनमा नआएको र शिक्षक समेत फिर्ता नआएको स्थानीय महेन्द्र बोहराले जानकारी दिए ।

उनले केही विद्यालयले नयाँ भर्ना पनि नखोलेको बताए । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाअन्तर्गतका मानसरोवर उच्च माध्यामिक विद्यालय, बालमन्दिर मावि, रलिङ मावि, कैलाश मावि, रामदेभ माविलगायतका विद्यालयले नयाँ तथा पुराना विद्यार्थी भर्ना कार्य जारी राखेका जनाएछन् । मानसरोवर उच्च माविका प्रधानध्यापक अमरबहादुर शाहीले नयाँ भर्ना शुरु गरिएको बताए ।

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख बिष्णुबहादुर शाहीले नयाँ भर्ना अभियान शुरु गर्नुपर्ने बेला गाउँपालिकाले ध्यान नदिएको बताए । हुम्लामा रहेका मावि, निमावि र प्रावि गरी १३९ विद्यालयमा दरबन्दी तथा राहत कोटाको शिक्षक गरी ५१३ शिक्षक रहेको र त्यसमध्ये अधिकांश शिक्षक जिल्ला बाहिरै रहेको उनले जानकारी दिए । हुम्ला जिल्लाका तीनै तहका विद्यालयमा १७ हजारभन्दा बढी विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

निजी क्षेत्रका विद्यालयले माघ १७ गतेबाट पढाइ शुरु गरेका थिए । त्यसो त जिल्लामा रहेका विद्यालयमा विद्यार्थी सङ्ख्याको आधारमा पाठ्यपुस्तक पुग्न सकेको छैन । छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्रीले र निजी क्षेत्रले पुरानै फ्लेस रिपोर्टलाई आधार मानी पुस्तक उपलब्ध गराउँदा जिल्लाको मागअनुसार पा्ययपुस्तक नपुगेको हो । पुस्तक सबै नेपालगन्जमा बुझेर ट्रकमा ढुवानी गरिरहेकी ज्ञानु भण्डारका प्रोपराइटर दुर्पता शाहीले बताइन् ।

चङ्खेली र सर्केगार्ड गाउँपालिकामा पुस्तक बिक्रीको जिम्मा पाएकी उनले दुवै गाउँपालिकाका ५६ विद्यालयका लागि चार हजार २०० सेट पुस्तक माग गरे पनि जनक शिक्षा र निजी छपाइ केन्द्रबाट दुई हजार ७२५ सेट पुस्तकमात्र पाएको बताइन् । जिल्लाका दक्षिणी क्षेत्रका अदानचुली र ताँजाकोट गाउँपालिकाका विद्यालय लागि पाठ्यपुस्तक ढुवानी तथा बिक्रीको जिम्मा लिएका लोकेन्द्र भण्डारीले गत वर्षभन्दा कम पुस्तक बुझेको र बुझेका पुस्तक कवाडी पुगेको बताए ।

उनले पनि मागअनुसार पुस्तक नपाएको गुनासो गरे । दुई गाउँपालिकाका लागि पुस्तक सुर्खेत, कालिकोट, जुम्ला र मुगु हँुदै हुम्ला पुग्ने गर्दछन् । सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकामा रहेका विद्यालयका लागि पाठ्यपुस्तक पु¥याउने ढुवानी जिम्मा लिएका रोकाया पुस्तक पसलका ज्ञानबहादुर रोकाया भने ८० प्रतिशत पाठ्यपुस्तक पुगेको जानकारी दिए । सो क्षेत्रका विद्यालयका लागि एक हजार १५० सेट पुस्तक अपुग भएका छन् ।

तीन गाउँपालिकामा रहेका विद्यालयका लागि पाठ्यपुस्तक ढुवानी तथा बिक्रीको जिम्मा पाएको ज्ञान पुस्तक पसलले कक्षा २ देखि कक्षा १० सम्मका लागि तीन हजार ८५० सेट पुस्तक माग गरेकामा दुई हजार ७०० सेट पुस्तक पुगेका छन् । बिक्री केन्द्रले जिम्मा पाएका पुस्तक सबै नेपालगन्जबाट हवाई ढुवानी गरेर सिमकोट पुगेको र हाल बिक्री भइरहेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतवार १०:४६